मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असोज १४ शुक्रबार
  • Monday, 14 July, 2025
२o७९ असोज १४ शुक्रबार o८:o९:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भारतको रुपैडिहामा दैनिक दुई करोडको कारोबार : नेपालगन्जमा ८० प्रतिशत व्यापार घट्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज १४ शुक्रबार o८:o९:oo

राप्तीसोनारी गाउँपालिका–२, मदुईकी शान्ति डाँगी बडादसैँका लागि लुगा, मसलाजन्य वस्तु, तरकारी, चिनीलगायत सामान भारतको रुपैडिहा बजारबाट ल्याइन् । दैनिक प्रयोगमा आउने अधिकांश सामान नेपालगन्जभन्दा सस्तो पर्ने भएकाले रुपैडिहा जाने गरेको उनले बताइन् । ‘साडी, सुट, धोती र दैनिक उपभोग्य सामान नेपालगन्जभन्दा आधा सस्तो पाइन्छ,’ उनले भनिन्, ‘एकपटकमा धेरै सामान किनेर लैजाने हो भने रकममा धेरै अन्तर पर्छ ।’

वैजनाथ गाउँपालिका–१, च्यामाकी विनिता चौधरी पनि बुधबार सीमावर्ती बजार रुपैडिहामा भेटिइन् । दसैँका लागि साडी, कुर्ता, सल्वार किनेकी उनले चिनी, मसला, तरकारी किन्न बाँकी रहेको बताइन् । उनले भनिन्, ‘साडी, कुर्ता, सल्वार, चिनी, मसलाजन्य वस्तु किन्नुपरे सीधै रुपैडिहा आउँछु । किन्दा सस्तो पर्छ । भन्सार शुल्क लाग्दैन । नेपालगन्जको भन्दा मूल्यमा धेरै अन्तर हुन्छ ।’

दसैँ भित्रिएसँगै भारतीय सीमाबजार रुपैडिहामा किनमेल गर्ने नेपालीको भिड लाग्ने गरेको छ । दैनिक तीन–चार हजार नेपाली किनमेलका लागि रुपैडिहा जाने गरेको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षक माधवप्रसाद रिजालले बताए । उनले दसैँ सुरु भएदेखि रुपैडिहा जाने नेपालीको भिड लाग्ने गरेको बताए । ‘बिहानदेखि बेलुकासम्म किनमेलका लागि रुपैडिहा जानेको भिड लाग्छ । किनमेल गरेर फर्किने नेपालीलाई जाँच गर्न भ्याइनभ्याई हुन्छ,’ उनले भने । 

रुपैडिहास्थित मित्तल कपडा पसलका प्रोप्राइटर रमाशंकर जयसवालले दैनिक दुई–तीन लाख रुपैयाँको कारोबार हुने गरेको बताए । उनले तिजअघिदेखि किनमेलका लागि आउने नेपालीको संख्या बढेको बताए । ‘कृष्णजन्माष्टमीदेखि कारोबार बढेको हो, तर दसैँ सुरु भएपछि कारोबार ह्वात्तै बढेको छ,’ उनले भने । रुपैडिहामा दैनिक कम्तीमा दुई करोड रुपैयाँबराबरको कारोबार हुने गरेको व्यापार संघ रुपैडिहाका सदस्य सन्तोष शुक्लले बताए । किनमेल गर्नेमध्ये अधिकांश नेपाली भएको उनले बताए । ‘रुपैडिहाआसपासका केही भारतीय आए पनि यहाँ किनमेल गर्ने अधिकांश नेपाली नै हुन्छन्,’ उनले भने ।

तर, नेपाली बजार नेपालगन्जमा भने ८० प्रतिशत व्यापार घटेको स्थानीय व्यापारीले बताए । नेपालगन्ज उद्योग वाणिज्य संघका प्रवक्ता टंक धामीले दसैँ आए पनि नेपालगन्जमा किनमेल गर्नेहरू नभएको बताए । ‘नेपालगन्ज सुनसान छ । दसैँ आए पनि ग्राहक नआउँदा दसैँजस्तो महसुस भएको छैन । यस्तो सुनसान अहिलेसम्म देखेको थिएन,’ उनले भने । उनी रेडिमेड कपडाका थोक विक्रेतासमेत हुन् ।