१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ भदौ ३० बिहीबार ०६:४९:००
Read Time : > 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

हावा चलेपछि सुत्ने सेवक

Read Time : > 1 मिनेट
२०७९ भदौ ३० बिहीबार ०६:४९:००

धेरै पहिले उत्तरी आइसल्यान्डमा एक किसान बस्थे । उनलाई आफ्नो खेतीमा सघाउने एकजना मजदुरको निकै खाँचो थियो । तर, प्रायः आँधी आइरहने सो स्थानमा काम गर्न कोही पनि तयार हुँदैनथ्यो । किसानले एक दिन एक स्थानीय पत्रिकामा मजदुर आवश्यक परेको विज्ञापन छपाए । विज्ञापन हेरेर धेरै मानिस आए, तर त्यहाँको अवस्थाबारे थाहा पाएपछि भने कोही पनि काममा बस्न तयार भएनन् । अन्तिममा एक दुब्लो, पातलो मानिस किसानकहाँ आइपुगे । किसानले त्यहाँको सबै अवस्थाबारे बताए । ती मजदुर काममा बस्न तयार भए । उनले भने– म काममा बस्न तयार छु । तर, जब हावा चल्छ, तब म सुत्नेछु । 

किसानले सहमति जनाए । मजदुरले काम सुरु गरे । उनी निकै मिहिनेती थिए । काममा कुनै गुनासो गर्नुपरेन । एक रात अचानक तीव्र गतिमा हावा चल्न थाल्यो । किसानले अब छिटै तुफान आउने अनुमान लगाए । उनी हतारहतार मजदुरकहाँ पुगे । मजदुर मस्त निदाइरहेका थिए । उनले मजदुरलाई उठाएर खेतमा काटेर थुपारिएको अन्न राम्ररी त्रिपालले छोपछाप गर्न, गाईलाई गोठमा राम्ररी बन्द गर्न, तबेलाको ढोका राम्ररी बन्द गर्न र हाँस, कुखुरालाई खोरमा राम्ररी थुनेर राख्न अह्राए । तर, मजदुरले भने– माफ गर्नुहोला हजुर, हावा चलेपछि म त उठ्दिनँ, सुत्छु । 

संकटको समयमा मजदुरको उत्तर सुन्दा किसानलाई तत्कालै गोली हानेर उनको हत्या गरिदिऊँ जस्तो रिस उठ्यो । उनी मुर्मुरिँदै एक्लै खेतमा पुगे । तर, त्यहाँ त काटिएको अन्नलाई पहिल्यै त्रिपालले राम्ररी बलियोसँग छोपिएको थियो । गाईवस्तुको गोठ र तबेलाका ढोका पनि राम्ररी बन्द गरिएका थिए । हाँस, कुखुरा पनि पहिल्यै खोरमा आरामले बसिरहेका थिए । यो सब देखेपछि किसानले बल्ल मजदुरको ‘हावा चलेपछि म सुत्नेछु’ भन्ने भनाइको अर्थ बुझे । संकट आउनुअघि नै राम्ररी काम गर्ने हो भने संकटको समयमा निश्चिन्त भई आरामले सुत्न पाइने रहेछ भन्ने उनले बुझे ।