मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असोज १० सोमबार
  • Friday, 11 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज १० सोमबार १o:१२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बजार अनुगमन प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज १० सोमबार १o:१२:oo

 नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले बजार अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । आइतबार वाणिज्य आपूर्ति मन्त्रीसहित चार मन्त्री र सचिवसहितको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले चाडपर्वको समयमा बजारमा हुन सक्ने अवाञ्छित गतिविधितर्फ सचेत रहँदै आ–आफ्नो क्षेत्राधिकारअनुसार बजार अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिएका हुन् । देउवाले बजार अनुगमनलाई लक्षित गर्दै १२ बुँदे निर्देशनसमेत दिएका छन् ।

बजारमा कृत्रिम रूपमा हुने मूल्यवृद्धिलाई नियमन र नियन्त्रण गर्न, अत्यावश्यक उपभोग्य वस्तुको अभाव हुन नदिन तथा उपभोग्य वस्तुहरूमा जथाभावी मिसावट हुन नदिई खाद्य वस्तुहरूको गुणस्तर कायम राख्न जिल्ला प्रशासन कार्यालयहरू, वाणिज्य विभाग र यसअन्तर्गतका निकायलाई निर्देशन दिएका हुन् ।छलफलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले बजार अनुगमनको विद्यमान अवस्थाका बारेमा जानकारी दिनुहुँदै आफूमातहत सबै निकायलाई प्रभावकारी बजार अनुगमनका लागि निर्देशन दिएको बताए । साथै, मन्त्री बडूले अन्तरमन्त्रालय समन्वय गरी अनुगमन कार्यलाई थप प्रभावकारी बनाउन लाग्नुपर्ने बताए ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू, अर्थमन्त्री जनार्दन शर्मा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङ, प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, गृहसचिव विनोद सिंह, अर्थसचिव कृष्णहरि पुष्कर कर्ण, उद्योगसचिव तोयानारायण ज्ञवाली, वाणिज्य तथा आपूर्तिसचिव तोयम राया, काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक महेश भट्टराईलगायतको उपस्थिति रहेको थियो । नेपाल गुणस्तर तथा नापतौल विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, प्रदेश तथा स्थानीय सरकारहरू सबैले आ–आफ्नो क्षेत्रमा अनुगमन र सुपरिवेक्षणलाई बढाउनुपर्ने जारी निर्देशनमा भनिएको छ ।