बाबुरामसँगको सहकार्य चुनावसम्म मात्र होइन : प्रचण्ड

शनिबार, ८ असोज, २०७९
डिजिटल संस्करण

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाबुराम भट्टराईसँगको सहकार्य चुनावसम्मका लागि मात्रै नभएको बताएका छन्। जनयुद्ध गर्ने, नयाँ संविधान बनाउने र मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने नेतृत्वको टिम हुनुको नाताले पनि भट्टराईसँगको सहकार्य धेरै लामो हुने बताए।

नेपाल समाजवादी पार्टीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले आफूहरू एक्लाएक्लै हिँड्दा केही वर्षयता सफलता हात नपरेको उल्लेख गरे। अब मुलुकमा फेरि समृद्धि, विकास र समाजवादको नयाँ मोडल तयार पार्ने संकल्पसहित आफूहरू सहकार्यमा आएको उनले स्पष्ट पारे।

‘चुनावमा त हामी आ–आफ्नो पार्टी भन्दै तर एउटै चुनाव चिह्नबाट जाने निर्णय यो चुनावका लागि मात्रै गरिएको होइन। तपाईंहरूलाई के नलागोस् भने यो दुइटा बसेर चुनावका लागि मात्रै गरे। तर, यसको लागि मात्रै गरिएको छैन। त्योभन्दा धेरै माथि उठ्न बल गरेका छौँ हामीले,’ उनले भने।

अध्यक्ष प्रचण्डले मुलुकको समृद्धिको नयाँ समाजवादी मोडल बनाएर मात्रै आफूहरूले मर्न चाहेको उल्लेख गर्दै त्यो संकल्प पूरा गर्ने काममा साथ दिन पनि नेपाली जनतालाई आह्वान गरे।

सुझावित समाचार