१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १४:२६:oo
Read Time : > 3 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

०७४ मा सहकर्मी, ०७९ मा प्रतिस्पर्धी

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १४:२६:oo

बाँके १ मा युवा तथा खेलकुदमन्त्रीसमेत रहेका माओवादी उम्मेदवार महेश्वरजंग गहतराज (अथक) आफ्नो विरासत जोगाउन कांग्रेसको भर देखिएको छ। 

वाम-लोकतान्त्रिक गठबन्धनको साथ रहेका गहतराजलाई एमालेका केन्द्रीय सदस्य एवं बाँके इन्चार्ज एमाले–राप्रपा गठबन्धनका सूर्य ढकालले कडा टक्कर दिँदै छन्। अघिल्लोपटक एमालेको सहयोगमा विजयी भएका गहतराजलाई ढकाल चुनौती बनेका छन्। 

बाँके १ मा यसअघिका निर्वाचन माओवादीले जित्दै आएको थियो। ०६४ को पहिलो संविधानसभा निर्वाचनमा यो क्षेत्रबाट माओवादीका तिलक परियार १६ हजार ८७ मत ल्याएर विजयी भएका थिए। 

०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमालेको साथ पाएर गहतराज प्रतिनिधिसभा सदस्यमा विजयी भए। उनले ३१ हजार एक सय ७३ मत ल्याएका थिए भने निकटतम प्रतिद्वन्द्वी कांग्रेस–राप्रपा गठबन्धनका माधवराम खत्रीले २८ हजार दुई सय १७ र तत्कालीन संघीय समाजवादी फोरमले चार हजार पाँच सय ८८ मत पाएका थिए । 

एमाले–राप्रपा र सत्तागठबन्धन दलसँगै नागरिक उन्मुक्ति पार्टी र जसपाका उम्मेदवार चुनावी मैदानमा छन्। यो क्षेत्रमा थारू समुदायको बलियो उपस्थिति भएकोले यो समुदायको मत निर्णायक मानिन्छ। 

यसपटकको प्रतिनिधिसभा निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट सुरेशकुमार चौधरी उम्मेदवार छन्। विभिन्न संघसंस्थामा काम गरिसकेका उनी कांग्रेस परित्याग गरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन्। अहिले चौधरी नागरिक उन्मुक्ति पार्टीका जिल्ला अध्यक्षसमेत हुन्।

प्रमुख दलले थारू मुद्दा सम्बोधन नगरेकाे गुनासो बढेकाले पनि नतिजालाई सहज आकलन गर्न कठिन छ। यो समुदायका मतदाताहरू यसपालिको निर्वाचनमा आफ्नै समुदायका उम्मेदवारलाई दिने मनस्थितिमा देखिन्छन्। 

गत स्थानीय तह निर्वाचनको मत परिणामले पनि त्यही देखाएको छ। यसपालिको प्रतिनिधिसभा निर्वाचनमा थारू समुदायको मत थारू उम्मेदवारलाई जाने भएपछि यसको असर एमालेलाई भन्दा सत्तागठबन्धन दलका उम्मेदवारलाई बढी पर्ने आकलन गरिएको छ। 

यो क्षेत्रमा बसोबास गर्ने थारूहरू एमालेमा भन्दा बढी कांग्रेस र माओवादीमा आबद्ध छन्। कांग्रेस र माओवादी केन्द्रमा आस्था राख्ने थारू समुदायको साथ पाए गहतराजलाई जित निकाल्न सहज हुने देखिन्छ। 

यो क्षेत्रमा कांग्रेसको उम्मेदवार नभएकोले सो पार्टीको मत बाँडिने सम्भावना छ। खेलकुदमन्त्री रहेका गहतराजले प्रतिनिधिसभा सदस्यमा पुनः दोहोर्याउन खोजेपछि कांग्रेस र उनकै पार्टीका केही नेता, कार्यकर्ता पनि असन्तुष्ट छन्। 

सांसद र मन्त्री भएको समयमा विकासका योजना नल्याएको, कार्यकर्ताको माग सम्बोधन नगरेकोसमेत गुनासो छ। गहतराजले जित हात पार्न थारू समुदायलाई सुनिश्चित गराउनुपर्ने, पार्टीभित्रकै असन्तुष्टि हटाएर कांग्रेसको मत तान्नुपर्ने देखिन्छ।

अघिल्लोपटक प्रदेश सभा सदस्यसमेत रहेकी माओवादीकी नेतृ कृष्णा केसी (नमुना) अहिले उनी प्रतिनिधिसभा उम्मेदवार बन्न चाहन्थिन्। उनले यसका लागि केन्द्रसम्म पहल गरिन्। तर, पार्टीले फेरि गहतराजलाई नै टिकट दियो र कृष्णालाई प्रदेश सभामा दोहोर्याएको छ। यसको असर गहतराजलाई पर्ने अनुमान गरिएको छ। 

यो क्षेत्रमा एमालेसमेत बलियो छ। उसलाई राप्रपाले साथ दिएको छ। उम्मेदवारीको विषयमा एमालेभित्र असन्तुष्टि नभएकोले एक ढिक्का भएर चुनावी मैदानमा होमिएकोले गठबन्धनका उम्मेदवारलाई चुनौती थपिएको छ। 

नरैनापुरमा एमाले कमजोर रहेको र त्यहाँका मतदाताले साथ दिए एमालेका उम्मेदवार ढकाललाई जित निकाल्न सहज हुने विश्लेषण छ। उनलाई थारू र मधेसी, मुस्लिम मतदाताले साथ दिने विश्वास छ। तर, यहाँ कांग्रेस–माओवादी–एकीकृत समाजवादीको गठबन्धन र एमाले–राप्रपा गठबन्धनबीच झन्डै १५ हजार मत अन्तर रहेकाले एमालेलाई जित निकाल्न धेरै मिहिनेत गर्नुपर्ने देखिन्छ । 

यस्तो छ, स्थानीय तह निर्वाचनको अंकगणित
वडाध्यक्षले पाएको मतको आधारमा गत स्थानीय तह निर्वाचनमा माओवादी तेस्रो भएको देखिन्छ । तर, गठबन्धनका आबद्ध पार्टीको समग्र मत पाएमा गहतराजलाई सहज देखिन्छ । नरैनापुर, राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिका समेटिएको सो निर्वाचनमा कांग्रेस पहिलो र एमाले दोस्रो भएका छन् ।

कांग्रेसले २८ हजार ६१९, एमालेले २५ हजार ३१०, माओवादीले १७ हजार २३८, राप्रपाले चार हजार ५९५ र जसपाले तीन हजार ४५५ मत पाएका थिए । यसरी समग्रमा एमालेलाई साथ दिएका दलको कुल मतभन्दा सत्ता गठबन्धनका दलको मत बढी देखिन्छ । 

यस्ता छन् उम्मेदवारका एजेन्डा
राप्तीको डुबान समाधान गर्ने ढकालको मुख्य एजेन्डा

एमाले–राप्रपा गठबन्धनका उम्मेदवार ढकालले आफ्नो जित सुनिश्चित भएको दाबी गरे । सत्तागठबन्धन दलमा चरम असन्तुष्टि रहको र बाँके १ का जनता विपक्षी दलका उम्मेदवारको काम गर्ने शैली देखिसकेकोले आफूले जित्ने उनले दाबी गरे । 

यस क्षेत्रका जनताको मनोभावना बुझेर आफूले विकास र समृद्धिका एजेन्डा ल्याएको बताउँदै उनले राप्ती नदी समस्या समाधान गर्ने प्रतिबद्धता जनाए। ‘एक त मेरो चुनावी एजेन्डा राम्रो छ। अर्कोतर्फ, कांग्रेस र माओवादीका असन्तुष्ट पक्षको मत मलाई आउने निश्चित छ,’ उनले भने। 

यसअघिका सांसदले जनताको अपेक्षाअनुसार काम नगरेकोले आफ्नो पल्ला भारी भएको बताए। राप्ती नदी समस्या समाधान गर्छु भनेर भोट मागेका यसअघिका सांसदले समाधानको प्रयास नगर्दा जनता असन्तुष्ट भएको जिकिर गरे। ‘भोट माग्ने वेला चिल्ला कुरा र मीठा आश्वासन दिने र जितेपछि फर्के नआउने प्रवृत्तिका कारण अघिल्लोपटक जितेकाहरू दोस्रोपटक नजितेको इतिहास छ,’ ढकालले भने। 

गठबन्धनका उम्मेदवार गहतराजको मुख्य एजेन्डा विकास निर्माण
सत्तागठबन्धनको तर्फबाट माओवादीका उम्मेदवार महेश्वरजंग गहतराजले आफ्नो जित सुनिश्चित भएको दाबी गरे। उनले राप्ती नदी समस्या समाधानका लागि पहल गरेको र राप्तीपारि क्षेत्रमा विद्युतीकरणको काम गरेकोले आफूलाई नै यस क्षेत्रका मतदाताले भोट दिने दाबी छ। 

अघिल्लोपटक सांसद हुँदा बाँके १ मा विकासले गति लिएको उनको दाबी छ । पाँच वर्षको अवधिमा राष्ट्रिय गौरवका योजना निर्माणमा सक्रियता देखाएको, सडक, विद्युतीकरण, शैक्षिक सुधार, खानेपानी, खेलकुदलगायत भौतिक संरचना निर्माणमा महत्वपूर्ण भूमिका खेलेकोले जनताले मन पराएको गहतराजले बताए। 

‘नरैनापुर र राप्तीसोनारीमा मेरो पहलमा विद्युतीकरणको काम सम्पन्न भएको छ। फत्तेपुर–बैजापुर हुलाकी सडक निर्माणको काम मैले नै सुरुवात गराएँ। नेपालगन्ज–नरैनापुरको सुइयासम्मको हुलाकी सडक पनि मेरै पालामा निर्माण सम्पन्न भएको छ,’ उनले भने, ‘म सधैँ जनताको साथमा रहेकोले यसपटक पनि यहाँका बासिन्दाले मलाई नै भोट हाल्नेमा म ढुक्क छु।’ 

सत्तागठबन्धन दलको मत एमाले–राप्रपा गठबन्धनको भन्दा धेरै अन्तर रहेकोले पनि जित निकाल्न सहज हुने उनको दाबी छ। ‘मेरो काम र जनतालाई गरेको सेवाको कदर त हुने नै भयो। सत्तागठबन्धनको मतअन्तर नै धेरै भएकोले विपक्षीले जित निकाल्न सक्ने कुरै आउँदैन,’ उनले भने ।

ad
ad