
पर्यटनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ लाई देशकै सांस्कृतिक राजधानीका रूपमा विकास गर्ने बताएका छन्।
प्रतिनिधिसभाका उम्मेदवार उनले दरबार स्क्वायर र स्वयम्भू जोड्ने सम्पदामार्ग निर्माण, देशकै प्राचीन सम्पदाहरूको संरक्षण र ह्वाइट गुम्बावरिपरि पूर्वाधार विकास गरेर काठमाडौं ८ लाई देशकै सांस्कृतिक केन्द्र बनाउने बताएका हुन्।
निर्वाचन परिचालन समितिले डल्लुमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले विश्वसम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार र स्वयम्भूलाई जोड्ने सम्पदामार्ग निर्माण सुरु भइसकेको बताए। स्वयम्भूदेखि हनुमानढोकासम्मका सम्पदालाई विश्वसामु चिनाउने र पर्यटन क्षेत्रको विकास गर्ने उनकाे भनाइ छ।
दुवै विश्व सम्पदाबीच रहेका अन्य कैयौँ स्थानीय सम्पदाको पहिचान र संरक्षणबाट उक्त क्षेत्र सांस्कृतिक राजधानीका रूपमा विकास हुने मन्त्री श्रेष्ठले बताए।
सम्पदाको संरक्षण, पर्यटकीय क्षेत्रको विकास तथा त्यसमार्फत आयआर्जनका कार्यक्रम सञ्चालन गरी स्थानीय जनताको जीवनस्तरमा सुधार ल्याउने आफ्नो योजना रहेको उनको भनाइ छ।