मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
अनिल यादव काठमाडाैं
२०७९ असोज ८ शनिबार ०९:२०:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एमालेसँग तालमेल गर्न लोसपाले बनायो वार्ता समिति

Read Time : > 3 मिनेट
अनिल यादव, काठमाडाैं
२०७९ असोज ८ शनिबार ०९:२०:००

एमालेसँग चुनावी तालमेल गर्न लोसपाले राजेन्द्र महतोको नेतृत्वमा ६ सदस्यीय वार्ता समिति बनाएको छ । शुक्रबार गठित समितिमा शरत्सिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण र जितेन्द्र सोनल सदस्य छन् । लोसपा वरिष्ठ नेता महतोले अनौपचारिक छलफल र सहमतिलाई औपचारिक स्वरूप दिन वार्ता समिति गठन गरिएको बताए । ‘अनौपचारिक रूपमा एमालेसँग छलफल भइरहेको थियो । अब यसलाई औपचारिक रूप दिन बाँकी छ,’ उनले भने, ‘विशेषगरी तालमेल मधेस प्रदेशमै हुने हो । कसले कति सिट लिने, अबको समितिले त्यसमै केन्द्रित भएर सहमति जुटाउने हो ।’

उनले दुई दिनपछि यसबारे वार्ता गर्ने तयारी रहेको बताए । ‘अहिले म चुनावी सिलसिलामा मधेस प्रदेशमा आएको छु । दुई दिनपछि फर्किन्छु । अनि वार्ता हुन्छ,’ उनले भने । लोसपाले एमालेसँग तालमेलका लागि कम्तीमा २० सिट दाबी गरिरहेको छ । महतोले यसबारे खुलाउन चाहेनन् । ‘जितेको ठाउँ हामीले पाउनुपर्छ भन्नु स्वाभाविक भइहाल्यो । तर, कसले कति सिट लिने, त्यो त वार्ता पछि नै खुलाउनेछौँ,’ उनले भने । 

एमाले र लोसपाबीच तालमेल गृहकार्यका लागि करिब दुई सातादेखि संवाद सुरु भएका थिए । गत २३ भदौमा एमाले अध्यक्ष केपी ओली र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच तालेमलबारे भेटघाट भएको थियो । पार्टीका शीर्ष नेताको बैठकमा एमालेसँग तालमेलबारे संवाद भइरहेको जानकारी गराएर ठाकुर ओली भेट्न बालकोट पुगेका थिए । 

भेटघाटको भोलिपल्टै शुक्रबार तालमेलका लागि वार्ता गर्न एमालेबाट विष्णु पौडेल र लोसपाबाट सर्वेन्द्रनाथ शुक्ललाई जिम्मेवारी सुम्पिएको थियो । तर, ती दुई नेताबीच ठोस संवाद हुन सकेन । ‘प्राविधिक कारणले उहाँहरूबीच वार्ता हुन सकेको थिएन,’ लोसपा नेता केशव झाले भने । 

जसपासँग अलग्गिएपछि मधेसमा कमजोर महसुस गरिरहेको लोसपा सुरुदेखि नै चुनावी गठबन्धनको पक्षमा छ । तर, एमालेसँग संवाद गर्नुअघि उसले पाँचदलीय गठबन्धनसँग जोडिने प्रयत्न गरिरहेको थियो । वार्ता गर्न लोसपा अध्यक्ष महन्थ ठाकुरसहित राजेन्द्र महतो, शरत्सिंह भण्डारीलगायत नेता प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार नै पुगेका थिए । 

०७४ को निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (हाल लोसपा)ले सप्तरी ३, धनुषा ३, महोत्तरी २ र ३, रौतहट १, बारा ४, पर्सा २ र ४ र कैलाली १ जितेको थियो । यसबाहेक धनुषा २ बाट जितेका तत्कालीन संघीय समाजवादी फोरमका उमाशंकर अरगरिया पनि शुक्रबारसम्म लोसपामै थिए । तर, लोसपामा प्रमुख सचेतक रहेका उनले पार्टी छाड्ने घोषणा गरिसकेका छन् । उनलाई आज नै (शनिबार) जनकपुरमा ओलीले पार्टी प्रवेश गराउने कार्यक्रम छ । 

त्यसैले अब लोसपाले जितेको निर्वाचन क्षेत्र जोड्दा नौ मात्रै पुग्छ । त्यसबाहेक अघिल्लोपटक थोरै मतान्तरले हारेको क्षेत्र सप्तरी ४ र सर्लाही २ पनि उसको दाबी छ । अहिले आफ्नो जनाधार राम्रो रहेको भन्दै सर्लाही २ र ४, बारा १, पर्सा १, रुपन्देही ३ र ४, कपिलवस्तु १ र ३, सुनसरी ४, मोरङ १, ५ र ६ मा पनि लोसपाले दाबी प्रस्तुत गरेको छ ।

दुईपटक संसद्बाट पारित भइसकेको नागरिकता विधेयक पनि राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेपछि लोसपाभित्रै एमालेसँग तालमेलका विषयमा फरक मत छ । एकथरी विधेयकको विषयलाई पर राखेर भए पनि चुनावी तालमेल गर्नुपर्छ भन्ने पक्षमा छन् भने अर्कोथरीले एमाले नसच्चिएसम्म नैतिक रूपमा गर्न मिल्दैन भन्ने आवाज उठाइरहेका छन् । 

पार्टीभित्र फरक सिद्धान्तको दलसँग तालमेल गर्नु नहुने पक्षमा आवाज उठाइरहेको लोसपा नेता सुरेन्द्र झा स्विकार्छन् । ‘एमालेले नागरिकता विधेयकको सन्दर्भमा आफू सत्तामा हुँदा र सत्ताबाहिर हुँदा जसरी दोहोरो चरित्र देखायो, त्यो आपत्तिजनक छ । त्यसैले यो विषयमा एमाले सच्चिनुपर्छ । नसच्चिएसम्म तालमेल गर्न हुँदैन भन्ने हो,’ उनले भने ।  तर, वरिष्ठ नेता महतो अहिले हुने तालमेललाई नीतिगतभन्दा पनि चुनावी मात्रै बुझ्नुपर्ने बताउँछन् । ‘नागरिकताको सवालमा सबैले धोका दिएकै हुन्,’ उनले भने, ‘तर, तालमेललाई त्योभन्दा फरक रहेर हेर्ने निर्णय गरेका छौँ ।’

कांग्रेस–माओवादीसँग भागबन्डा मिलेन, अब एमालेलाई हेर्ने हो 
 राजेन्द्र महतो, संयोजक, वार्ता समिति


 

एमालेसँग तालमेलको कुराकानी त दुई साताअघिदेखि भइरहेको थियो । अहिले फेरि समिति बनेछ ? 
यो औपचारिक रूपमा गठन भएको कमिटी हो । अनौपचारिक रूपमा कुरा भइरहेको थियो । अब यो समितिले सिट बाँडफाँडलगायत सबै कुरा टुंग्याउँछ । 

कहिले टुंग्याउनुहुन्छ ? 
म अहिले जिल्लामा छु । दुई दिनपछि काठमाडौं फर्किन्छु । त्यसपछि वार्ता गरेर टुंगिएला । 

एमालेले विरोध गरिरहेको नागरिकता विधेयक अन्ततः राष्ट्रपतिबाट अस्वीकृत भयो । यस्तो अवस्थामा पनि तपाईंहरू एमालेसँग तालमेल गर्न तयार हो ?
नागरिकताको सवाललाई कहिले कांग्रेसले खेलबाड गर्‍यो, कहिले माओवादीले गर्‍यो, कहिले एमालेले । एमालेले अध्यादेश ल्याउँदा कांग्रेस–माओवादीले विरोध गर्‍यो । यतिसम्म कि अदालतमै मुद्दा हाले । अहिले कांग्रेस–माओवादीले ल्याउँदा एमालेले विरोध गर्‍यो । जसरी बन्दुक चलाएर संविधान जारी गरे, त्यस्तै त छ यिनीहरूको मानसिकता । 

तर, चुनावी तालमेलका लागि फेरि यिनै दलको शरणमा पुग्नु परिरहेको छ है ?
सबै गठबन्धन गरिरहेको अवस्थाको तालमेल आवश्यक छ । तालमेल जोसँग गर्दा पनि हुन्छ । सबै दलको असली रूप देखेकै हो । त्यसैले अहिले हुने तालमेललाई नीतिगतभन्दा चुनावी भनेर मात्रै बुझ्नुपर्छ । 

एमालेबाहेक अन्य विचार मिल्ने दलसँग पनि वार्ता गर्ने भन्ने कुरा छ । खास कुरा के हो ?
अस्ति कांग्रेस–माओवादीसँग कुरा चलेको हो । तर, के गर्ने, उनीहरूलाई नै भाग पुगेको छैन । अब एमालेलाई हेर्ने हो । अध्यक्ष महन्थ ठाकुरले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरिसक्नुभएको छ । तालमेलका लागि सैद्धान्तिक सहमति भएको छ भन्ने कुरा छ । अब यसलाई औपचारिक रूप दिन वार्ता कमिटी बनेको हो । 

जसपासँग सहकार्यको सम्भावना छ कि छैन ?
अहिलेसम्म त त्यस्तो केही छाँटकाँट छैन । तर, राजनीति हो, सम्भावना त भइहाल्छ नि !