बेलायती प्रधानमन्त्री लिज ट्रसले ४० दिनदेखि लगातार उपहास सहिरहेकी छिन् । उनको ‘संक्षिप्त बजेट’, जसलाई उनले आफ्नो खुला बजारको एजेन्डालाई पुष्टि गर्न प्रयोग गरेकी थिइन्, त्यो पूर्ण रूपमा असफल भएको छ । अर्थात् बन्ड (वित्तीय धितो) आकासिएको छ, पाउन्डको मूल्यमा गिरावट आएको छ र बजार सन्तुष्ट हुनुको साटो उल्लेखनीय ढंगले निराश छ । आफूले सिर्जित क्षति कम गर्ने प्रयासमा धनाढ्यका लागि ल्याइएको कर कटौती रद्द गर्ने कदमले लिज थप उपहासकी पात्र बनिन् । कन्जरभेटिभ पार्टीको सम्मेलनमा प्रदर्शनकारीले चर्को स्वरमा प्रहसनको संगीत नै बजाएका थिए र त्यहाँ प्रहरीले पनि कुनै हस्तक्षेप गरेन । प्रहरी हस्तक्षेप नहुनुले पनि बेलायती सरकार असफल भइरहेको दर्साउँथ्यो ।
कर कटौतीबाट बेलायती अर्थतन्त्रलाई पुनरुत्थान गर्ने उनको कथित योजनाको विरोध गरेकामा ‘आर्थिक वृद्धिविरोधी’ गठबन्धनसँग रिसाएकी ट्रस तनावमा थिइन् । ट्रसले विरोध गर्ने यो ‘आर्थिक वृद्धिविरोधी’ समूहले धेरैलाई समेटेको छ, जसमा ट्रससँगको भेटमा ‘फेरि आइपुगेछौ’ भनेर असन्तोषयुक्त सम्बोधन गर्ने राजा चाल्र्स तृतीय, बिबिसी र आफ्नै कन्जर्भेटिभ पार्टीका अधिकांश सदस्य रहेका छन् । मत सर्वेक्षण हेर्ने हो भने पनि लेबर पार्टी ट्रसको कन्जर्भेटिभ पार्टीभन्दा ३३ अंकले अगाडि छ भने ट्रसको मूल्यांकन ऋणात्मक अंकमा छ अर्थात् –४७ रहेको छ ।
शुक्रबार स्थिति झन् बिग्रियो । ट्रसले आफ्ना मित्र एवं अर्थमन्त्री क्वासी क्वार्तेङलाई बर्खास्त गरेर एक मध्यम कन्जर्भेटिभ जेरेमी हन्टलाई सो पदमा नियुक्त गरिन् । आफूलाई गम्भीर भएको देखाउन खोजिरहेकी ट्रसबाट नियुक्त भएका नयाँ अर्थमन्त्री हन्टले अर्थतन्त्रलाई थप डामाडोल बनाएका छन् । कन्जर्भेटिभ विधायकले उनलाई पदबाट हटाउन नेतृत्वका नियम परिमार्जन गर्न छलफल गरिरहेका छन् किनभने अविश्वासको प्रस्ताव लगाइनुपर्छ भनेर आएका पत्रका खात लागेका छन् । उनले एक वर्षको अनुग्रहसम्म पाउन सक्छिन् ।
वास्तवमा ट्रसको प्रधानमन्त्री कार्यकाल समाप्त भइसकेको छ, अर्थात् उनी नंग्रा र दाह्रा नभएकी सिंहजस्ती भएकी छिन् । यो ठूलो असफलतामा बेलायती राजनीतिका एक उपेक्षा गर्न नमिल्ने ‘प्रेत’का रूपमा रहेका बोरिस जोनसनको हात देखिन्छ । स्वभावतः उनी ट्रसलाई उत्तराधिकारी बनाउन चाहन्थे किनभने उनी आफ्नो पार्टीमा छनोट हुने उम्मेदवारमा एक सम्भावित अक्षमलाई नै रोज्न चाहन्थे । वास्तवमा जनसनको समर्थनमा धूर्तता देखिन्थ्यो, अर्थात् यो समर्थनले जनसनमा आफ्नो हैसियत फिर्ती हुन सक्छ भन्ने अपेक्षा झल्किन्थ्यो ।
स्वाभाविक रूपमा ट्रसको असफलता जोनसनको दायराभन्दा धेरै परसम्म फैलिएको छ । बेलायती राजनीतिले जनताको अवचेतन मनमा स्थान लिइसकेको छ, जसले हामीलाई जोखिमको गर्तमा धकेलेको छ । हामी गम्भीरता, सूचना एवं आशा–उत्साहबाट धेरै टाढा छौँ । यो अवस्थालाई युरोपियन युनियन छोड्ने निर्णय अर्थात् ब्रेक्जिटकै निर्णय र ढिलो गरी ब्रेक्जिटको दुःस्वप्नबाट हामी ब्युँझिन थालेको अवस्थाले पुष्टि गर्छ । त्यसैगरी, यो अवस्थालाई सन् २०१९ को चुनावमा जोनसनको विजयी उन्मादमा फैलिएको ‘ब्रेक्जिट गरिछाडियो’ भन्ने लहर र ट्रसको पतनले पनि पुष्टि गर्छ । हामीले सन् २०१६ पछि चौथो प्रधानमन्त्री पाएका छौँ, जसले आक्रोश र अस्वीकृति बढेको देखाइरहेको छ । तर, यसबाहेक थप भावनात्मक परिस्थितिको पनि विकास भइरहेको छ ।
लिज ट्रसलाई प्रधानमन्त्रीका रूपमा छनोट गर्नु त्रुटि मात्र नभई मुलुकलाई बर्बादीको गर्तमा पुर्याउने अन्तिम कन्जर्भेटिभ कदम पनि थियो
नयाँ प्रधानमन्त्री (ट्रस) को कार्यकालको तेस्रो दिनमा महारानी एलिजाबेथको निधन भयो र बेलायत शोकमा डुब्यो । मेरो विचारमा ट्रसको अवनतिमा सार्वजनिक शोकले पनि भूमिका खेलेको छ, अर्थात् एलिजाबेथको सम्मान बढ्दै जाँदा ट्रसप्रतिको अस्वीकृति पनि बढ्यो । बेलायतमा केवल ६ प्रतिशत जनताले मात्र ट्रसको कर कटौतीको नीति स्विकारेका थिए, एलिजाबेथको कुरा गर्ने हो भने उनले सदैव शान्ति एवं प्रेमलाई प्रोत्साहन गरिन् । महारानीप्रतिको स्नेह झल्काउने अधिनायकवादलाई बेलायतीले रुचाउँछन् । यस सन्दर्भमा ट्रस अभागी र दयाकी पात्र बनिन्, अर्थात् उनलाई खारेज गर्न सकिने अवस्था निम्तियो ।
कन्जर्भेटिभका लागि अब खासै सम्भावना छैनन् । १२ वर्षदेखि सत्तामा रहेका ब्रेक्जिटको निर्णय र परिणाम, महामारी र बढ्दो विभाजनले थकित कन्जर्भेटिभ जोनसनको महत्वाकांक्षा, आफ्नै अपर्याप्तता र राज्यविरुद्ध लाग्ने आफ्ना सदस्यको निगाहबक्समा आफूलाई पाउँछन् । लिज ट्रसलाई प्रधानमन्त्रीको रूपमा छनोट गर्नु त्रुटि मात्र नभई मुलुकलाई बर्बादीको गर्तमा पुर्याउने अन्तिम कन्जर्भेटिभ कदम पनि थियो । प्रचलित बुझाइविपरीत बेलायतमा दुई उग्र विरोधी गुट छैनन्, तर दृष्टिकोणमा विविधता देख्न सकिन्छ ।
१० वर्षभन्दा बढी समय कन्जर्भेटिभ सरकारलाई बहुमत जनताले समर्थन गरेका थिए । तर, ट्रसले निम्त्याएको बजार अराजकता र अन्तर्राष्ट्रिय बेइज्जतीले १० वर्षे कडीमा विराम लागेको छ । वास्तवमा ट्रसको रुढिवादी एवं कमजोर नेतृत्व कहिल्यै सफल हुने थिएन । जनसन एक हिसाबले धेरै बाठा थिए, अर्थात् उनी मात्रै सन् २०१९ मा जितेको चुनावी गठबन्धनलाई एकसाथ राख्न सक्छु भन्ने प्रमाणित गर्न चाहन्थे । ट्रसको अवनतिले उनी सफल देखिएका छन् ।
कालान्तरमा बेलायतले जोनसनका बकवास र ट्रसका कुतर्कबाट आफूलाई मुक्त गर्न सक्ला र काल्पनिक नभई तथ्यमा काम गर्ने र देशबारे सोच्ने नेता छनोट गर्न सक्ला । अन्ततः हामी पोस्ट–ट्रुथ, कट्टरता र साम्राज्यवादी उन्माद पुग्यो भनौँला । तर, यो समय आउन अझै धेरै बाँकी छ । यति भन्दै गर्दा ट्रस निश्चित रूपमा असफल हुनेछिन् । तर, यो असफलताले कन्जर्भेटिभमाझ कुनै परिवर्तन आउनेछैन र राष्ट्रले मुक्तिबोध गर्नेछैन ।
(गोल्ड बेलायती पत्रकार हुन्) न्युयोर्क टाइम्सबाट