‘जसले दिन्छ नागरिकता, उसैलाई भोट’

बुधबार, ३० कार्तिक, २०७९
डिजिटल संस्करण

मोरङको  जहदा गाउँपालिकामा करिब ६ सय घरपरिवार सन्थाल समुदायको बसोवास छ । यहाँ  दुई हजारभन्दा बढी युवा छन् । निम्नमाध्यमिक र माध्यमिक तहसम्म पढेका उनीहरू वैदेशिक रोजगारमा जान चाहान्छन् । तर, नागरिकता नहुँदा उनीहरू वैदेशिक रोजगारबाट वञ्चित भइरहेका छन् । त्यसैले यसपालि उनीहरूले सामूहिक निर्णय नै गरेका छन्, ‘नागरिकता दिलाउने पार्टी र उम्मेदवारलाई मात्र भोट दिने । ’

स्थानीय सन्थाल युवा भगवान बेसराका  अनुसार नागरिकता नभएकै कारण  जहदा गाउँपालिकाभरिमा अल्पसंख्यक समुदायमा पर्ने सन्थाल समुदायका हालसम्म  मुस्किलले ५० जनाभन्दा बढी युवा  वैदेशिक रोजगारमा जान सकेका छैनन् । यसैले उनीहरू कोही सडक त कोही कृषि मजदुर बन्न बाध्य छन् । मजदुरी गर्दागर्दै सिकेका कोही सिकर्मी र कोही डकर्मीको काम पनि गर्छन् । जहदा– ७ का वडाध्यक्षसमेत भइसकेका अगुवा युवा भगवान भन्छन्, ‘हाम्रो जहदाका सन्थाल युवाले  चाहना राखेर पनि नागरिकता अभावमा वैदेशिक रोजगारीमा जान पाइरहेका छैनन् ।’ 

जहदा गापाका विभिन्न वडामा  बसोवास गर्ने सन्थाल परिवारहरू प्रायः सबै सुकुमबासी छन् । यसैले उनीहरूमा वैदेशिक रोजगारमा जाने पुँजी जुटाउने सामर्थ्य पनि छैन। अर्कोतिर केही जमिन भएका युवाहरूसँग पुँजी भए पनि नागरिकता छैन । नागरिकता अभावमा पासपोर्ट बनाउन नसक्दा आफूहरू वैदेशिक रोजगारीमा जानबाट वञ्चित भएको ७ नम्बर वडामा बसोवास गर्ने युवा विष्णु सोरेनले बताए ।

कक्षा १० पास गरेका विष्णु सडक मजदुरी गर्छन् । उनका अनुसार पढेर पनि सीपविहीन भएका  र वैदेशिक रोजगारीमा जान नपाएका गाउँभरिका सन्थाल युवाहरू केही गाउँ, केही विराटनगरलगायत नेपालका विभिन्न सहरमा र कोहीचाहिँ भारतका विभिन्न स्थानमा मजदुरी गर्न बाध्य छन् ।   

सुझावित समाचार