प्रदेश सभा सदस्य निर्वाचनमा धनकुटा क्षेत्र नम्बर १ मा एमाले, जसपा र सत्तागठबन्धनबीच त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ । एमालेबाट निरन राई, जनता समाजवादी पार्टीबाट पूर्वमन्त्री रकम चेम्जोङ र सत्तागठबन्धनको तर्फबाट एकीकृत समाजवादीका अर्जुनकुमार राईले उम्मेदवारी दिएका छन् । तीनै उम्मेदवार गाउँ–गाउँमा गएर मतदातासँग भेटघाट तथा घरदैलो कार्यक्रम गरिरहेका छन् ।
सबैले जित्ने दाबी
एमालेको संगठन बलियो रहेको र अघिल्लो पाँच वर्ष आफूले इमानदारीका साथ जनताको पक्षमा काम गरेकाले विगतमा थालनी गरेका विकास निर्माणका कामलाई पूर्णता दिन आफूले मत पाउने राईको दाबी छ । दोस्रोपटक चुनावी मैदानमा रहेका राईले अघिल्लो प्रदेश सभा निर्वाचनमा कांग्रेसका उम्मेदवार मनोहरनारायण श्रेष्ठलाई ६ हजार ६ सय ४६ मतान्तरले पराजित गरेका थिए । राईले २० हजार ८८ मत पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी श्रेष्ठले १३ हजार चार सय ४२ मत प्राप्त गरेका थिए ।
जसपाका उम्मेदवार रकम चेम्जोङले आफ्नो जित सुनिश्चित भएको दाबी गरे । ‘पहिले शान्तिमन्त्री हुँदा मैले धनकुटाको निम्ति धेरै काम गरेको छु । त्यो धनकुटेली जनतालाई थाहा छ । त्यसैले जनताले मलाई मत दिनेमा कुनै पनि शंका छैन,’ चेम्जोङले भने । एकीकृत समाजवादीका उम्मेदवार अर्जुन राईले पनि आफूलाई सत्तागठबन्धनले अघि सारेको भन्दै जित सुनिश्चित रहेको जिकिर गरे ।
पूर्वमन्त्री र पिए भिड्दै
प्रदेश सभा सदस्य निर्वाचनमा धनकुटा क्षेत्र नम्बर १ बाट पूर्वमन्त्री रकम चेम्जोङ तथा उनका तत्कालीन स्वकीय सचिव अर्जुनकुमार राई आमने–सामने भिड्दै छन् । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का केन्द्रीय कार्यकारिणी सदस्यसमेत रहेका चेम्जोङ ०६६ मा शान्ति तथा पुनर्निर्माणमन्त्री हुँदा उनका प्रमुख स्वकीय सचिव अर्जुनकुमार राई थिए । रकम चेम्जोङ नेकपा एमालेका केन्द्रीय सदस्य र उनका प्रमुख स्वकीय सचिव अर्जुनकुमार राई नेकपा एमालेनिकट धनकुटा–काठमाडौं जनसम्पर्क मञ्चका अध्यक्ष थिए ।
चेम्जोङ जसपाबाट उम्मेदवार बनेका छन् भने राई सत्तागठबन्धनको तर्फबाट उम्मेदवार बनेका छन् । सोही निर्वाचन क्षेत्रमा नेकपा एमालेको तर्फबाट निरन राई उम्मेदवार छन् । तत्कालीन माधव नेपाल प्रधानमन्त्री हुँदा बनेको मन्त्रिपरिषदमा चेम्जाङ शान्ति तथा पुनर्निर्माणमन्त्री थिए । चेम्जोङ सत्तारूढ गठबन्धनको चुनावी तालमेलको मोडालिटी बनाउन निर्माण गरिएको कार्यदलका सदस्य थिए । कार्यदलमा रहँदा धनकुटामा गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा उठ्ने उनले दाबी गर्दै आइरहेका थिए । तर, पछि जसपा गठबन्धनबाट बाहिरिएसँगै उनी प्रदेश सभा क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका छन् । देशका अन्य क्षेत्रमा जसपाले एमालेसँग चुनावी तालमेल गरे पनि धनकुटामा भने एमाले र जसपाले प्रदेश सभाका दुवै क्षेत्रमा बेग्लाबेग्लै उम्मेदवारी दिएका छन् ।
धनकुटा बहुमुखी क्याम्पसका उपप्राध्यापक एवं बुद्धिजीवी किरण घिमिरेले प्रदेश सभा क्षेत्र नम्बर १ मा स्थानीय तहको निर्वाचनका आधारमा एमाले अगाडि रहेको बताए ।