१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २० आइतबार
  • Saturday, 05 July, 2025
२o७९ कार्तिक २० आइतबार ११:१७:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

दोस्रो खेलमा पनि मधेसको सानदार जित, लुम्बिनी ९२ रनले पराजित

Read Time : > 1 मिनेट
२o७९ कार्तिक २० आइतबार ११:१७:oo

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले लगातार जित निकालेको छ। समूह ‘बी’अन्तर्गत मूलपानी खेलमैदानमा मधेस प्रदेशले लुम्बिनी प्रदेशलाई ९२ रनको फराकिलो अन्तरले पराजित गर्‍याे।

टस हारेर ब्याटिङ गरेको मधेसले कप्तान हरिशंकर साहको सर्वाधिक ७६ रनको मद्दतले २५९ रनको योगफल तयार गर्‍याे। कप्तान साहले ९० बलको सामना गर्दै एक छक्का र १३ चौका प्रहार गरेका थिए। कप्तान साहसँगै मधेस प्रदेशका ओपनर सन्तोष कार्की र विकेटकिपर अनिल साहले अर्धशतकीय पारी खेले।

ओपनर कार्कीले ६० बलको सामना गर्दै तीन छक्का र पाँच चौकाको मद्दतले ५० रन पूरा गरेका थिए। यस्तै, विकेटकिपर अनिलले ४९ बलको सामना गर्दै दुई छक्का र पाँच चौका प्रहार गर्दै ५० रन पूरा गरे। मधेस प्रदेशका लागि विवेक यादवले २१ (३८), मोहम्मद आदिल आलमले १२ (६) र इमरान शेखले १० (१३) रनको योगदान गरे। मधेसले ४८.४ ओभरमा अलआउट हुँदै २५९ रनको बलियो स्कोर बनाएको थियो।

लुम्बिनी प्रदेशका कृष्णा कार्कीले आठ ओभरमा एक ओभर मेडन राख्दै ३५ रन खर्चिएर तीन विकेट, अनिल खरेलले ९.४ ओभरमा एक ओभर मेडन राख्दै ३७ रन खर्चिएर दुई विकेट तथा कप्तान देव खनाल, बसिर अहमद र मोहम्मद हुसेनले एक–एक विकेट लिए।

जवाफी ब्याटिङ गरेको लुम्बिनी मधेसको कसिलो बलिङसामु टिक्न सकेन। २८ ओभरमा ९६ रनमा लुम्बिनी प्रदेशले ६ विकेट गुमाइसकेको थियो। त्यसपछिको पारीलाई कृष्ण कार्की र अनिल खरेलले सम्हालेका थिए। कार्कीले ५० बलमा ३१ र खरेलले ५५ बलमा २१ रन गरी ५३ रनको साझेदारी गरेका थिए। लुम्बिनी ४९.१ ओभरमा एक सय ६७ रनमा समेटियो।

६.४ ओभरमा १८ रनको स्थितिमा पहिलो विकेटको रूपमा ओपनर आकाश त्रिपाठी आठ रनमा रनआउट भएका थिए। कप्तान खनाल ३२ बलको सामना गर्दै नाै रनमा स्टम्प आउट भएका थिए। सन्दीप रजलीले २३ (२७), विशाल विक्रम केसी ३४ (५१), बसिर अहमद १५ (३४), कृष्ण कार्की ३१ (५२), अनिल खरेल २२ (५८) र मोहम्मद हुसेनले १५ (१३) रन बनाएका थिए।
 
मधेस प्रदेशका राजेश यादवले ८.१ ओभर बलिङ गर्दै २३ रन खर्चिएर तीन विकेट लिँदा प्रदीप पासमानले १० ओभरमा दुई मेडन राख्दै २५ रन खर्चिएर तीन विकेट लिए। त्यस्तै, कप्तान हरिशंकर साहले १० ओभरमा पाँच ओभर मेडन राख्दै २५ रन खर्चिएर दुई विकेट तथा रूपेश सिंहले १० ओभरमा एक ओभर मेडन राख्दै ५१ रन खर्चिएर एक विकेट लिए। ७६ रन र दुई विकेट लिएका मधेशका कप्तान हरिशंकर प्लेयर अफ दि म्याच घोषित भए।

मधेसका तीन खेलाडीले बनाए अर्धशतक
दोस्रो खेलमा मधेस प्रदेशका तीन खेलाडीले अर्धशतक पूरा गरे। कप्तान साहले ७६ (९०), ओपनर सन्तोष कार्की ५० (६०) र विकेटकिपर अनिल साहले ५० (४९) रन बनाए। विकेटकिपर साहले प्रदेश नम्बर १ विरुद्धको खेलमा पनि अर्धशतक पूरा गरेका थिए। त्यस खेलमा उनले ६१ रन बनाएका थिए।

मधेस प्रदेश दोस्रो स्थानमा उक्लियो
लगातार दोस्रो जितसहित मधेस प्रदेश समूह ‘बी’को दोस्रो स्थानमा उक्लिएको छ। उसले दुई खेलबाट ४ अंक बनाएको छ। नेपाल पुलिस क्लब तीन खेल जित्दै ६ अंकसहित शीर्ष स्थानमा रहँदा समान तीन खेलमा एक जित र दुई हार ब्यहोरेका लुम्बिनी तेस्रो र प्रदेश १ चौथो स्थानमा छ। तीन खेलमा जितविहीन बागमती प्रदेश अंकतालिकाको पुछारमा छ।