जनता समाजवादी पार्टी (जसपा) का चार मन्त्री बर्खास्त भएका छन् । जसपाले आगामी ४ मंसिरको निर्वाचनमा एमालेसँग चुनावी तालमेल गर्ने गरेसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाबाट सरकारमा रहेका मन्त्रीहरू हटाउने अनुमान गरिएकाे थियाे ।
बिहीबार राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै जसपाबाट सरकारमा रहेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपंछी विकासमन्त्री मृगेन्द्रकुमार सिंह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई र वातावरणमन्त्री प्रदीप यादव बर्खास्त भएको जनाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले चारवटै मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोकेकी छिन् ।