१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ३१ सोमबार
  • Saturday, 28 September, 2024
सत्तागठबन्धनले काठमाडौं २ मा आयोजना गरेको संयुक्त चुनावी कार्यक्रममा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायत । तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
प्रेम गौतम काठमाडाैं
२o७९ असोज ३१ सोमबार o६:४५:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सत्तागठबन्धनका शीर्ष नेताले थाले संयुक्त चुनावी प्रचार

Read Time : > 2 मिनेट
प्रेम गौतम, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असोज ३१ सोमबार o६:४५:oo

सत्तागठबन्धनका शीर्ष नेताले संयुक्त रूपमै चुनावी प्रचार अभियान थालेका छन् । काठमाडौं २ बाट प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावी प्रचार थालेका हुन् ।काठमाडौं २ मा प्रतिनिधिसभामा माओवादीकी ओनसरी घर्ती, प्रदेश सभा (क) मा कांग्रेसका ध्रुव केसी र (ख) मा एकीकृत समाजवादीका भरत फुँयाल उम्मेदवार छन् । काँडाघारीमा आइतबार आयोजित कार्यक्रममा देउवा, प्रचण्ड र नेपालले गठबन्धनको जित सुनिश्चित भएको दाबी गरेका छन् ।

देउवाले प्रतिगमनको खतरा अझै रहेको औँल्याउँदै लोकतन्त्र र स्थायित्वका लागि गठबन्धन आवश्यक रहेको बताए । ‘प्रतिगमनको खतरा अझै छ । त्यसकारण सबै एकजुट हुन जरुरी छ । गठबन्धनमा सबैले मिल्नुपर्ने आवश्यकता छ । कुनै पनि एक पार्टीले बहुमत ल्याउन गाह्रो छ,’ उनले भने, ‘गठबन्धन संस्कृतिको विकास भएको छ । मिलेर विरोधीको सामना गर्ने, गरिबी हटाउने मौका आएको छ । यो चुनौती पनि हो । चुनौतीको सामना र मौकाको फाइदा लिनुपर्नेछ ।’माओवादी अध्यक्ष प्रचण्डले निरंकुश राजतन्त्रको विरुद्धमा १२बुँदे समझदारी, गणतन्त्र हुँदै पछिल्लोपटक प्रतिगमनविरुद्धको संघर्षमा गठबन्धन अगाडि बढेको बताए । रूख र हँसिया–हथौडाबीच ०४६ सालदेखि नै सहकार्य भएको भन्दै प्रचण्डले परिवर्तनको महत्व बुझेर अगाडि बढ्न आह्वान गरे । 

गठबन्धनको अबको मुख्य लक्ष्य आर्थिक समृद्धि भएको उनले बताए । ‘धेरै उतारचढाव हामी सबैले पार गरेका छौँ । राजनीतिक परिवर्तन सहज हुने, तर आर्थिक अवस्था सुदृढ नहुँदा व्यवस्थामाथि प्रश्न खडा हुने गरेको छ । प्रतिगमनको करसर भइरहेको छ । त्यही कारण गठबन्धन बनाएर जानुपर्ने अवस्था आयो,’ प्रचण्डले भने, ‘विकास, निर्माण र समृद्धि नै हाम्रो मुख्य एजेन्डा हुनेछ । आर्थिक समृद्धिको नयाँ क्रान्तिमा अगाडि बढाउने छौँ । इतिहासबाट शिक्षा लिएर राष्ट्र र जनताको पक्षमा निरन्तर प्रगति गर्नेछौँ ।’

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देशले अधिनायकवाद, निरंकुशता र सर्वसत्तावादको माग नगरेको बताए । उनले व्यवस्था जोगाउन गठबन्धनले खेलेको भूमिका स्मरण गर्दै गठबन्धनका सबै उम्मेदवारलाई जिताउन अपिल गरे । ‘भोलिको निम्ति खतरा कायमै छ । विचार खोटपूर्ण भएपछि देश सही दिशामा जान सक्दैन । देशले अधिनायकवाद, निरंकुशता, सर्वसत्तावादको माग गरेको होइन,’ उनले भने, ‘हामी जनाधिकारको पक्षमा, देश विकासको पक्षमा छौँ । संविधानले अघि सारेको मान्यतालाई हामीले व्यवहारमा उतार्नुपर्ने आवश्यकता छ । जनताको चाहना, माग, विकासका आवश्यकता हेरेर अगाडि बढ्छौँ ।’ 

शीर्ष तीन नेताले गठबन्धनकी साझा उम्मेदवार ओनसरी घर्तीको खुलेर प्रशंसा गरेका छन् । देउवाले भने, ‘घर्ती साहसी महिला हुनुहुन्छ । कुशलताको साथ सभामुखको भूमिका निर्वाह गर्नुभयो । संसद्लाई अत्यन्त सफलताको साथ अगाडि बढाउनुभयो । उमेर सानै छ, के चलाउनुहोला भनेको त, उहाँले अत्यन्तै सहजका साथ संसद्लाई अगाडि बढाउनुभयो । माओवादी निर्वाचित भए पनि उहाँले पार्टीको भन्दा राष्ट्रको हित हेर्नुभयो । आफ्नो पार्टीको आदेशभन्दा आफ्नो आत्माको विवेकको आदेश मान्नुभयो । उहाँ सच्चा लोकतन्त्रवादी हुनुहुन्छ । सभामुखको रूपमा निष्पक्ष भूमिका निर्वाह गरेकाले उहाँले यो क्षेत्रको विकासका लागि उत्तिकै काम गर्नुहुनेछ । मलाई विश्वास छ, अत्यधिक बहुमतले विजयको झन्डा यहीँबाट फैलिनेछ ।’

प्रचण्डले ओनसरी इमानदार, योग्य उम्मेदवार भएको बताए । सभामुखको भूमिकाबाट पनि ओनसरीबारे धेरै बुझ्न सकिने प्रचण्डको भनाइ छ । प्रचण्डले ओनसरीलाई विकासे मन्त्री बनाउने प्रतिबद्धता पनि जनाएका छन् । ‘जिताएर पठाउनुहोस्, विकासे मन्त्री बनाएर तपाईंहरूको बीचमा पठाइनेछ,’ प्रचण्डले भने । 
नेपालले काठमाडौं २ ले योग्य उम्मेदवार पाएको बताए । यही क्षेत्रका निवर्तमान सांसदसमेत रहेका नेपालले भने, ‘यसमा मलाई गौरव छ । मेरो क्षेत्रका जनताले योग्य व्यक्ति पाउनुभएको छ । संसद्को सभामुखको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्नुभएकी ओनसरी गठबन्धन दलको साझा उम्मेदवारको रूपमा आउनुभएको छ । कमिटी र कार्यकर्ताले यसलाई प्रतिष्ठाको विषय बनाउनुपर्छ । व्यक्ति र मुलुकको राजनीतिमा गठबन्धनले खेलेको भूमिकाको हिसाबले पनि गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्छ ।’

भविष्य गठबन्धनकै रहेको भन्दै नेपालले नेपालले सबै समस्या समाधान गर्न सकिने बताए । उनले भने, ‘समस्या समाधान गर्न नसकिने कुनै छैन । कानुनी अल्झन हल गर्न वर्तमानका प्रधानमन्त्री त हुँदै हुनुहुन्छ, भविष्यका प्रधानमन्त्री पनि यहीँ छन् । हामी विकास निर्माणप्रति प्रतिबद्ध छौँ । ढुक्क भएर गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्नुस् ।’कार्यक्रममा प्रतिनिधिसभा उम्मेदवार घर्ती तथा प्रदेश सभाका केसी र फुँयालले चुनावी एजेन्डा सार्वजनिक गरेका थिए । विकास, निर्माणदेखि जनजीविकासम्मका विषय चुनावी एजेन्डामा समावेश छन् ।