एकपटक एक छोरीले पितासित आफ्नो जीवनमा दुःखैदुःख भएको गुनासो गरिन् । उनले भनिन्– हेर्नुस् न बाबा, एउटा दुःख जान्छ, अर्को आउँछ । म त यो दुःखसित लड्दालड्दा थाकिसकेँ । अब म के गरूँ, हजुर नै भन्नुहोस् त ?
उनका पिता भान्छेको काम गर्थे । उनले छोरीलाई आफू काम गर्ने स्थानको भान्छाघरमा लगे । उनले त्यहाँ तीनवटा चुलोमा फरक–फरक डेक्चीमा पानी बसाले । पानी तात्दै गएपछि उनले पहिलोमा केही अन्डा, दोस्रोमा केही आलु र तेस्रोमा कफीका केही दाना हाले ।
छोरीचाहिँ विनाकुनै प्रतिक्रिया ध्यानपूर्वक यो सब हेरिरहेकी थिइन् । १०–१५ मिनेटपछि पिताले आगो निभाए । उनले एउटा प्लेटमा अन्डा र अर्कोमा आलु राखे र कफीको दाना राखेको पानीचाहिँ एउटा कपमा राखे । अनि, छोरीलाई भने– ल हेर, अन्डा, आलु र कफी ! छोरीले हेर्दा पानीमा उसिनिएका कारण आलु नरम भएको थियो भने अन्डा भित्रैदेखि कडा भएको थियो । कफीका दाना पानीमा घुलेका थिए । त्यहाँबाट फरक रंग र मिठो बास्ना आइरहेको थियो ।
पिताले प्रश्न गरे– यसबाट तिमीले के बुझ्यौ छोरी ? छोरीले जवाफ दिइन्– अहँ, मैले त यसबाट केही पनि बुझिनँ । तब पिताले नै उनलाई बुझाउँदै भने– हेर छोरी, यी तीनै प्रकारका वस्तुले समान कठिनाइ झेलेका थिए ।
भाँडा उस्तै थिए । पानी र आगोको राप पनि लगभग बराबर नै थियो । तैपनि, आआफ्नो स्वभावअनुसार आलु नरम भयो भने अन्डा भित्रैदेखि कडा भयो । कफीले सुवास दियो । तिम्रो जीवनमा पनि यस्ता प्रतिकूल परिस्थिति त आउँदै र जाँदै गर्छन् नै । तिमी आफैँले नै निर्णय गर्नुपर्छ कि तिमी आलु, अन्डा र कफीका दाना के बन्ने हो ? छोरीले भनिन्, धन्यवाद बाबा ! आज हजुरले मलाई अमूल्य शिक्षा दिनुभयो ।