१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ कार्तिक १८ शुक्रबार ०९:४७:००
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बैठक कोठा यसरी सिँगार्नुस् 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ कार्तिक १८ शुक्रबार ०९:४७:००
सन्दीपा तामाङ सञ्चालक इन्टेरियर डिजाइन नेपाल 

बैठक कोठा घरको पब्लिक एरिया हो । परम्परागत घरमा धेरैले पिँढीलाई भेटघाट र छलफलका लागि प्रयोग गर्थे । मानिसले त्यहाँ कुर्सी वा गुन्द्री, राडी राखेका हुन्थे । त्यसैले बैठक कोठा पर्खालभित्र नै हुनुपर्छ भन्ने छैन । तर, आजकल प्रायजसो घरमा बैठक कोठा भनेर अलग्गै कोठा छुट्याइएको हुन्छ । भेटघाट वा पारिवारिक छलफलका लागि पनि यसको प्रयोग गरिन्छ । भेटघाट र बैठकका लागि प्रयोग गरिने भएकाले यसलाई सबैले आकर्षक रूपमा सजाउने गर्छन् । त्यसैले बैठक कोठा सजाउँदा तपाईंले पनि केही कुरामा ध्यान दिन जरुरी छ ।

लोकेसन 
सबैभन्दा महत्वपूर्ण कुरा लोकेसन हो । बैठक कोठा अलग्गै पनि हुन सक्छ । किचेन र डाइनिङसँगै एट्याच पनि हुन सक्छ, जहाँ नातेदारहरूसँगै बसेर चिया खाएर तपाईंले छलफल गर्न सक्नुहुन्छ । कहिलेकाहीँ खुला स्पेसलाई पनि बैठक कोठा बनाइएको हुन्छ । कसैले सुत्ने कोठानजिकै नै बैठक कोठा बनाएका हुन्छन् । कोही मान्छे आउनुभएको छ भने तपाईंहरू बैठक कोठामा गएर बस्न सक्नुहुन्छ । यदि दुई वा तीन तलाको घर छ भने वरपर अन्य कोठा बनाएर बीचको ठाउँलाई खुला र सुन्दर राखेर लिभिङ रुम तयार गर्न सकिन्छ । माथिल्ला तलाहरूमा रहेका प्यासेजलाई पनि बार्दलीजसरी लिभिङ रुमकै स्पेसका रूपमा प्रयोग गर्न सकिन्छ । प्रायः अवस्थामा बैठक कोठा ग्राउन्ड फ्लोरमै हुन्छ । कहाँ र कता राख्ने भन्ने कुरा तपाईंको घरको अवस्थाले निर्धारण गर्छ । 

आकार
हुन त बैठक कोठा चारवटा भित्ताभित्रै हुनुपर्छ भन्ने कहीँ पनि लेखिएको छैन । तर, यदि तपाईंको बैठक कोठा घरभित्र छ भने तपाईंले यसका लागि पर्याप्त स्पेस छुट्याउँदा राम्रो देखिन्छ । कम्तीमा १० बाई १० को बैठक कोठा भयो भने राम्रो हुन्छ ।  

लाइटिङ
हरेक कोठालाई प्रकाश जरुरी हुन्छ । तर, तपाईंले घाम छिर्ने गरी बैठक कोठाको डिजाइन गर्नुभयो भने राम्रो हुन्छ । नेचुरल लाइटले इनर्जी त दिने नै भयो, यसबाहेक कोठाका भित्तामा ढुसी पर्ने पनि कम हुन्छ । कृत्रिम बत्तीको हकमा अधिकांशले सेतो वा वार्म लाइट प्रयोग गर्छन् । कृत्रिम प्रकाशलाई आवश्यकता हेरेर थप आकर्षक र डेकोरेटेड पनि बनाउन सकिन्छ । सिलिङ डिजाइन धेरै गर्नुपर्छ भन्ने छैन । सामान्य पनि आकर्षक नै देखिन सक्छ । 

फ्लोरिङ 
भुइँमा के बिछ्याउने भन्ने कुरा पनि महत्वपूर्ण हो । स्टोन फ्लोरिङ पनि गर्न सक्नुहुन्छ । त्यस्तै, टायल मार्बल वा पार्केटिङ पनि गर्न सकिन्छ । अहिले कार्पेटहरू पनि विभिन्न डिजाइनमा उपलब्ध छन् । तपाईंलाई जस्तो मन पर्छ, त्यस्तै गर्दा राम्रो हुन्छ । दीर्घकालसम्म टिक्ने र सहज हुने कुरा राख्दा हुन्छ । त्यस्तै, बैठक कोठामा आवश्यकताअनुसार विभिन्न डिजाइनका गलैँचा ओछ्याउन सकिन्छ ।   

फर्निचर 
बैठक कोठामा प्रायः सबैले टिभी राख्ने भएकाले टिभी युनिटको प्रयोग गर्न सकिन्छ । टिभी युनिटसँगै जोडेर सोकेस राख्नुभयो भने पनि राम्रो हुन्छ । सोकेसमा तपाईंले पाउनुभएका ट्रफी, मेडल, प्रमाणपत्र तथा तपाईंका फोटो एल्बमहरू सजाउन सकिन्छ । बजेट र इच्छाअनुसार कस्तो बनाउने भन्ने तय गर्न सकिन्छ । त्यस्तै, धेरैले सोफा राख्नुहुन्छ । भेटघाट धेरै हुने कोठा भएकाले सोफा राख्दा सहज पनि हुन्छ । टेबुल वा कुर्सी पनि राख्न सकिन्छ । चिया खान वा केही म्यागेजिनहरू राख्नका लागि पनि टेबुल उपयुक्त हुन्छ । 

पेन्ट/पर्दा
घरभित्र बैठक कोठा छ भने भित्तालाई आकर्षक रूपमा रंगाउन सकिन्छ । तीनवटा भित्तालाई एउटा कलर र अर्को एउटालाई बेग्लै कलरले रंगाउँदा पनि आकर्षक देखिन्छ । प्लाई, वालपेपरको प्रयोगले पनि बैठक कोठा सजाउन सकिन्छ । फोटोहरू टाँसेर पनि आकर्षक देखाउन सकिन्छ । बैठक कोठा मात्रै नभएर हरेक कोठाको सुन्दरतामा पर्दाले पनि महत्वपूर्ण भूमिका खेल्छ । बजारमा विभिन्न डिजाइनका महँगा र सस्ता पर्दाहरू पाइन्छन् । तपाईंले आफ्नो इच्छा र आवश्यकताअनुसार यसको छनोट गर्न सक्नुहुन्छ ।