मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असोज १४ शुक्रबार
  • Tuesday, 18 August, 2026
२o७९ असोज १४ शुक्रबार १२:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मेयर साम्पाङले धारणा राख्न रोकेपछि कार्यपालिका सदस्यहरूद्वारा बैठक बहिष्कार

मेयर साम्पाङ भन्छन्-अब उपमहानगर तोक आदेशले चल्छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज १४ शुक्रबार १२:१८:oo

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले बिहीबार बसेको कार्यपालिका बैठकमा एजेन्डामाथि राय राख्दै गरेका कार्यपालिका सदस्यलाई बाहिर निस्कन निर्देशन दिएपछि बैठक बिथोलिएको छ।

सौहर्दपूर्ण बैठकमा आठौँ नम्बरको एजेन्डा ‘धरान–१७ मा रहेको सप्तरंगी पार्कलाई बहुसांस्कृतिक पार्क बनाउने’ विषयमा छलफल अघि बढिरहेको थियो। कार्यपालिका सदस्य अनुप देवानले आफ्नो धारणा राख्दै गर्दा मेयर साम्पाङले रोकेपछि बैठक बिथोलिएको हो। देवानले बहुजातीय संग्रहालय धरान– १४ मा बन्दै गरेको अवस्थामा रहेकाले त्यसलाई सफल बनाउनुपर्ने र अहिले सप्तरंगी पार्कलाई बहुसांस्कृतिक पार्क बनाउन आवश्यक नरहेको धारणा राखेका थिए।

उनले अन्य सदस्यहरूलाई पनि यस विषयमा बोल्न अनुरोध गरेपछि मेयर साम्पाङले ‘भोट माग्ने काम’ नगर्न निर्देशन दिए। देवानले आफ्नो धारणा राख्ने काम नरोकेपछि साम्पाङले हुकुमी शैलीमा ‘बाहिर जानू’ भनेपछि बैठकमा आफ्नो धारणा राख्न नपाएकोमा आपत्ति जनाउँदै कार्यपालिका सदस्यहरू बैठकस्थल छाडेर बाहिर निस्किएका थिए।

बैठकमा कार्यपालिका सदस्यलाई हुकुमी शैलीमा धारणा राख्न रोकेर मेयरले अपमान गरेकाले आफूहरूले बैठक बहिष्कार गरेको धरान उपमहानगरका प्रवक्ता एवं १७ नम्बर वडाध्यक्ष मनोज भट्टराईले बताए। मेयरले सार्वजनिक रूपमा माफी नमागेसम्म अर्को कार्यपालिका बैठकमा उपस्थिति नजनाउने कार्यपालिका सदस्यहरूले अडान लिएका छन्।

सदस्यहरूले कार्यपालिका बैठक बहिष्कार गरेर बाहिरिएपछि अबका दिनमा एकल निर्णय गरेर अघि बढ्ने मेयर साम्पाङले सार्वजनिक घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत अब उपमहानगर तोकआदेशमा चल्ने बताएका छन्। ‘आइन्दा एकल निर्णय गरेर बढ्नेछु। झ्याँसझुसमा अल्झेर हुँदैन मैले। तोकआदेश जिन्दावाद,’ मेयर साम्पाङले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेका छन्।