मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ माघ २५ बुधबार
  • Wednesday, 08 February, 2023
शिल्पा कर्ण काठमाडौं
२०७९ कार्तिक २१ सोमबार १९:४४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

खोपमा भ्रष्टाचार गरेको भन्दै सुपरभाइजर र नासुलाई सजाय

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
२०७९ कार्तिक २१ सोमबार १९:४४:००

विशेष अदालतले खोप खरिदमा भ्रष्टाचार गरेको भन्दै जिल्ला स्वास्थ्य कार्यालय धनकुटाका दुई कर्मचारीलाई सजाय सुनाएको छ। सोमबार विशेषका न्यायाधीशद्वय श्रीकान्त पौडेल र यमुना भट्टराईको इजलासले दुई कर्मचारीलाई सजाय सुनाएको हो।
 
जिल्ला स्वास्थ्य कार्यालयका तत्कालीन प्रमुख भानुभक्त येङ्देन र लेखा अधिकृत दहलमान राईका साथै नायब सुब्बा हरिकुमार पोखरेल र प्रकाश अधिकारीलाई प्रतिवादी बनाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो। 

आर्थिक वर्ष ०६९-७० मा उनीहरू मिलेर दादुरा रुबेला खोप कार्यक्रमअन्तर्गत निकासा भएको बजेटमा अनियमितता गरेको आरोप अख्तियारको थियो। 

खोपको बजेटमा भ्याक्सिन ढुवानी, कार्यक्रम सञ्चालन, औषधि ढुवानी, सवारीसाधनको इन्धन खर्च र कार्यालय सञ्चालन तथा व्यवस्थापनका सामान खरिद गरेको नक्कली बिल भरपाई पेस गरी भ्रष्टाचार गरेको ठहर विशेषले गरेको छ। ३ लाख ८१ हजार रुपैयाँभन्दा बढीको अनियमितता भएकोमा यसमा दुईजना संलग्न देखिएको विशेषको निष्कर्ष छ। 

विशेष अदालतका अनुसार कार्यालय प्रमुख येङ्देन र लेखा अधिकृत राईलाई सफाइ दिइएको छ। नासु पोखरेल र खोप सुपरभाइजर अधिकारीमाथि अभियोग पुष्टि भएको छ।

पोखरेललाई ३ महिना १५ दिन कैदका साथै २ लाख रुपैयाँभन्दा बढी जरिवाना र उति नै बिगो असुलउपर गर्ने आदेश भएको छ। उनीमाथि २ लाख ४७ हजार रुपैयाँ बिगो र जरिवाना मागदाबी गर्दै मुद्दा दायर भएको थियो। 

यसैगरी, अधिकारीलाई ३ महिना कैद तथा १ लाख ३२ हजार रुपैयाँभन्दा बढी जरिवाना र बिगो असुलउपरको सजाय सुनाइएको विशेष अदालतले जनाएको छ। उनीमाथि झन्डै १ लाख ३४ हजार भ्रष्टाचार गरेको अभियोग दाबी थियो।