१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
झाओ गान्चेङ
२०७५ चैत १२ मंगलबार ०८:००:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

भारतीय निर्वाचनमा मोदीको ‘चाइना कार्ड’

चीनलाई भारतको निर्वाचनमा खासै सरोकार नभए पनि मोदीले ‘चाइना कार्ड’ देखाएर आफ्ना मतदाताको ध्यान अन्यत्र मोड्न चाहिरहेका छन्

Read Time : > 2 मिनेट
झाओ गान्चेङ
२०७५ चैत १२ मंगलबार ०८:००:००

भारतको आमनिर्वाचन ११ अप्रिल र १९ मेका लागि तय भएको छोटो समयमै पाकिस्तान र भारतबीचको तनाव ‘क्लाइमेक्स’मा पुग्यो । भारतीय अर्धसैनिक दस्तामाथि आक्रमणलगत्तै दुई देशले जस्तालाई त्यस्तै शैलीमा हवाई हमला गरे । भारतले भर्खरै मात्र पाकिस्तानी सैन्य समूह जैस ए मोहम्मदका नेता मसुद अजहरलाई आतंककारी सूचीमा राख्न माग गर्दै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा प्रस्ताव पेस गरेको छ । यसले के देखाउँछ भने पाकिस्तानसँगको विवाद देखाएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टी (भाजपा) मतदाता रिझाउने ध्याउन्नमा छन् । 

द्विदेशीय समस्या भारत वा अन्य देशमा प्रायः निर्वाचनको विषय बन्दैन, जबसम्म यसले युद्धको स्वरुप लिइसकेको हुँदैन । समस्या नयाँदिल्ली र बेइजिङको सम्बन्धमा पनि छ । तर, यो सम्बन्ध संकट निम्त्याउने दिशामा धेरै टाढा छ । चीनलाई भारतको निर्वाचनमा खासै सरोकार छैन । तर, मोदीले ‘चाईना कार्ड’ देखाएर आफ्ना मतदाताको ध्यान अन्यत्र मोड्न चाहिरहेका छन् । 

कुनै समय निर्वाचिन जित्नेमा भाजपा आत्मविश्वासी थियो । तर, घरेलु समस्याले यसमा प्रभाव पारेको छ । उदेकलाग्दो आर्थिक तथ्यांकले बेरोजगारी घट्ने झल्को दिएको छैन । जनतासँगको प्रत्यक्ष सम्बन्धमा कमी आइरहेको छ । भाजपाले दिएका प्रतिबद्धता पूरा गर्न नसक्दा जनता खुसी छैनन् । यस्तो अवस्थामा मोदीजस्ता अनुभवी राजनीतिज्ञ विनामिहिनेत ‘कार्ड’हरू फाल्न थालेका छन् । तीमध्ये ‘चाइना कार्ड’ एक हो । यो चीनसँगको सीमाद्वन्द्वलाई आधार बनाएर फालिएको चाइना कार्डले केही समय भारतको उत्तरी क्षेत्रमा त काम गर्ला, तर अन्यत्र यसको प्रभाव कस्तो पर्छ, भन्न सकिन्न । 

मोदीको प्रसिद्धि घटेको छ । त्यसैले उनी भोट पाउन हरेक अवसर समात्नुपर्ने अवस्थामा छन् । चाइना कार्डसँगै मोदीले पाकिस्तानसँगको विवादलाई पनि हतियार बनाएका छन् । भाजपाले राष्ट्रवादी भावनालाई समातेर आफ्नो हार्डलाइनर छवि स्थापित गर्न चाहेको छ । केही भारतीयलाई विश्वस्त बनाएको छ कि बेइजिङले नयाँदिल्लीसँगको विवादमा इस्लामावादको पक्ष लिएको छ । यो मोदीका लागि चाइना कार्ड खेल्ने राम्रो अवसर हो । प्रायः आन्तरिक राजनीतिमा कूटनीतिक कार्डले भूमिका खेल्दैन । तर, यो उत्तर भारतमा खेलिएको छ । जहाँ, ठूलो जनसंख्या छ । भारतको उत्तरी राज्य उत्तर प्रदेशमा मात्रै २० करोड जनसंख्या छ । 

चीनसँगको सीमाद्वन्द्वलाई आधार बनाएर फालिएको चाइना कार्डले केही समय भारतको उत्तरी क्षेत्रमा त काम गर्ला, तर अन्यत्र यसको प्रभाव कस्तो पर्छ, भन्न सकिन्न

किन भाजपा तुलनात्मक समृद्ध दक्षिण भारतमा चाइना कार्ड खेल्दैन ? किनकि यहाँका जनता आमनिर्वाचनलाई घरेलु राजनीतिका रूपमा बुझ्छन् । अन्तर्राष्ट्रिय अवस्थाबारे स्पष्ट दृष्टिकोण बनाएका जोसुकैले सजिलै बुझ्न सक्छन्, मोदीले मत आकर्षित गर्न चुनावी ¥यालीमा मात्र चीन समस्याबारे बोलेका हुन् । 

यस वर्षको आमनिर्वाचन परिणामको अनुमान लगाउन केही कठिन छ । भारतीय राष्ट्रिय कंग्रेस (आइएनसी) ले प्रान्तीय चुनावमा राम्रो नतिजा ल्याएको छ । तर, यो नतिजाले संसद्को निर्वाचनमा प्रत्यक्ष प्रभाव भने राख्नेछैन । कंग्रेससँग प्रभावकारी नेता पनि छैनन् । नेहरू–गान्धी परिवारका उत्तराधिकारी राहुल गान्धीले चुनावी -यालीमा राम्रो प्रस्तुति दिन सकिरहेका छैनन् । चाहे त्यो सन् २०१४ मा होस्, या २०१८–०१९ मा । उनमा आफ्नी बहिनी प्रियंका गान्धीमा जति पनि आत्मविश्वास छैन । त्यसैले राहुल गान्धीलाई भारतीयले प्रधानमन्त्रीका रूपमा स्विकार्ने सम्भावना कम छ । 

मोदीले फेरि चुनाव जिते भने उनले चाइना कार्ड खेल्न बन्द गर्नेछन् । उनले राष्ट्रिय स्वार्थलाई पहिलो प्राथमिकतामा राख्नेछन् । चीन र भारतले ठूलो समस्या सामना गर्नुपर्ने छैन किनकि बेइजिङले नयाँदिल्लीको आधारभूत स्वार्थ बिगार्नेछैन । केही पश्चिमा मिडियाले अजहरलाई अन्तर्राष्ट्रिय आतंककारी बनाउने भारतको प्रस्तावलाई उचालेका छन्, त्यसमा उनीहरूको आफ्नै नीतिगत स्वार्थ छ । अमेरिका र अन्य पश्चिमा देश भारत र चीनबीचको सम्बन्ध मैत्रिपूर्ण रहोस् भन्ने चाहँदैनन् ।  अमेरिकी अधिकारी र प्राज्ञ दुई देशबीच स्थायी शत्रुता हुनेछ र यही आधारमा नीति तय हुनुपर्छ भन्ने विश्वास गर्छन् । 

(गान्चेङ सांघाई इन्स्टिच्युट फर इन्टरनेसनल स्टडिजका अनुसन्धानकर्ता हुन्)ग्लोबल टाइम्सबाट