मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २८ सोमबार
  • Monday, 16 December, 2024
२o७९ कार्तिक २८ सोमबार ११:१o:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

उदयपुर सिमेन्ट उद्योग निर्वाचनपछि सञ्चालन हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक २८ सोमबार ११:१o:oo

पूर्ण रूपमा सरकारी स्वामित्व रहेको उदयपुर सिमेन्ट उद्योग लिमिटेड निर्वाचनपछि सञ्चालन हुने भएको छ । आइतबार उद्योग प्रशासन र उद्योगमा कार्यरत मजदुर युनियनबीच उद्योगलाई निर्वाचनपछि सञ्चालन गर्ने सहमति भएको हो । यसभन्दा अघि कोइलाको अभाव र मर्मतका लागि लामो समय उद्योग बन्द गरिएको थियो । उद्योगलाई कोइलाको अभावमा पटक–पटक बन्द गरिएपछि मजदुर युनियनहरूले महाप्रबन्धकलाई तत्काल उद्योग सञ्चालन गर्न माग गर्दै आएका थिए ।

कोइलाको अभावका कारण बन्द भएको उद्योगमा हाल कोइला आउने क्रम जारी रहेकाले खोल्ने तयारी भएको हो । उद्योग प्रशासन र मजदुरबीच भएको सहमतिपत्रमा ‘सिमेन्ट प्लान्ट र बिक्री सुचारु भए तापनि क्लिंकर उत्पादन गर्न कच्चा पदार्थ अभाव भई बन्द भएको, तर हालसम्म पाँच सय ५० मेट्रिकटन कोइला आइसकेको र निर्वाचनपछिसम्ममा पाँच सय मेट्रिकटन थप गरी तत्काल सञ्चालन गर्ने सहमति भई कार्यान्वयनमा लैजाने’ उल्लेख गरिएको छ । 

यसका साथै निर्वाचनअघि मर्मत कार्य सम्पन्न गरिसक्ने र पूर्ण क्षमतामा सञ्चालन गर्ने तथा पुँजी लगानी गरिदिन नेपाल सरकारलाई अनुरोध गर्ने उल्लेख छ । सहमतिपत्रमा उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपाने, नायब महाप्रबन्धकहरू उमाशंकर आनन्द, महेशप्रसाद साह, प्रशासन प्रमुख प्रथमलाल चौधरी र मजदुरहरूको तर्फबाट नेपाल कारखाना श्रमिक संघका अध्यक्ष देवेन्द्र झा, नेपाल औद्योगिक मजदुर संगठनका अध्यक्ष महावीर चौधरी, अखिल नेपाल औद्योगिक मजदुर संघका अध्यक्ष विशेश्वर पाल र समग्र टे«ड युनियनका उपाध्यक्ष पूर्णप्रसाद गुरागाईंले हस्ताक्षर गरेका हुन् ।  

उद्योगका सहायक महाप्रबन्धक उमाशंकर आनन्दका अनुसार चालू आवको साउनमा १२ दिन, भदौमा आठ दिन, असोजमा १५ दिन, कात्तिकमा हालसम्म उद्योग कोइला अभाव र मर्मतका लागि बन्द भएको छ । उनले भने, ‘उद्योग बन्द हुनु मुख्य कारण कोइला अभाव र मर्मत हो । उद्योगले साउनमा ६ हजार एक सय ४५, भदौमा आठ हजार नौ सय ७६, असोजमा ६ हजार पाँच सय १४, कात्तिकमा दुई हजार ५१ मेट्रिकटन क्लिंकर उत्पादन गरेको थियो । दैनिक आठ सय मेट्रिकटन क्लिंकर उत्पादन गर्ने क्षमता भएको उद्योग मर्मतको अभावले पूर्ण क्षमतामा चल्न नसकेको सहायक महाप्रबन्धक आनन्दले बताए ।

चालू आवको साउनमा ९८ हजार आठ सय १० बोरा, भदौमा ८९ हजार ६ सय ४१, असोजमा ७६ हजार पाँच सय १३, कात्तिक २५ गतेसम्म ५७ हजार दुई सय २३ बोरा सिमेन्ट बिक्री गरेको बिक्री शाखाका प्रमुख रामबहादुर जिसीले बताए । उनले भने, ‘हामीले अहिले पहिला उत्पादन भएको ५० किलोग्रामको बोरा सात सय ६० पैसामा बिक्री गरिरहेका छौँ ।

महाप्रबन्धक न्यौपानेले दसैँ–तिहार बिदा, मर्मत र कोइलाको अभावका कारण क्लिंकर उत्पादन बन्द भएको बताए । उद्योगको क्षमता बढाउनका लागि ५६ करोड ७२ लाख रुपैयाँ सरकारसँग ऋण सहयोग माग गरेको उनले जानकारी दिए । उनले भने, ‘सरकारले आवश्यक सहयोग गरे हामी उद्योग चलाएर चार वर्षभित्रमा सरकारलाई फिर्ता दिन्छौँ ।’