प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार गृहजिल्ला डडेल्धुरा र बैतडीका आमसभालाई सम्बोधन गर्ने भएका छन् । डडेल्धुराका तीन र बैतडीका एक चुनावी सभालाई देउवाले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ ।
आज बिहान धनगढीबाट प्रधानमन्त्री देउवा डडेल्धुरा पुग्ने र ११ बजे अजयमेरू गाउँपालिकाको देवलमा आयोजित कांग्रेससहित गठबन्धनको चुनावी कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको नेपाली कांग्रेसले जनाएको छ ।
कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौतका अनुसार देउवा बुधबार बिहान गृहजिल्ला आइपुग्ने र साढे ११ बजे भागेश्वर गाउँपालिकाको बोगटामा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस डडेल्धुराले जनाएको छ । यस्तै अजयमेरू गाउँपालिकाको देवल, बैतडीको शिवनाथ गाउँपालिका र डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको सकायलमा आजै हुने चुनावी सभालाई पनि प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने कार्यक्रम छ ।
भोलि अछाम जिल्लामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको कांग्रेसले जनाएको छ । यसअघि १७ कात्तिकमा गृहजिल्ला पुगेका देउवा चार दिन बसेका थिए । सोही क्रममा उनले सात पालिकाका सातवटा चुनावी सभालाई सम्बोधन गरेका थिए । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देउवासहित डडेल्धुरामा आठजना उम्मेदवार छन् । देउवा ०४८ यताका हरेक निर्वाचनमा विजयी हुँदै आएका छन् ।