१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ असोज २ आइतबार ११:१९:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गुल्मीमा तीन वर्षभित्र दुई सय ४९ जनाले गरे आत्महत्या

Read Time : > 2 मिनेट
२०७९ असोज २ आइतबार ११:१९:००

आत्महत्याको अवस्था डरलाग्दो : गुल्मीमा महिलाको तुलनामा तीन गुणा बढी पुरुषले गरे आत्महत्या, सबैभन्दा बढी मुसिकोट नगरपालिकामा 

गुल्मीको इस्मा गाउँपालिका– ४ कल्यारका नौ वर्षीय बालक संगम खड्काले बिहीबार बेलुका आत्महत्या गरे । बेलुकाको खानापछि संगम सुत्न गए । परिवार छोरा सुत्न गएकोमा ढुक्क थिए । तर, छोरा झुन्डिएका रहेछन् । बुबा–आमाले छोरो झुन्डिएकोे देख्नेबित्तिकै पासो काटे पनि बचाउन सकेनन् । हुर्किएको एक्लो छोरा झुन्डिएला भनेर परिवारले कल्पना गर्ने कुरै भएन । तर, अपत्यारिलो दुःखद घटनाले खड्का परिवार शोकमा डुबेको छ । ‘बिहानैबाट अलिअलि रिसाएको रै’छ । त्यो केटाकेटीको सामान्य बानी नै भयो,’ बुबा नारायण खड्काले भने, ‘एक्कासि सुत्ने कोठामा पुग्दा झुन्डिएको देखेँ ।’ 

गत ९ भदौमा रेसुंगा नगरपालिका– १ की १३ वर्षीया रेजिना कुँवरले पनि घरमै झुन्डिएर आत्महत्या गरिन् । सामान्य विवाद थेग्न नसकेपछि भएको आत्महत्याले परिवार विक्षिप्त छ । आत्महत्या गर्ने यी दुई बालबालिका गुल्मीका पछिल्लो उदाहरण हुन् । गुल्मीमा तीन वर्षमा एक सय ७३ पुरुष र ७६ महिला गरेर दुई सय ४९ जनाले आत्महत्या गरेका छन् । 

जिल्ला प्रहरी कार्यालय गुल्मीको तथ्यांकअनुसार सबैभन्दा बढी आर्थिक वर्ष ०७७/७८ सालमा ६९ पुरुष र ३० महिला गरेर ९९ जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष ०७६/७७ मा पुरुष ५० र २९ महिला गरेर ७९ जनाले आत्महत्या गरेको पाइएको छ । गत वर्ष ५४ पुरुष र १७ महिला गरेर ७१ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

झुन्डिएर आत्महत्या, आत्महत्या दुरुत्साहन, विष सेवन गरेर, पानीमा डुबेर र हामफालेर मानिसहरूले आत्महत्या गरेका छन् । सबैभन्दा धेरै तीन वर्षमा दुई सय ११ जनाले झुन्डिएर आत्महत्या गरेका छन् । 

मुसिकोटमा सबैभन्दा बढी आत्महत्या
जिल्लाका १२ स्थानीय तहमध्ये मुसिकोट नगरपालिकामा सबैभन्दा बढी आत्महत्याका घटना भएको पाइएको छ । तीन वर्षको तथ्यांकको आधारमा मुसिकोट नगरपालिकामा २१ पुरुष र ११ महिला गरेर ३२ जनाले आत्महत्या गरेका छन् । 

त्यस्तै, रेसुंगा नगरपालिकामा २८, मदाने गाउँपालिकामा २४, सत्यवती र इस्मामा २१, रुरु क्षेत्र गाउँपालिकामा २० मालिकामा १६ र कालीगण्डकी गाउँपालिकामा सातजनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

वृद्ध पुरुषद्वारा सबैभन्दा बढी आत्महत्या
गत १० साउनमा मालिका गाउँपालिका– ८ का ७१ वर्षीय अमृतबहादुर कामीले घरनजिकैको रूखमा झुन्डिएर आत्महत्या गरे । कालीगण्डकी गाउँपालिका– ५ का वृद्धदम्पतीले केही समयअगाडि नयाँ वर्षकै दिन एउटै पासोमा झुन्डिएर आत्महत्या गरे । फोक्सिङका ७० वर्षीय ओमबहादुर र उनकी श्रीमती ६९ वर्षीया खिमकला सार्कीले आत्महत्या गरेका हुन् । दुवैजना घरनजिकैको खनियाँको रूखमा ओमबहादुरले प्रयोग गर्ने गलबन्दीमा झुन्डिएर आत्महत्या गरेका थिए । खासकारण पत्ता लगाउनेतर्फ कोही लागेनन् । 

गुल्मी प्रहरीले दिएको तीनवर्षे आत्महत्याको तथ्यांकका आधारमा सबैभन्दा बढी पुरुषले आत्महत्या गर्ने गरेको पाइएको छ । महिलाभन्दा तीन गुणा बढी पुरुषले आत्महत्या गरेका छन् । त्यसमा पनि ६० वर्षमाथिका वृद्ध पुरुषले बढी आत्महत्या गरेका छन् । 

तीनवर्षे तथ्यांक हेर्दा ६० वर्षमाथिका ४२ पुरुष र नौ महिलाले आत्महत्या गरेका छन् । ५० वर्षदेखि ६० वर्ष उमेर समूहका ३६ पुरुष र नौ महिला, ४० देखि ५० उमेर समूहमा  २४ पुरुष र ६ महिला, ३० देखि ४० उमेर समूहका २२ पुरुष र १० महिलाले आत्महत्या गरेका छन् । 

त्यस्तै, २० देखि ३० वर्षका २८ पुरुष र १७ महिला तथा २० वर्षसम्मको उमेर समूहमा पुरुषभन्दा बढी महिलाले आत्महत्या गरेको पाइएको छ । यो उमेर समूहका २१ पुरुष र २५ महिलाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

आत्महत्या रोकथाको सरकारी अभियान अलपत्र
दुई वर्षअघि जिल्ला प्रशासन कार्यालय गुल्मीले आत्महत्या रोकथामको प्रयास थाले पनि निरन्तरता पाएन । तत्कालीन प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भण्डारीको संयोजकत्वमा प्रहरी, नागरिक समाज, नगरपालिका, गैरसरकारी संस्थाका प्रतिनिधिसहितको समिति बनाएर आत्महत्याको पालिकागत तथ्यांक संकलन र विश्लेषणको कामको योजना बनाए पनि शर्माको सरुवासँगै कामले निरन्तरता पाएन । 

समितिका सदस्य तथा रेसुंगा नगरपालिकाका सूचना अधिकारी शंकरप्रसाद गौतमले आफूले नगरको अवस्था बुझाए पनि अरू पालिकाको कारण अभियान रोकिएको बताए । सिडिओको सरुवापछि केही काम नभएका कारण आफूले पनि कुनै वास्था नगरेको गौतमले बताए ।

मानसिक स्वास्थ्यमा ख्याल गरौँ : मनोरोग विशेषज्ञ रेग्मी
लुम्बिनी प्रादेशिक अस्पतालका मनोरोग विशेषज्ञ डाक्टर असिम रेग्मीले आत्महत्या रोकथाम गर्न मानसिक स्वास्थ्यमा ख्याल गर्नुपर्ने बताए । उनले आत्महत्याको ७० प्रतिशत कारण मानसिक समस्या भएकाले घटना हुँदाको एक कारणले मात्रै आत्महत्या नहुने बताए ।

केही समय पहिलेसम्म मानसिक रोगको बेलैमा पहिचान र उपचार नहुने तथा दीर्घरोगका आत्महत्या गर्नेहरू बढ्ने गरेको भएपछि समयअनुसार प्रवृत्ति परिवर्तन हुँदै गएको रेग्मीले बताए ।

पहिले मानसिक समस्या उमेर ढल्किएपछि हुने भए पनि अहिले कम उमेरकै पनि डिप्रेसनमा हुने भएकाले उमेर र रोग मात्रै हेरेर आत्महत्याको विश्लेषण नहुने मनोरोग विशेषज्ञ रेग्मीको भनाइ छ । उनले मानसिक स्वास्थ्य सचेतना, बालबालिकाको आनाबानीमा विचार गर्ने र निराश कम भए आत्महत्याको समस्याबाट जोगिन सकिने बताए ।