कालीकोटमा विस्फोटक पदार्थ पड्किँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ। तीनजना गम्भीर घाइते भएका छन्। दुईजना बालिकाको उपचारका क्रममा मृत्यु भएको हो भने तीनजना गम्भीर घाइतेकाे उपचार भइरहेकाे छ।
प्रमुख जिल्ला अधिकारी रामहरि शर्माका अनुसार तिलागुफा-१० की चार वर्षीया झरना थापा र अर्की चार वर्षीया बालिका सरस्वती रानाको मृत्यु भएको हो। चार वर्षीया बालिका सरस्वतीको कर्णाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने झरनाको स्थानीय स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए।
घाइते तीनजनाको अहिले कर्णाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। विस्फोटक पदार्थ पड्किएर घाइते भएका बालिकाहरूलाई नेपाली सेनाको हेलिकोप्टरले थप उपचारका लागि सुर्खेत ल्याएको हो।
गाई चराउन गएका बालबालिकाहरूले ओढारमा भेटाएको शंकास्पद वस्तु खेलाउँदा विस्फोट भएको स्थानीय प्रेमबहादुर शाहीले बताए। प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।