मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असोज ७ शुक्रबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज ७ शुक्रबार १६:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुदूरपश्चिममा बिमाको पहुँच अभिवृद्धि गरिनुपर्छ : अर्थमन्त्री शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज ७ शुक्रबार १६:५o:oo

अर्थमन्त्री जनार्दन शर्माले सुदूरपश्चिम प्रदेशमा बिमाको पहुँच अभिवृद्धि गरिनुपर्ने खाँचो औँल्याएका छन्। 

बिमा समिति सुदूरपश्चिम प्रदेश कार्यालयको आज धनगढीमा शुभारम्भ गर्नुहुँदै उनले यहाँको बिमाका दाबी, भुक्तानीका कुरामा धेरै गुनासा तथा असन्तुष्टि रहेको बताए। 

उनले भने, ‘अहिले नेपालभर समग्रमा बिमाको पहुँच ४१.२ प्रतिशत छ।  सुदूरपश्चिम प्रदेशमा १९.१७ प्रतिशत मात्रै छ। यसलाई वृद्धि गरिनुपर्छ।’

उनका अनुसार देशभरि विभिन्न बिमा कम्पनीका तीन हजार तीन सय ६६ शाखा सञ्चालन छन् भने सुदूरपश्चिममा तीन सय २७ मात्रै छन्। 

‘अहिले बिमा संस्थानले दिएको प्रत्यक्ष बिमा सन्दर्भका रोजगारी १२ हजार ३१ को संख्यामा रहेको, तर सुदूरपश्चिम प्रदेशमा छ सय ८७ मात्रै रहेको छ,’ मन्त्री शर्माले भने, ‘यसबाट के देखाउँछ भने सुदूरपश्चिम प्रदेश बिमाको पहुँचबाट अलि टाढाजस्तो छ।’

अर्थमन्त्री शर्माले लगानीको जोखिम न्यूनीकरण गर्ने मुख्य काम बिमाका रहेको स्पष्ट पार्दै बिमाद्वारा ठूला विपत्तिको जोखिम पनि न्यूनीकरण गर्न सकिने उनको भनाइ थियो। 

लगानीकर्तालाई, प्रयोगकर्तालाई र उत्पादनकर्तालाई ढुक्क भएर आफ्नो क्षेत्रमा काम गर्ने वातावरण बनाउने बिमाको मुख्य उद्देश्य रहेको उनले बताए। 

कार्यक्रममा प्रदेश सरकार आर्थिक मामिलामन्त्री प्रकाशबहादुर रावलले विभिन्न जोखिमको व्यवस्थापनमा बिमाले ठूलो सहयोग गरेको बताए। उनले, ‘सबै क्षेत्रमा यो बिमा जानु पनि जरुरी छ।’ 

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरीले जोखिम अन्त्य गर्नको लागि बिमालाई व्यापक रूपमा लग्न प्रदेश सरकार तयार रहेको बताए। 

बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले जोखिम न्यूनीकरण गर्ने  संयन्त्रको रूपमा बिमालाई लिनुपर्ने धारणा व्यक्त गरे। ‘यो काम प्रदेश सरकारबाट सुरु गर्नुपर्दछ,’ उनले भने।