
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
सञ्चारकर्म छाडेर ‘वैकल्पिक राजनीतिक शक्ति’ निर्माणमा होमिएका मिश्र विवेकशील साझा पार्टी छाडेर बुधबाट मात्र राप्रपा प्रवेश गरेका हुन्। शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच उनले उम्मेदवारी घोषणा गरेका हुन्।
उम्मेदवारी घाेषणा कार्यक्रममा उनले आगामी निर्वाचनमा आफूले राजसंस्था पुनर्स्थापना गर्ने एजेन्डालाई लिएर मतदातासमक्ष जाने प्रस्ट पारे। आफू राजसंस्थावादी, गणतन्त्रवादी र धर्मनिरपेक्षतावादी नभएको उल्लेख गर्दै उनले संविधानले बाँधेर राखेको राजसंस्था पुनर्स्थापित हुनुपर्ने बताए।
‘म गणतन्त्रवादी होइन, राजसंस्थावादी पनि होइन । म धर्मनिरपेक्षतावादी पनि होइन। म नेपालवादी हुँ,’ उनले भने। वरिष्ठ उपाध्यक्ष मिश्रले १५ वर्षसम्म जनताको पक्षमा काम नगरेका प्रकाशमान सिंहलाई काठमाडौं क्षेत्र नम्बर १ का जनताले पुनः विजयी गराउन नमिल्ने धारणा राखे।