१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक ६ आइतबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक ६ आइतबार १९:३१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राति-राति फोहोर फाल्नुहुन्छ? पर्नुहोला है महानगरको फन्दामा ! 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक ६ आइतबार १९:३१:oo

सार्वजनिक स्थलमा अनधिकृत फोहोर फाल्नेहरूबाट काठमाडौं महानगरपालिकाले ४ लाख ५ सय रुपैयाँ जरिवाना रकम संकलन गरेको छ।

रातको समयमा सडक तथा नदी किनाराजस्ता सार्वजनिक स्थलमा घरको फोहोर बोकेर फाल्न आउने व्यक्ति, व्यवसायी तथा संस्थाका प्रतिनिधिहरूलाई पक्राउ गरी जरिवाना गर्दा सो रकम संकलन भएको हो। 

वातावरण तथा कृषि विभागले गरेको अनुगमनका क्रममा साउन महिनामा एक लाख ५२ हजार ५ सय रुपैयाँ, भदौ महिनामा ९९ हजार ५ सय रुपैयाँ र असोज महिनामा १ लाख ४८ हजार ५ सय रुपैयाँ संकलन भएको नगर प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्टले जानकारी दिए।
  
फोहोरको मात्रा र प्रकृतिअनुसार कम्तीमा एक हजार रुपैयाँदेखि बढीमा २५ हजार रुपैयाँसम्म जरिवाना रकम तोक्ने गरिएको छ। 

जरिवाना तोकेपछि कतिपय व्यक्तिले गल्ती महसुस गरेर जरिवाना तिर्ने गरेको भट्टले बताए। उनले भने, ‘जानेर पनि नजानेजस्तो गरेर फोहोर फाल्न आउने पनि भेटिन्छन्।

कतिपयले आफ्नो फोहोर फाल्न अरूलाई प्रयोग गरेका छन्। कतिपय विद्यार्थीहरूले फोहोर व्यवस्थापनको आफूसँग विकल्प नभएपछि बाहिर आउनुपरेको बताउने गरेका छन्।’

कारबाहीमा परेका व्यक्ति तथा संस्थाका विषयमा जानकारी दिँदै उनले थपे, ‘पक्राउ परेपछि कतिपयले गल्ती महसुस गर्छन्। कतिले आफूले गरेको काम सही भएको दाबी पनि गर्छन्। फोहोर फाल्ने कतिले हातमा बोकेर थोरै मात्रा लिएर आउने गरेको पाइन्छ भने कतिले सवारीसाधनकै प्रयोग गरेरै आउँछन्।’ 

उनका अनुसार अनुगमनका लागि नगरप्रहरी र कर्मचारीको टोली हरेक दिन बेलुकाबाटै खटिने गरेको छ। एक दिनमा ५ जनाको टोली खटिन्छ।

काठमाडौं महानगरले फोहोर फालेका कारण कारबाही गर्नुपर्ने अवस्था नआओस् भन्ने चाहना बताउँदै आएको छ। घरमा कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर राख्ने र तोकिएका व्यक्ति तथा सवारी आएपछि मात्र बाहिर निकाल्न महानगरको अनुरोध छ। यसरी गरिएको अनुरोधलाई नटेर्नेमाथि कारबाही गर्ने गरिएको अनुगमन टोलीले बताए।