१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १३:४७:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

उदयपुर सिमेन्ट उद्योग चलाउन माग गर्ने कर्मचारीलाई महाप्रबन्धक न्यौपानेको हप्कीदप्की

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १३:४७:oo

चरम व्यवस्थापकीय लापरबाहीले दसैँअघिदेखि बन्द रहेको सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग चाँडै सञ्चालनमा ल्याउन माग गर्ने कर्मचारीलाई महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले हप्कीदप्की गरेका छन्।

शनिबार दिउँसो उद्योगको सभाहलमा महाप्रबन्धक न्यौपाने र विभागीय प्रमुखहरूसँग कर्मचारी ट्रेड युनियनका प्रतिनिधिसहितको बैठक थियो। उद्योग रहेको उदयपुरको जलजलेमा खासै उपस्थिति नदेखाउने महाप्रबन्धक न्यौपाने ट्रेड युनियनको चर्को दबाबपछि शुक्रबार साँझ उदयपुर पुगेका थिए। त्यसपछि शनिबार दिउँसो करिब १२ बजे सुरु भएको छलफलमा कर्मचारी ट्रेड युनियनहरूले १४ असोजमा दसैँ बिदा भनेर बन्द गरिएको उद्योग बिदा सकिएपछि दुई–तीन दिन मात्र चलेर निरन्तर बन्द अवस्थामा रहनु दुःखद भएको भन्दै चाँडो सञ्चालनमा ल्याउन आग्रह गरेका थिए।

त्यसपछि महाप्रबन्धक न्यौपानेले कोइलाको अभाव रहेकाले पाँच सय टनभन्दा बढी कोइला जम्मा गरी चुनावपछि उद्योग चलाउने आश्वासन दिएका थिए। कर्मचारी ट्रेड युनियनले गत आर्थिक वर्ष ०७८–७९ को आय–व्यव सार्वजनिक गर्न, सिमेन्ट बिक्रीको हिसाब अपचलन भएकाले यथार्थ विवरण दिन, कवाडी सामान बिक्रीबापतको हिसाब पारदर्शी बनाउन माग राखेका थिए।

आर्थिक कारोबारको सोधीखोजी भएपछि न्यौपानेले अभद्र व्यवहार गरेका उद्योगमा क्रियाशील अखिल नेपाल औद्योगिक मजदुर संगठनका अध्यक्ष विश्वेश्वर पालले जानकारी दिए। उनका अनुसार महाप्रबन्धक न्यौपानले गत आवको विवरण दुई महिनापछि रिपोर्ट छापेरै दिने बताउँदै अन्य हिसाबबारे भने चासो दिन खोजेनन्। त्यसपछि उद्योगमा कार्यरत कर्मचारी महावीर चौधरीले दसैँपछि, तिहारपछि भन्दै बन्द राखिएको उद्योग चुनावपछि खुल्ने आधार के हो ? भनी प्रश्न गर्दा महाप्रबन्धक न्यौपाने रिसाएका थिए। चौधरीले सिमेन्ट बिक्री गरेको परिमाण र रकम नै अपचलन भएको विषय राख्दै गर्दा महाप्रबन्धक न्यौपानेले रिसाउँदै टेबुल ठोकेर गाली गरेका स्रोतको भनाइ छ।

‘बन्द उद्योग खुल्नुपर्छ र आर्थिक अनियमितता हुनु हुँदैन भन्ने माग राख्दा महाप्रबन्धक रिसाउनुभयो। रिसाउँदै उहाँले टेबुल ठोक्दा टेबुलमाथि राखिएको सिसा नै फुट्यो,’ स्रोतले भन्यो, ‘त्यसपछि कर्मचारी साथीहरूले पनि कुर्सी फोड्ने काम गरे। केही बेर वातावरण अशान्त भयो।’ महाप्रबन्धक न्यौपानेले उद्योग बन्द भएको विषय बाहिर सार्वजनिक गरेको भन्दै कर्मचारीलाई हप्कीदप्कीसमेत गरेका थिए। उनले आर्थिक विषयसँग जोडिएका कुनै पनि बिल नदिनेसमेत अडान लिएका थिए।

‘अहिले उद्योगको खातामा कति पैसा जम्मा छ भनेर सोध्दा पनि महाप्रबन्धकज्यू रिसाउँदै तिमीहरूलाई किन चाहियो ? यस्ता हिसाब देखाउँदिनँ भन्दै हप्काउनुभयो,’ एक कर्मचारीले भने, ‘हामीले तलब, सुविधा पाउनै मुस्किल भइसकेको छ। अवकाश पाएका करिब २० कर्मचारीले निवृत्तिभरण पाउन सकेका छैनन्।’

महाप्रबन्धक न्यौपानेले पनि छलफलमा विवाद भएको स्विकारे। ‘कर्मचारी साथीहरूसँग छलफल गर्दा अलिअलि तातोपिरो भइहाल्छ, यसलाई स्वाभाविक रूपमा लिनुपर्छ,’ उनले भने, ‘उद्योग चलाउन केही आर्थिक समस्या छ। यद्यपि, चुनावपछि चलाउने गरी तयारी भइरहेको छ।’

वैशाखयता उद्योग ७० दिनभन्दा बढी बन्द भइसकेको छ। कोइला खरिदको २० करोड रुपैयाँभन्दा बढी बक्यौता भुक्तानी नगर्दा अहिले आपूर्तिकर्ताले कोइला दिन मानेका छैनन्। सिमेन्ट उद्योगमा कोइला बालेर क्लिंकर उत्पादन हुने गरेको छ।

ad
ad