१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ असोज १४ शुक्रबार ०८:४१:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पोखरा महानगरमा पनि भूमिगत तला खाली गराउन सुरु

Read Time : > 1 मिनेट
२०७९ असोज १४ शुक्रबार ०८:४१:००

पोखरा महानगरपालिका क्षेत्रमा पार्किङ प्रयोजनका लागि नक्सा स्वीकृत गरिएका घरहरूको भूमिगत तला खाली गराउन सुरु गरिएको छ । बुधबार पोखरा–८, सिर्जनाचोकस्थित आफ्नो स्वामित्वमा रहेको भवनको भूमिगत तला पार्किङ प्रयोजनका लागि खुला गर्दै सुरु भएको हो ।गत असारमा सम्पन्न महानगरको कार्यपालिका बैठकले पार्किङ प्रयोजनका लागि नक्सा स्वीकृत गरेको, तर अन्य प्रयोजनमा प्रयोग गरेका घरधनीलाई भूमिगत तलालाई पार्किङका रूपमा प्रयोग गर्न लगाउने निर्णय गरेको थियो । 

कार्यपालिकाको निर्णयपछि १३ भदौमा महानगरले ३५ दिने सार्वजनिक सूचनामार्फत भूमिगत तलालाई पार्किङका रूपमा प्रयोगमा ल्याउन आग्रह गरेको छ । महानगरले सूचना दिएको ३५ दिनको समय नपुग्दै आफ्नो भूमिगत पार्किङ खाली अभियानको सुरु गरेको हो । महानगर प्रमुख धनराज आचार्यले यो एउटा शुभारम्भ रहेको बताए ।  

 दुई सय ५० घर रहेको अनुमान 
 महानगरका मेयर आचार्यका अनुसार भूमिगत तलालाई पार्किङका रूपमा प्रयोग गर्ने भनी नक्सा पास गरेका घरहरूको संख्या दुई सय ५० को हाराहारीमा रहेको छ । विशेष गरी पोखराको व्यस्त बजार एवं मुख्य चोकहरूमा यस्ता घरहरू बढी छन् । भूमिगत तलालाई पार्किङ प्रयोजनामा लगाउने भनी नक्सा पास गर्दा महानगरले राजस्वमा ५० प्रतिशत छुटसमेत दिएको थियो ।घर निर्माणपछि अधिकांश घरधनीले भूमिगत तलालाई कपडा पसल, दोहोरीसाँझ, मोबाइल पसल, होटेल, रेस्टुरेन्ट, मोटरसाइकल ग्यारेज, टेलरिङलगायतका व्यवसाय सञ्चालनका लागि भाडामा दिएका छन् ।

दुई वर्षअघि समेत भूमिगत तला खाली गराउने निर्णय महानगरले गरे पनि कार्यान्वयन भने नगरेको, तर यसपटक कार्यान्वयन गरेर पार्किङका लागि प्रयोगमा ल्याउने मेयर आचार्यले बताए । हामीले हाल ३५ दिनमा खाली गर्ने भनेका छौँ, तर एक–दुई स्थानमा व्यवहारिकता हेरी केही दिन थप गर्न सक्ने भनाइ उनको छ । 
हाल महानगरको मुख्य चोकमा निर्माण हुने घरहरूले पार्किङका लागि भूमिगत तला बनाउनैपर्ने व्यवस्था गरिएको छ । पार्किङका लागि भूमिगत तला नबनाउने घरको नक्सा पास नहुने मेयर आचार्यले जानकारी दिए । 

चारपांग्रे सवारीका लागि हाल पोखराका मुख्य स्थान महेन्द्रपुल, चिप्लेढुंगा, न्युरोड, नयाँबजार, पृथ्वीचोक, लेकसाइडमा पार्किङका लागि धेरै समस्या रहेको छ । नगरका मुख्य क्षेत्रहरूमा बढ्दै गएको सवारी जामलाई कम गर्न यसले सहयोग पुग्ने आशा महानगरको रहेको छ ।हाल भूमिगत तला अन्य प्रयोजनमा लगाउने घरहरूको संख्या महेन्द्रपुल, चिप्लेढुंगा नयाँबजार र न्युरोड क्षेत्रमा बढी छ । पर्यटकीय क्षेत्र लेकसाइडमा समेत भूमिगत तला भएका घरहरू रहे पनि केही घरबाहेक अधिकांशले भने पार्किङ प्रयोजनकै लागि प्रयोग गरेका छन् ।