मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस एजेन्सी
२०७९ कार्तिक ९ बुधबार ०७:४७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पाँचबुँदे तेहरान घोषणापत्र जारी गर्दै सकियो ओएएनएको १८औँ महासभा 

Read Time : > 1 मिनेट
रासस, एजेन्सी
२०७९ कार्तिक ९ बुधबार ०७:४७:००

इरानको राजधानी तेहरानमा जारी एसिया–प्रशान्त क्षेत्रका समाचार समितिहरूको संगठन (ओएएनए)को १८औँ महासभा पाँचबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। 

महासभाले आज पारित गरेको घोषणापत्रमा गलत समाचारविरुद्ध मुकाबिला गर्न ओएएनएमा आbद्ध मुलुकहरूका समाचार समितिबीचको सहकार्यलाई प्रवर्द्धन गर्ने उल्लेख छ। समाचार समितिबाट उत्पादन हुने समाचार तथा रिपोर्टको विश्वसनीयता बढाउने घोषणापत्रमा जनाइएको छ। 

पाठक, दर्शक र स्रोताको सत्य सूचना पाउने अधिकारप्रति प्रतिबद्धता जनाउँदै ओएएनएमा आबद्ध मुलुकहरूले रिपोर्टमा  पेसागत कर्तव्यलाई प्रभावित हुने गरी राजनीतिक विचार प्रवाह नगर्ने घोषणापत्रमा उल्लेख गरिएको छ। 

त्यसैगरी, समाचार समितिका जारी गतिविधिलाई अगाडि बढाउन ओएएनएमा आबद्ध मुलुकहरू मिलेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ। समाचार समितिबीचको सहकार्यमा आउन सक्ने अप्ठ्यारालाई न्यूनीकरण गर्न सदस्य मुलुकले सहकार्य गर्ने उल्लेख गरिएको छ। 

अन्तर्राष्ट्रिय मापदण्डलाई स्विकार्दै विश्वका स्वतन्त्र देशका राष्ट्रिय सार्वभौमिकता तथा भौगोलिक अखण्डतामा चुनौती सिर्जना गर्ने अवस्थाको अपेक्षा नगरिएको घोषणापत्रमा उल्लेख गरिएको छ। 

त्यसैगरी, ओएएनए सदस्य मुलुकका संस्थाबाट भएका निर्णय कार्यान्वयन तथा लक्ष्य प्राप्तिको पुनःप्रतिबद्धता व्यक्त गरिनुका साथै त्यसका लागि व्यक्ति एवं भर्चुअल माध्यमबाट सम्पर्कमा रहने उल्लेख गरिएको छ। 

घोषणापत्रमा कोभिड–१९ले समाचार संकलनमा सीमितता ल्याएको उल्लेख गर्दै सञ्चारमाध्यमले पाठक, दर्शक र स्रोताको आवश्यकता परिपूर्ति गर्न समाचार संकलनमा नयाँ प्रविधि र रणनीति अपनाएको उल्लेख गरिएको छ। त्यसैगरी, ओएएनए सदस्य मुलुकहरूबीच नयाँ अवस्था र विकासका अनुभव आदानप्रदानलाई निरन्तर जारी राख्ने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ। 

महासभाले ओएएनएको अध्यक्षमा इरानको स्लामिक रिपब्लिक न्युज एजेन्सी (इराना) का प्रबन्ध निर्देशक डा अली कादरीलाई चयन गरेको छ। महासभामा नेपालका तर्फबाट राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सहभागिता जनाएका थिए। 

यही अक्टोबर २३ देखि २६ सम्म चलेको महासभामा एसिया–प्रशान्त क्षेत्रका ३५ सदस्य मुलुकका समाचार समितिका निर्देशक, व्यवस्थापक एवं सम्पादक गरी ६० जनाको सहभागिता छ। 

महासभामा ‘सञ्चारमाध्यममा महामारीले ल्याएको परिवर्तन’ र ‘महामारीपछि सञ्चारमाध्यममा सहकार्यको प्रवर्द्धन’ विषयमा छलफल भएको थियो। 

महासभाको उद्घाटन कार्यक्रममा इरानको संस्कृतिमन्त्री महम्मद मेहदी स्माइलीले एसिया–प्रशान्त क्षेत्रको पत्रकारिताको प्रवर्द्धनमा जोड दिँदै समाचार एजेन्सीहरूबीच सहयोग र सहकार्यको आवश्यकता औँल्याए।