१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २५ मंगलबार
  • Wednesday, 26 June, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२o७९ असोज २५ मंगलबार o६:३२:oo
Read Time : > 4 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

नातेदार उम्मेदवार 

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o७९ असोज २५ मंगलबार o६:३२:oo

विभिन्न दलबाट दम्पतीसहित तीन दर्जनभन्दा बढी नातेदार चुनावी मैदानमा उत्रिएका छन् । उम्मेदवार छनोटमा मनोमानी भएको भन्दै हरेक दलमा असन्तुष्टि छ । नेतृत्वले भूमिका र योगदानकै आधारमा परिवारका सदस्य उम्मेदवार बनेको बताए पनि विश्लेषकहरू भने यसलाई लोकतन्त्रका लागि ‘अस्वाभाविक’ मान्छन् ।

संघ र प्रदेश सभा निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नौ नेताका दम्पती नै उम्मेदवार छन् । अरू कतिपय नेताका परिवारका दुई–तीनजना सदस्यसम्म चुनावी प्रतिस्पर्धा छन् । नेतृत्वले भूमिका र योगदानकै आधारमा एउटै परिवारबाट धेरैजना उम्मेदवार बनेको बताए पनि विश्लेषकहरूले भने यसलाई लोकतन्त्रका लागि ‘अस्वाभाविक’ मानेका छन् ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा सातौँपटक डडेल्धुरामा प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ उम्मेदवार छन् । उनकी पत्नी डा. आरजु राणा समानुपातिक खस–आर्य समूहबाट तेस्रो नम्बरमा उम्मेदवार छिन् । कांग्रेस केन्द्रीय सदस्य रहेकी उनी यसअघि पनि सांसद भइसकेकी हुन् । 

गृहमन्त्री बालकृष्ण खाणका पनि दम्पती नै उम्मेदवार छन् । खाण रुपन्देही– ३ बाट प्रत्यक्षतर्फ उम्मेदवार छन् भने पत्नी मञ्जु प्रतिनिधिसभाकै समानुपातिक सूचीमा छिन् । उनी कांग्रेस केन्द्रीय सदस्य तथा नेपाल महिला संघकी महासचिव हुन् ।

माओवादी उपमहासचिव वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्ती श्रीमान्÷श्रीमती हुन् । पुन रोल्पाबाट र घर्ती काठमाडौं– २ बाट उम्मेदवार छन् । त्यस्तै, एमाले सचिव रघुवीर महासेठदम्पती धनुषाका दुई क्षेत्रबाट प्रतिस्पर्धामा उत्रिएका छन् । महासेठ धनुषा– ४ र उनकी पत्नी जुली महतो धनुषा– ३ बाट उम्मेदवार छिन् । एमाले केन्द्रीय सदस्यसमेत रहेकी जुली पूर्वमन्त्री पनि हुन् ।

जसपाका वरिष्ठ नेता अशोक राई सुनसरी– १ बाट प्रत्यक्षमा उम्मेदवार बनेका छन् । उनकी पत्नी सुशीला श्रेष्ठको प्रतिनिधिसभाकै समानुपातिकको बन्दसूचीमा नाम छ । जेलजीवन बिताइरहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले बर्दिया– २ बाट उम्मेदवारी दिएका छन् भने पत्नी रञ्जिता श्रेष्ठ कैलाली– १ बाट चुनावी मैदानमा उत्रिएकी छिन् । श्रेष्ठ पार्टीको अध्यक्षसमेत हुन् ।

माओवादी सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल र खेलकुदमन्त्री महेश्वर गहतराजका पनि दम्पती नै उम्मेदवार छन् । पौडेल बाग्लुङ– २ बाट प्रत्यक्षतर्फ उम्मेदवार छन् उनकी पत्नी बलावती शर्मा प्रतिनिधिसभाकै समानुपातिक सूचीमा छिन् । बलावती माओवादीको पोलिटब्युरो सदस्य हुन् । गहतराज बाँके– १ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गर्दै छन् । उनकी पत्नी पार्वती गहतराजको नाम लुम्बिनी प्रदेश सभाको समानुपातिक सूचीमा छ । 

त्यस्तै, माओवादीका सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट डडेल्धुराबाट प्रदेश सभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन् । उनकी पत्नी मञ्जु बम प्रदेशमै समानुपातिक सूचीमा छिन् । भट्टलाई पार्टीले भावी मुख्यमन्त्रीको उम्मेदवारका रूपमा अगाडि सारेको चर्चा छ । 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को परिवारबाट तीनजना उम्मेदवार छन् । प्रचण्ड गोर्खा– २ बाट र बुहारी विना मगर कञ्चनपुर– १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छिन् । माओवादी केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मगर अघिल्लो निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएकी थिइन् । त्यस्तै, ज्वाइँ जीवन आचार्य मोरङ– ६ (क)बाट प्रदेश सभामा प्रतिस्पर्धा गर्दै छन् । उनी माओवादीका केन्द्रीय सदस्य हुन् । 

एमालेबाट महासचिव शंकर पोखरेल दाङ– २ बाट प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्दै छन् । उनकी बहिनी मेनका पोखरेल प्रतिनिधिसभाकै समानुपातिक उम्मेदवार छिन् । एमाले केन्द्रीय सदस्य रहेकी उनको नाम खस–आर्य समूहको पहिलो नम्बरमा छ । लोसपा अध्यक्ष महन्थ ठाकुर महोत्तरी– ३ बाट प्रतिनिधिसभामा प्रत्यक्षका उम्मेदवार छन् । उनकी छोरी मीनाक्षी ठाकुर प्रतिनिधिसभाकै समानुपातिक उम्मेदवार छिन् । 

एमाले उपाध्यक्ष सुवास नेम्वाङ र पोलिटब्युरो सदस्य वसन्त नेम्वाङ पनि नातामा दाजुभाइ हुन् । वसन्त सुवासका काकाका छोरा हुन् । सुवास इलाम– २ बाट र वसन्त पाँचथरबाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार छन् । 

कांग्रेसभित्र कोइराला परिवारको बिरासत धान्दै तीनजना उम्मेदवार बनेका छन् । नेता शेखर कोइराला मोरङ– ६ बाट प्रतिस्पर्धा गर्दै छन् । उनी बिपी कोइरालाका जेठा दाइ केशवका छोरा हुन् । बिपीपुत्र शशांक नवलपुरबाट उम्मेदवार छन् । बिपीका कान्छा भाइ गिरिजापुत्री सुजाता मोरङ– २ बाट भिड्दै छिन् । एउटै परिवारका तीन सदस्य दाजु, भाइ र बहिनी हुन् । शेखर दाइ, शशांक भाइ र सुजाता दुवैकी बहिनी हुन् । शेखर अघिल्लोपटक पराजित भएका थिए भने शशांक विजयी । तीनैजना पार्टीको केन्द्रीय सदस्य छन् । 

पाण्डे दाजुभाइ फरक पार्टीबाट उम्मेदवार

एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे र एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे सहोदर धदाजुभाइ हुन् । सुरेन्द्र चितवन– १ बाट र राजेन्द्र धादिङ– १ बाट उम्मेदवार छन् । दुवै दाजुभाइ तीसको दशकदेखि राजनीतिमा छन् । माओवादी उपमहासचिव शक्ति बस्नेत जाजरकोटबाट र अर्थमन्त्री जनार्दन शर्मा पश्चिम रुकुमबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । बस्नेतकी बहिनी ज्ञानु र शर्माकी बहिनी नारायणी प्रतिनिधिसभातर्फकै समानुपातिकतर्फका उम्मेदवार हुन् । 

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराई काठमाडौं– ७ मा प्रत्यक्षतर्फ उम्मेदवार छिन् । मानुषीकी काकी दुर्गा भट्टराई न्यौपाने प्रतिनिधिसभाकै समानुपातिक सूचीमा छिन् । माओवादी केन्द्रसँग भट्टराईले नेतृत्व गरेको पार्टी नेपाल समाजवादी पार्टीले हँसिया–हथौडा चिह्नबाट उम्मेदवारी दिने सहमतिअनुसार दुवैजना उम्मेदवार बनेका छन् । 

दलहरूका नेतृत्वको उम्मेदवार छनोटको शैलीले दक्षिण एसियाली अन्य मुलुकमा जस्तै नेपालमा पनि वंशवादको राजनीति हाबी हुँदै गएको संकेत गरेको छ । यद्यपि, ०४६ को जनआन्दोलनपछि नेपाली राजनीतिमा परिवारवादको प्रभाव देखिन थालेको हो । 

राजनीतिक विश्लेषक कृष्ण खनालले टिकट वितरणमा नेतृत्वले गरेको मनोमानीले राजनीतिक विकृतिलाई प्रश्रय दिएको बताए । ‘लोकतन्त्रमा राजनीति भनेको सार्वजनिक जिम्मेवारी हो । यो कुनै व्यक्तिले निजी कम्पनी चलाएजस्तो होइन । त्यसैले राजनीतिमा लागेको छु भन्दैमा सबैजना लाग्ने र सबैले अवसर लिने सरासर गलत छ,’ उनले भने, ‘अब हामीले परिवारका एकजनाबाहेकले राजनीतिमा अवसर नपाउने संस्कार विकास गरेर यस्तो विकृति रोक्नुपर्छ ।’ 

नाताका अन्य उम्मेदवार

- माओवादी अध्यक्ष प्रचण्ड गोरखा– २ बाट, बुहारी बिना मगर कञ्चनपुर– १ बाट र कान्छा ज्वाइँ जीवन आचार्य मोरङ– ६ को (क)बाट उम्मेदवार

- एमाले महासचिव शंकर पोखरेल दाङ– २ बाट उम्मेदवार छन् भने बहिनी मेनका पोखरेल समानुपातिक उम्मेदवारको पहिलो नम्बरमा 

- लोसपाका अध्यक्ष महन्थ ठाकुर महोत्तरी– ३ बाट प्रत्यक्षतर्फ र छोरी मीनाक्षी प्रतिनिधिसभामै समानुपातिक उम्मेदवार छिन् ।

- इलाम– २ बाट उम्मेदवार बनेका एमाले उपाध्यक्ष सुवास नेम्वाङ र पाँचथरबाट प्रतिनिधिसभा उम्मेदवार वसन्त नेम्वाङ (काकाका छोरा) दाजुभाइ हुन् । 

- कांग्रेसमा कोइराला परिवारबाट तीन दाजुभाइ–बहिनी प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार छन् । बिपीपुत्र शशांक नवलपुरबाट, बिपीका दाजु केशवका छोरा शेखर मोरङ– ६ बाट र गिरिजाप्रसादकी छोरी सुजाता मोरङ– २ बाट प्रतिस्पर्धामा उत्रिएका छन् ।

- माओवादी उपमहासचिव शक्ति बस्नेत जाजरकोटबाट र अर्थमन्त्री जनार्दन शर्मा पश्चिम रुकुमबाट प्रतिनिधिसभामा उम्मेदवार छन् । बस्नेतकी बहिनी ज्ञानु र शर्माकी बहिनी नारायणी प्रतिनिधिसभाकै समानुपातिक सूचीमा छन् । 

आफन्तले अवसर पाउने संस्कृति लोकतन्त्रप्रति उत्तरदायी छैन : कृष्ण खनाल, राजनीतिशास्त्रका प्राध्यापक

नातागोताले टिकटमा अवसर पाएको देख्दा अरू कुनै काम नपाएको, तर राजनीति मात्र जानेकाले हो कि जस्तो देखिन्छ । खासगरी पहिले विद्यार्थी आन्दोलनमा, भूमिगत कालमा लागेकाबीच बिहेवारी भयो, दाजुभाइ परिवारै राजनीतिमा लागे । अहिलेसम्म पनि राजनीतिमा त्यही निरन्तरता देख्न पाइन्छ । तर, ती सबैले लगातार अवसर पाइरहनु राम्रो होइन । हामी अहिले जुन समाजमा छौँ, यसभित्र हरेक व्यक्तिको राजनीतिभित्र मात्र होइन, अन्य क्षेत्र र परिवारभित्रै पनि थुप्रै जिम्मेवारी हुन्छन् । तर, लगातार टिकट लिने, अवसर लिनेहरू राजनीतिक क्षेत्रका अन्य जिम्मेवारी र पारिवारिक दायित्वप्रति अनुत्तरदायी देखिएका छन् ।

लोकतन्त्रमा राजनीति भनेको सार्वजनिक जिम्मेवारी हो । यो कुनै व्यक्तिले निजी कम्पनी चलाएजस्तो होइन । त्यसैले राजनीतिमा लागेको छु भन्दैमा सबैजना लाग्ने र सबैले अवसर लिने सरासर गलत छ । अब हामीले परिवारका एकजनाबाहेकले राजनीतिमा अवसर नपाउने संस्कार विकास गरेर यस्तो विकृति रोक्नुपर्छ । बहुदल आएपछि ०४८ र त्यसपछिको केही आमनिर्वाचनमा पतिपत्नी, दाजुभाइ, दिदीबहिनी नातागोता निर्वाचित भएर आए । यद्यपि, सुरुमा कांग्रेसमा परिवारका सबैले अवसर लिने प्रवृत्ति धेरै कम थियो । ०६४ को आमनिर्वाचनमा माओवादीबाट आफन्त, नातागोता धेरै निर्वाचित भए । 

शेरबहादुर देउवाले श्रीमती आरजुलाई त्यसयता सांसदको अवसरका लागि कहिल्यै छुटाउनुभएन । आफन्तलाई यसरी प्रश्रय दिने संस्कारले राज्यको स्रोतको दुरुपयोग गर्छ । श्रीमान् प्रधानमन्त्री, श्रीमती सांसद, आफन्तले अवसर पाउने संस्कृति लोकतन्त्रप्रति उत्तरदायी छैन । 

यस्ता विषयमा सञ्चारमाध्यम र केही सीमित बुद्धिजीवीबाहेक पार्टीभित्र र बाहिर कसैले खासै प्रश्न उठाउँदैन । त्यसैले अहिले पार्टीहरूभित्र दास प्रवृत्ति हुर्किँदै गएको छ । जसले प्रश्न उठायो, ऊ नेतृत्वबाट फ्याँकिन्छ । एक–दुईपटक जिम्मेवारी र भूमिकाले अवसर लिने हुन पनि सक्छ, तर निरन्तर आफन्तलाई अवसर दिने काम बन्द गर्ने वेला भएको छ । अन्यथा बिस्तारै इमानदार मान्छे राजनीतिबाट पाखा लाग्छन् । रोकिएन भने कि राजनीति ढोंगमा जान्छ, कि इमानदार मान्छे बाहिरै पर्ने अवस्था आउन सक्छ । 
 

ad
ad
ad
ad