मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज १४ शुक्रबार ०८:१५:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

कुशलले पाकिस्तान जुनियर लिग खेल्दै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज १४ शुक्रबार ०८:१५:००

नेपाली राष्ट्रिय पुरुष टोलीका अलराउन्डर कुशल मल्लले पाकिस्तान जुनियर क्रिकेट लिग (पिजेसिएल)मा सहभागी जनाउने भएका छन् । जुनियर लिग खेल्न कुशल बिहीबार पाकिस्तान प्रस्थान गरेका छन् । पिजेसिएलमा आबद्ध ग्वादार सार्कले कुशललाई ड्राफबाट छैटौँ चरणमा आबद्ध गरेको हो । पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले विश्वभरिका जुनियर खेलाडीहरूलाई एक्सपोजर गर्न जुनियर क्रिकेट लिग प्रतियोगिता आयोजना गरेको हो । कुशल आबद्ध ग्वादारको कप्तानी साम्यल हुसेनले गर्नेछन् । ग्वादारले कुशललाई कति रकममा भित्र्याएको भन्ने उल्लेख गरेको छैन । 

ग्वादारले बिहीबार सार्वजनिक गरेको खेलाडीको सूचीमा नेपालका कुशललाई १५औँ खेलाडीका रूपमा समावेश गरेको छ । प्रतियोगिता ६ देखि २१ अक्टोबरसम्म हुनेछ । प्रतियोगिताको फाइनल खेल लाहोर रंगशालामा हुनेछ । कुशल आबद्ध ग्वादारले आफ्नो पहिलो खेलमा रावलपिन्डी राइडर्सको सामना गर्नेछ । पिसिबीका अनुसार प्रतियोगितामा धेरैजसो खेलाडी आइसिसी विश्वका यू–१९ टोलीमा आबद्ध छन् ।

ग्वादार टोलीका कप्तान हुसेन १७ वर्षीय बायाँहाते ब्याट्सम्यान हुन् । उनले अहिलेसम्म पाकिस्तानको उमेर समूहमा स्थान बनाएका छैनन् । तर, इस्लामावादको टोलीबाट हुसेनले उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् । ग्वादारमा तीनजना अलराउन्डर खेलाडी छन् । यस टोलीमा एकजना मात्र स्पिनरका रूपमा मोमिन क्वमार रहेका छन् ।

सन् २०१९ मा टी–२० मा डेब्यु
नेपाली राष्ट्रिय टोलीका भरपर्दा खेलाडी १८ वर्षीय कुशलले आठ एकदिवसीय तथा १५ अन्तर्राष्ट्रिय टी–२० खेल खेलेका छन् । कुशलले सन् २०२० को ८ फेबु्रअरीमा अमेरिकाविरुद्ध एकदिवसीय खेलमा डेब्यु गरेका थिए । उनले अन्तिमपटक राष्ट्रिय टोलीबाट अमेरिकाविरुद्ध नै खेलेका थिए । कुशलले आफ्नो डेब्यु एकदिवसीय खेलमै अर्धशतकीय इनिङ्स खेल्न सफल भए । एकदिवसीय इतिहासमा कम उमेर खेलाडीका रूपमा डेब्यु खेलमै अर्धशतकको विश्व रेकर्ड कुशलले बनाएका छन् । उनले अमेरिकाविरुद्ध ५९ रन जोड्न ७९ बलमा ६ चौका र एक छक्का प्रहार गरेका थिए । 

आफ्नो डेब्यु एकदिवसीय खेलमा उनले १० ओभरमा एक मेडनसहित ३० रन खर्चेर एक विकेट हात पारेका थिए । कुशलले आठ एकदिवसीय खेलमा सात इनिङ्स खेल्दै ८५ रन बनाएका छन् । उनले सन् २०१९ मा जिम्बावेविरुद्ध अन्तर्राष्ट्रिय टी–२० खेलमा डेब्यु गरेका थिए । सन् २०२२ को मार्चमा उनले अन्तिमपटक मलेसियाविरुद्ध टी–२० खेलमा सहभागिता जनाए । उनले १५ अन्तर्राष्ट्रिय टी–२० खेलमा चारपटक नटआउट रही एक सय ८३ रन जोडेका छन् । उनले एकपटक अर्धशतक बनाए । कुशलले कम उमेरमा एकदिवसीय अन्तर्राष्ट्रियमा अर्धशतकको कीर्तिमानसमेत बनाएका थिए । 

यू–१९ क्रिकेटर मात्र सहभागी
पिसिबीका अध्यक्ष रमिज हसन राजाले पाकिस्तानमा आयोजना हुन लागेको जुनियर लिग रोमाञ्चक हुने जनाएका छन् । ‘युवा खेलाडी तथा समर्थकले यस लिगमा धेरै रोमाञ्चकता प्राप्त गर्ने विश्वास लिएको छु,’ पिसिबीका अध्यक्ष राजाले एजेन्सीलाई भने, ‘हामीले पहिलोपटक लिगलाई ड्राफ्टका मध्यमबाट विश्वभरिका युवा खेलाडीलाई जमघट गराउन सफल भएका छौँ ।’ गत अप्रिलमा राजाले जुनियर क्रिकेट लिगको अवधारणा सार्वजनिक गरेका थिए ।