सुनसरी २ मा भीम आचार्यलाई सीताराम मेहताको चुनौती

बुधबार, ३० कार्तिक, २०७९
डिजिटल संस्करण

प्रतिनिधिसभा सदस्यका लागि सुनसरी क्षेत्र नम्बर २ मा जसपासँगको तालमेलसहित एमालेका भीम आचार्य र सत्तागठबन्धनबाट कांग्रेसका सीताराम मेहता दुई ठूला उम्मेदवार हुन् । यी दुईबीच नै मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । 

पूर्वपर्यटनमन्त्री तथा प्रदेश १ का मुख्यमन्त्रीसमेत भइसकेका भीम आचार्य  र यातायातमन्त्री भएका सीताराम मेहताले चुनावी प्रचार तीव्र बनाएका छन् । 

०५१ यता एमालेबाट सुनसरीमा लगातार संसदीय निर्वाचन लडिरहेका भीम आचार्यले यसपटक क्षेत्र नम्बर २ रोजेका छन् । आचार्यका लागि यसपटकको नयाँ के पनि छ भने उनले आफ्नै क्षेत्रमा आफैँलाई मतदान गर्न पाउनेछन् । उनले ०५१, ०५६, ०६४, ०७०, ०७४ साल गरी पाँचवटा निर्वाचनमध्ये पछिल्लोे तीनवटा निर्वाचन सहज रूपमा जित हात पारेका थिए । पाँचवटै निर्वाचनमा आफैँलाई भने भोट हाल्न पाएका थिएनन् ।  संयोगवश यसपटक भने आफैँलाई भोट हाल्न पाउनेछन् । 

आचार्य सुनसरीको इनरुवा– ६ (साबिक मधेसा गाविस– ९) का स्थायी बासिन्दा हुन् । ०५१ र ०५६ सालमा सुनसरी ४ बाट उठेका उनी दुवैपटक हारे । ०६४ र ०७० सालमा सुनसरी ६ बाट चुनाव जिते । ०७४ सालको निर्वाचनमा प्रदेश सभामा सुनसरी– १ बाट चुनाव जिते । 

एमाले स्थायी कमिटी सदस्यसमेत रहेका नेता आचार्य संविधानसभा निर्वाचनमा विजयी भएपछि एमालेको प्रमुख सचेतक बने । दोस्रो संविधानसभामा पुगेपछि सुशील कोइराला नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत भए । 

०७४ को चुनावमा पार्टीबाट सुनसरी– १ (ख)बाट विजय भई मुख्यमन्त्रीका लागि दाबी गरे । उनी २० हजार दुई सय ११ मतका साथ विजयी पनि भए । प्रदेश सभामा संसदीय दलको नेतामा दुई भोट चयनमा आचार्यलाई दुई मतले हारेपछि शेरधन राई प्रदेश– १ को पहिलो मुख्यमन्त्री बनेका थिए । 

एमालेमा माधव नेपाल पक्षले पार्टी छाडेपछि कार्यकर्ता रोक्न पार्टीले उनलाई मुख्यमन्त्री बनायो । उनी मुख्यमन्त्री हुँदा प्रदेश १ का धेरै नेता–कार्यकर्तालाई माधव नेपालसँग जान रोके । एमालेमा माधवकुमार नेपालनिकट भएर काम गरेका आचार्य ०७८ भदौमा पार्टी विभाजन हुँदा एमालेमै बसेका हुन् । 

गत स्थानीय तह निर्वाचनमा सुनसरी– २ मा वडाध्यक्षहरूले दलगत रूपमा पाएको मतमा एमाले अगाडि छ । उक्त चुनावमा एमालेले ५० हजार पाँच सय २९, कांग्रेसले ४९ हजार चार सय ७८, माओवादीले चार हजार चार सय एक र एकीकृत समाजवादीले दुई हजार पाँच सय ६३ मत पाएका थिए । 

त्यस्तै, जसपाले आठ हजार दुई सय १२, राप्रपाले पाँच हजार सात सय पाँच र स्वतन्त्रले चार हजार पाँच सय ३९ मत पाएका थिए । २ नं. क्षेत्रबाट चुनाव लड्ने यसअघि नै मनस्थिति बनाएका आचार्यले अगाडिदेखि तयारी गरेका कारण उनलाई चुनाव जित्न सहज हुने उनीनिकट एक नेताले बताए । 

आचार्यले सुनसरीमा विकास निर्माणको काममा बजेट राम्रै हालेका कारण स्थानीय उनलाई मतदान गर्न उत्साही छन् । उनले यसपटक प्रचार कार्यक्रमलाई पनि परिवर्तन गरी क्षेत्रका सबै बासिन्दालाई भेटेका छन् । उनी भन्छन्, ‘म सात हजार मतले विजयी हुन्छु । जनताको काम गरेको छु । जनताले चुनाव जितेर मन्त्री हुन सक्ने व्यक्तिलाई रुचाएका छन् । त्यो हैसियत ममा छ ।’ 

उनीसँग कांंग्रेसका नेता सीताराम मेहता चुनावी मैदानमा छन् । ०४९ सालको स्थानीय निर्वाचन हुँदै संसदीय राजनीतिमा आएका सीताराम मेहता पटक–पटक सो क्षेत्रबाट चुनाव जिते पनि त्यस क्षेत्रका जनताका लागि खासै राम्रो काम नगरेको आरोप छ । विगतमा उनले ‘जनताका नेता, सीताराम मेहता’ भन्ने उपमा पाएका थिए, तर  त्यो सम्मान बचाएर राख्न नसकेको स्थानीय बताउँछन् ।  

उनी ०७० को दोस्रो संविधानसभा निर्वाचनमा सुनसरी ४ र ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सुनसरी २ बाट विजयी भए । ०७३ सालमा यातायात राज्यमन्त्री पनि भएका थिए । २ नम्बर क्षेत्र इटहरी क्षेत्र पर्छ । चुनाव जितेपछि इटहरी क्षेत्रमा फर्केर नगएको उनीमाथि आरोप छ । 

मेहताले संसदीय निर्वाचनमा जानुअघि कृषि क्रान्ति नारा गाउँमा उठाएका थिए । तर, संसद् भवनभित्र छिरेपछि जनताको एजेन्डा बिर्सिएको उनलाई आरोप छ । अघिल्लो निर्वाचनमा चुनावी नारा बनेको कौवाखोंच–रामधुनी सडकको स्तरोन्नति नगरेका कारण उनलाई चुनाव पासो बनेको छ । यसपटक निर्वाचित भएपछि अधुरो रहेका काम पूरा गर्ने मेहताले प्रतिबद्धता जनाएका छन् । 

०५६ सालमा पार्टी विभाजन हुँदा शेरबहादुर देउवा नेतृत्वको कांग्रेस (प्रजातान्त्रिक)मा लागेका मेहता सुनसरी सभापति र पार्टी एकतापछि जिल्ला सहसभापति भएर काम गरेका थिए । 

०४९ सालको स्थानीय निकाय निर्वाचनमा उनी इनरुवाबाट उपमेयर निर्वाचित पनि भएका थिए । ०५४ सालमा भने उनी मेयरमा पराजित भएका थिए ।  

मेहताले ०७४ को चुनावमा वाम गठबन्धनका उम्मेदवार डम्मरु सुवेदी (हिमाल) लाई ६ हजार एक सय ४६ मतले पराजित गरेका थिए । त्यस वेला मेहताले ४१ हजार चार सय ९५ र सुवेदीले ३५ हजार तीन सय ४९ भोट पाएका थिए । 
एमाले र माओवादीको गठबन्धनबाट सुवेदी उठेका थिए । गठबन्धनका उम्मेदवारलाई हराउने मेहता यसपटकको निर्वाचनमा एमालेका प्रभावशाली नेता भीम आचार्यसँग प्रतिस्पर्धा गर्दै छन् । 

सुझावित समाचार