मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रमेश सुवेदी काठमाडौं
२०७९ असोज ४ मंगलबार ०७:२५:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

फाइनलमा नेपाल पाँचौँपटक पनि चुक्यो : बंगलादेश नयाँ साफ च्याम्पियन

Read Time : > 2 मिनेट
रमेश सुवेदी काठमाडौं
२०७९ असोज ४ मंगलबार ०७:२५:००

दक्षिण एसियाली महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा बंगलादेश नयाँ विजेता बनेको छ । बंगलादेशले सोमबार दशरथ रंगशालामा भएको फाइनलमा घरेलु टोली नेपाललाई ३–१ ले हराउँदै पहिलोपटक उपाधि जितेको हो । नेपाल भने पाँचपटक फाइनलमा पुगेर पनि उपविजेतामै सीमित भयो । नेपाल दोस्रोपटक घरेलु मैदानमा आयोजित साफको फाइनलमा पराजित भएको हो । साफको इतिहासमा भारत सर्वाधिक पाँचपटकको विजेता हो । १५ हजार सात सय घरेलु दर्शकअगाडि नेपाली महिला टोलीले उत्कृष्ट खेल पस्कन सकेन । इतिहासमै पहिलोपटक नेपाल बंगलादेशसँग पराजित भयो । 

पहिलो हाफमै बंगलादेशले नेपाली डिफेन्सको गल्तीमा दुई गोल गरेको थियो । पहिलो हाफमा दुई गोलले पछाडि पर्दा घरेलु खेलाडीले दबाबको महसुस गरेका थिए । यद्यपि, मध्यान्तरपछि नेपालले बंगलादेशलाई दबाबमा नराखेको होइन । नेपालले बंगलादेशको बलियो डिफेन्स केवल एकपटक मात्र तोड्यो । बंगलादेशको जितमा श्रीमोतीकृष्णरानी सरकारले दुई गोल गरिन् । एक गोल सामसुन्नाहरको नाममा रह्यो । नेपालकी अनिता बस्नेतले एक गोल फर्काइन् । 

१३औँ मिनेटमै अग्रता
हजारौँ दर्शकको साथ पाएका नेपाली खेलाडीहरू मैदानमा सम्हालिन कोसिसमा थिए । बंगलादेशले घरेलु टोलीमाथि दबाब बनाउँदै खेलको १३औँ मिनेटमा साम सुनाहरको गोलको सहयोगमा १–० को अग्रता लियो । मिडफिल्डर मोनिका चक्माको पासमा १०औँ मिनेटमा मैदान प्रवेश गरेकी साम सुनाहरले उत्कृष्ट गोल गरिन् । खेलको ४२औँ मिनेटमा श्रीमोतीकृष्णरानीले मारिया मन्दाले १८ यार्ड बक्सबाहिरबाट मिलाएको पासमा कुनै गल्ती नगरी गोल गरिन् । यसपटक पनि नेपाली डिफेन्डर चुकेका थिए । नेपाल ७०औँ मिनेटमा २–१ को स्थितिमा आयो । दायाँ बक्सबाट अनिता बस्नेतले दोस्रो बार च्याप्दै उत्कृष्ट गोल गरिन् । नेपालले गोल गरेको सात मिनेटमै बंगलादेशले तेस्रो गोल ग¥यो । नेपाली डिफेन्डर काउन्टरमा अघि बढेको फाइदा उठाउँदै कृष्णरानीले टोलीलाई सहज जित दिलाइन् ।

 बंगलादेशलाई पहिलोपटक उपाधि जिताएकी कप्तान सविना खातुन प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भइन् । प्रतियोगिताको उच्च गोलकर्तासमेत सविना नै भइन् । उनले पाँच खेलमा आठ गोल गरिन् । उत्कृष्ट गोलकिपर बंगलादेशकै रुप्ना चक्मा चुनिइन् । प्रतियोगिताको फेयर प्ले टिम च्याम्पियन बंगलादेश नै बन्यो । 

प्रशिक्षक थापाको राजीनामा 
फाइनलमा पराजित भएसँगै नेपालका मुख्य प्रशिक्षक कुमार थापाले राजीनामा दिएका छन् । थापाले पत्रकार सम्मेलनबाटै आगामी दिनमा टोलीसँग नरहने घोषणा गरेका हुन् । उनले नेपाललाई उपाधि दिलाउने वाचा पूरा गर्न नसकेका कारण टोली अलग्गिने निर्णय लिएको बताए । ‘जुन वाचा गरेको थिएँ, त्यो पूरा भएन, हामीले कोसिस गरेका थियौँ,’ थापाले भनिन्, ‘म छोड्नु भनेको अर्काे प्रशिक्षकले अवसर पाउनु हो, दर्शक, साफ र एन्फालाई धन्यवाद !’ यसअघि थापाले सन् २०१६ भारतमा आयोजना भएको साफ च्याम्पियनसिपमा नेपाली महिला टोली हेरेका थिए । जहाँँ नेपाल भारतसँग पराजित हुँदै पहिलोपटक सेमिफाइनलबाट बाहिरिएको थियो । एन्फाले थापालाई गत साउनमा मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो । दोस्रोपटक थापाले टोली हेर्दा तीन खेलमा जित र एक खेलमा हार व्यहोर्‍यो ।

 तीन खेलाडीले लिए सन्न्यास 
उपविजेतामा सीमित भएको नेपाली टोलीका डिफेन्डर पुनम जर्घामगर, मिडफिल्डरद्वय दीपा राई र इन्दिरा राईले महिला राष्ट्रिय टोलीबाट सन्न्यास लिएका छन् । सन्यास लिएका तीनै खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले ‘कोट’ लगाएर बिदाइ गरेको छ । त्रिभुवन आर्मी फुटबल क्लबमा जागिरसँगै फुटबललाई अघि बढाएका तीनै खेलाडी सेनाको मिसनमा जाँदै छन् । बढ्दो उमेर र खेलबाट बाहिर रहने भएसँगै तीनै खेलाडीले सन्न्यास लिएको जनाएका छन् । पुनम र दीपा प्लेइङ सेटका खेलाडी हुन् । इन्दिरा बेन्च प्लेयर हुन् । 

दक्षिण एसियाको नम्बर एक भयौँ : गोलम रब्बानी चोटोन प्रशिक्षक, बंगलादेश 
हाम्रो खेलाडीलाई बधाई ! नेपाली टोलीले राम्रो खेलेको हो । हामीले लक्ष्य पाएका छौँ । अब हामी दक्षिण एसियाको नम्बर एक टोली भयौँ । खेलाडीले आफ्नो क्षमता देखाए । नेपाली समर्थन र मैदानबाट हामी डराएनौँ । त्यसमा खुसी छौँ । नेपालले प्रतियोगितामा तीन खेल खेल्यो, हामीले चार खेल खेलेका थियौँ । त्यसको पनि फाइदा भयो । मलाई लाग्छ, भारत र नेपाल राम्रो टोली हो । तर, हामी अहिले च्याम्पियन हौँ । 

फाइनल पुग्न चुनौती बढेको छ : कुमार थापाप्रशिक्षक, नेपाल 
राम्रो खेल खेलेको हो । टोलीको प्रदर्शनबाट सन्तुष्ट छु । कोसिस गरेका थियौँ । बंगलादेशले जुन किसिमले प्रदर्शन गरेको छ । भारतभन्दा बंगलादेश राम्रो देखिएको छ । अब हामीलाई फाइनल पुग्न पनि चुनौती हुन थालेको छ । हामीले फेरि दोस्रो स्थानमा चित्त बुझाएका छौँ । लक्ष्य भनेकै उपाधि हो । मैले जुन दिनुपर्ने थियो, त्यो सकिनँ । 

हामीले प्रमाणित गर्‍यौँ : सविना खातुनकप्तान, बंगलादेश
सर्वाेत्कृष्ट खेलाडीसँगै म ‘बेस्ट स्कोरर’ भएकी छु । यो मेरा लागि राम्रो हो । हाम्रो लक्ष्य पूरा गरेका छौँ । नेपाल आउनुअघि यो सोचेकी थिएँ । आत्मविश्वास थियो । अनुभवलाई सकेको प्रयोग गर्‍यौँ । नेपाल र भारतलाई आदर गर्छौं । हामीले प्रमाणित गर्नुपर्ने थियो, त्यो गरेका छौँ । 

अनुभवको कमी देखियो : एन्जिला तुम्बाप्पो सुब्बा कप्तान, नेपाल
हामीलाई सहयोग र समर्थन गर्ने सबैलाई धन्यवाद ! हामी पाँचपटक फाइनलमा पराजित भएका छौँ । आज शतप्रतिशत दिएका थियौँ । सानोतिनो गल्ती हामीले गर्‍यौँ । हामी लगातार फाइनलमा हारिरहेका छौँ । हामीमा अनुभवको कमी देखिएको छ । मैत्रीपूर्ण खेलविना खेलिरहेका छौँ । लगातार खेल्न पायौँ भने टोली राम्रो हुन्छ ।