
हिमाली जिल्ला मनाङको प्रदेश सभा (ख) बाट राजीव गुरुङ उर्फ दीपक मनाङे ‘निर्विरोध' निर्वाचित भएका छन्।
स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरुङले बुधबार उम्मेदवारी फिर्ता लिएपछि मनाङे निर्विरोध भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
हाल गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्रीसमेत रहेका मनाङे दोर्जेले बुधबार १० बजेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएर आफ्नो उम्मेदवारी फिर्ता लिएपछि निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले बताए।
मनाङ प्रदेश ‘ख’ मा नेकपा एमाले र कांग्रेस दुवैले उम्मेदवारी दिएका छैनन्। मनाङेले २०७४ मा मनाङ ख मा पनि स्वतन्त्र उम्मेदवारी दिएका थिए।
०७४ मा एमालेले समर्थन गरेपछि कांग्रेसका कर्म गुरुङलाई हराएर प्रदेश सभा सदस्य चुनिएका उनी गण्डकी प्रदेशमा नेकपा एमाले र नेपाली कांग्रेस नेतृत्वको दुवै सरकारको युवा तथा खेलकुदमन्त्री बने।
मनाङको प्रदेश सभा ख सत्ता गठबन्धनको भागबन्डामा कांग्रेसकै भागमा परेको थियो। कांग्रेस मनाङका सभापति शंकर गुरुङले सबैको सहमतिमै सत्तागठबन्धनबाट मनाङेलाई समर्थन गरिएको बताए।
आफ्नै समर्थनमा जितेको र मन्त्री बनाउँदा पनि आफ्नै सरकार ढाल्ने मनाङेलाई एमालेले समर्थन गरेको एमाले मनाङका अध्यक्ष कप्ली गुरुङले बताए । मनाङे प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन २०७९ को निर्वाचनमा निर्विरोध निर्वाचित हुने पहिलो र एक मात्र उम्मेदवार बनेका छन्।