
आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा खटिने म्यादी प्रहरीको छनोट सुरु भएको छ। केन्द्रीय सुरक्षा समितिले निर्वाचनमा एक लाख १५ हजार म्यादी प्रहरी परिचालन गर्ने तयारी गरेसँगै छनोट प्रारम्भ भएको हो।
समितिले भदौ ३० देखि असोज ६ सम्म आवेदन, भदौ ७ मा सम्पर्क मिति, असोज ९ देखि १४ सम्म छनोट गरेर असोज २५ मा नतिजा प्रकाशन गर्ने गरी कार्यतालिका बनाएको छ। छनोट भएका म्यादीलाई असोज २७ र २८ मा नियुक्तिपत्र दिइने र असोज ३० बाट कात्तिक ८ सम्म तालिम सम्पन्न गरी त्यसको भोलिपल्टबाट प्रहरीको नेतृत्वमा सुरक्षा ड्युटीमा खटाइनेछ। उनीहरूलाई निर्वाचन सकिएको चार दिनपछि मंसिर ८ मा प्रमाणपत्र दिएर बिदाइ गर्ने तालिका तय भएको छ।