१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार ११:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

आचारसंहिता मिचेर अग्नि खरेलले निकाले र्‍याली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:१५:oo

नेकपा एमालेको तर्फबाट झापा क्षेत्र नम्बर १ का उम्मेदवार अग्नि खरेलले आचारसंहिता उल्लंघन गरेर चुनावी र्‍याली गरेका छन्। निर्वाचन आचारसंहिताविपरीत एमालेले मेचीनगर ११ का विभिन्न स्थानमा मोटरसाइकल तथा चारचक्के सवारीको र्‍याली गरेको हो।

एमालेले सोमबार दिउँसो ५० भन्दा बढी सवारीसाधनको र्‍याली गरेको थियो। उक्त र्‍यालीमा मोटरसाइकल र चारचक्के सवारी थिए। निर्वाचन आचारसंहिताअनुसार कुनै प्रकारको सवारीसाधनको प्रयोग गरेर र्‍याली गर्न पाइँदैन। यद्यपि, पूर्वकानुनमन्त्रीसमेत रहेका खरेलको निर्वाचन क्षेत्रमा आचारसंहिता उल्लंघन गरेर र्‍याली गरिएको छ। ‘कुनै किसिमको भित्तेलेखन गर्न वा गराउन, चारपांग्रे गाडी, मोटरसाइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलालगायत सबै प्रकारका सवारीसाधन प्रयोग गरी र्‍याली आयोजना गर्न वा प्रचार गराउन नहुने,’ निर्वाचन आचारसंहिता २०७९ को दफा १३ (द)मा भनिएको छ।

यस्तै, निर्वाचन आचारसंहिताको दफा १३ (घ)मा जुलुस वा आमसभामा भेला हुने वा प्रचार गर्ने व्यक्तिले दल वा उम्मेदवारको चुनाव चिह्न वा झन्डाअंकित लोगो वा स्टिकर वा कपडा, टोपी या क्याप, भेस्ट टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याज, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने उल्लेख छ। यद्यपि, उक्त र्‍यालीको सबै सवारीसाधनमा एमालेको चुनाव चिह्नअंकित झन्डा थियो।

निर्वाचन कार्यालय झापाले कुनै प्रकारको र्‍याली गर्न नपाइने जनाएको छ। खरेलले गरेको र्‍यालीबारे जानकारी भएको निर्वाचन कार्यालयका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए। यसबारेमा के गर्ने भन्ने विषयमा छलफल भइरहेको उनको भनाइ छ।

यसबारेमा जानकारी पाएको र सम्बन्धित पक्षलाई सचेत गराएको जिल्ला आचारसंहिता अनुगमन अधिकारी मधु पोखरेलले बताए। आचारसंहिता उल्लंघनमा पहिलोपटक सचेत गराउने, दोस्रोपटक पत्र काट्ने र तेस्रोपटक कारबाहीका लागि आयोगमा सिफारिस गर्ने उनले बताए। यद्यपि, एमालेका तर्फबाट झापा क्षेत्र नम्बर १ का उम्मेदवार खरेलले भने कुनै प्रकारको आचारसंहिता उल्लंघन नभएको दाबी गरेका छन्।

ad
ad