१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १४:४१:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

पाराग्लाइडिङमा अभ्यास खेलको आधारमा पदक 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:४१:oo

प्रतियोगिताको क्रममा एक खेलाडीको मृत्युसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले देशभर पाराग्लाइडिङमा रोक लगाएपछि रोकिएको पाराग्लाइडिङ खेलको निर्णय अभ्यास खेललाई आधार मानेर गरिएको छ।

नवौँ राष्ट्रिय खेलकुदमा प्रतियोगिताअन्तर्गत क्रसकन्ट्री विधाको खेल जारी रहँदा ३० असोजमा नेपाल आर्मीका खेलाडी निसिम थापाको मृत्यु भएको थियो। सोही दिनदेखि क्यानले पाराग्लाइडिङमा रोक लगाएको थियो।

२८ असोजमा भएको अभ्यास खेललाई आधार मानेर सहभागी टोलीलाई बिहीबार पदक वितरण गरिएको हो। प्रतियोगितामा विभिन्न ६ विधा समावेश गरिएका थिए। जसअनुसार क्रसकन्ट्रीमा गण्डकीको टोलीले २७५० अंकसहित स्वर्ण, आर्मीले २५५५.९ अंकसहित रजत र २१४८.३ अंकसहित बागमतीले कांस्य पदक पायो।

क्रसकन्ट्री एकलमा आर्मीका सुरुज थापाले स्वर्ण, गण्डकीका विजय गौतमले रजत र बागमतीका कृष्णबहादुर सुनुवारले कांस्य पदक जिते। एक्युरेसी पुरुषतर्फ समूहमा गण्डकीले स्वर्ण, एपिएफले रजत र प्रदेश १ ले  कांस्य पदक जित्यो।

एक्युरेसी पुरुष एकलमा गण्डकीका सुमन थापाले स्वर्ण, एपिएफका अञ्जन कुँवरले रजत र आर्मीका विष्णु तिमिल्सिनाले कांस्य पदक जिते। गण्डकीका थापा र आर्मीका कुँवरले समान तीन–तीन अंक ल्याएपछि गोलाप्रथाबाट गण्डकीका सुमनले बाजी मार्दै स्वर्ण जितेका हुन्।

टिम एक्युरेसी महिलामा ४० अंकसहित आर्मीले स्वर्ण, ११३ अंकसहित गण्डकीले रजत र ८९० अंक जोडेको प्रदेश १ ले कांस्य पदक जित्यो। महिला एक्युरेसी एकलमा आर्मीकी मुनामाया जिटीले २० अंकसहित स्वर्ण, दुर्गामाया गुरुङले २१ अंकसहित रजत र स्वस्तिका गुरुङले ५४ अंकसहित कांस्य पदक पाए।

निसिमको अर्धकदको सालिक राखिने 
प्रतियोगिताका क्रममा मृत्यु भएका खेलाडी निसिमको पोखरा रंगशालामा अर्धकदको सालिक निर्माण गरिने भएको राखेप सदस्यसचिव टंकलाल घिसिङले जानकारी दिए।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को ११५औँ बोर्ड बैठकले प्रतियोगितामा सहभागी खेलाडी निसिमको खेलका दौरान मृत्यु भएपछि सम्मानस्वरूप सालिक स्थापना गर्ने निर्णय भएको घिसिङले बताए।

थापालाई मानार्थ स्वर्ण
आयोजकले मृत्यु भएका थापालाई सम्मानस्वरूप मानार्थ स्वर्ण पदक दिएको छ। योसँगै थापाको परिवारलाई बिमाको रकमबाहेक मन्त्रिपरिषदबाट थप सहायताका लागि आफूले प्रस्ताव लैजाने युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले बताए।

ad
ad