मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक १८ शुक्रबार २३:०२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

ओलीलाई भीम रावलको प्रश्न : म ६७ मै बुढो हुने, ७० काटेका ओली कसरी तन्नेरी भए ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक १८ शुक्रबार २३:०२:००

एमाले नेता भीम रावलले आफूलाई ६७ वर्षमै बुढो भयो भन्ने ७० काटिसकेका केपी ओली कसरी तन्नेरी भए भन्ने प्रश्न गरेका छन् । शुक्रबार कञ्चनपुरको चुनावीसभामा ओलीले रावलको आलोचना गरेका थिए । त्यसमाथि प्रतिक्रिया दिँदै रावलले यस्तो बताएका हुन् । 

कञ्चनपुरमा शुक्रबारको चुनावीसभामा ओलीले ०४८ सालदेखि रावलको मुख खाली नरहेको भन्दै अब उनको चिन्ता गर्न छाड्नुपर्ने बताएका थिए । ‘रावलको चिन्ता कति गर्नुहुन्छ, ०४८ देखि उनको मुख खाली छैन । अरुलाई पालो दिनुपर्देन ? एउटा भीम रावल के के खेती गरिराख्या छ, यहाँ अरु थुप्रै रावल हुनुहुन्छ, अब थुप्रो रावलहरूलाई अगाडि बढाइन्छ,’ ओलीले भनेका थिए । 

सामाजिक सञ्जालमार्फत् यसको जवाफ दिँदै रावलले ओलीका भनाइले उनीमाथि नै अनेकौँ प्रश्न उठेको बताएका छन् । ‘उत्तेजित भाषणले उहाँभित्र बलिरहेको क्रोध, बदला, निषेध र द्वेषपूर्ण दुर्भाव उदांग भएको छ,’ रावलले भनेका छन् । 

उनले ६७ वर्ष लागेकोलार्य बुढो भन्ने हो भने ७० वर्ष काटिसकेका ओली फेरि सांसद र प्रधानमन्त्रीका लागि कसरी तन्नेरी भए भन्दै प्रश्न गरेका छन् । ‘म ६७ वर्ष लागेकोलाई बुढो भन्ने हो भने ७० वर्ष काटिसकेका ओलीजी फेरि सांसद र प्रधानमन्त्रीका लागि कसरी तन्नेरी हुनुभयो ? मभन्दा उमेर बढी भएका अरुलाई उम्मेदवारका लागि किन सहमति दिनुभयो ?’ उनले भनेका छन्, ‘अरुलाई पालो दिन पार्टीले मापदण्ड बनाएमा सबैले मान्नुपर्छ । तर, अरुलाई पालो दिनुपर्ने भए ओलीजी र सचिवालय तथा स्थायी कमिटीका अनेकौँ पदमा रहेका र अनेकौँपटक सांसद र मन्त्री भएका व्यक्तिका हकमा अरुलाई पालो दिनुपर्ने भन्ने किन लागु नहुने त ?’

रावलले आफू ०५१ देखि मात्रै सांसद भएको तर ओली ०४८ देखि सांसद, मन्त्री, पार्टी अध्यक्ष र प्रधानमन्त्री भएको भन्दै आफूमाथि नियोजित रूपमा विभेद गरिएको जिकिर गरेका छन् । 

‘मलाई ४८ सालमा तत्कालीन महासचिव मदन भण्डारी र नेता माधव नेपालले चुनाव नजितिने भए पनि हाम्रा मतहरू सुरक्षित गर्न अछाममा गएर लड्नु होस्भन्दा म तयार भएँ । तर, सांसद ०५१ सालदेखि मात्र भएँ । ओलीजी ४८ सालदेखि सांसद, मन्त्री, पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनुभएको छ र कहिल्यै ‘मुख खाली छैन’ र फेरि पनि ‘खान’को लागि मुख किन बाउनुभएको छ ?’