०७९/८० को बजेट कार्यान्वयनमा गइसक्दा पनि पुल्चोकको मन्त्री क्वार्टर भएको क्षेत्रमा के बन्छ भन्ने टुंगो लागेको छैन
ललितपुरको भैँसेपाटीमा मन्त्री क्र्वाटर बनेपछि आगामी असारबाट पुल्चोकका क्वार्टर खाली हुँदै छन् । तर, ७१ रोपनी चर्चेको यो जग्गामा स्टेट गेस्ट हाउस बनाउने कि इभाकुएसन पार्क भनेर सहरी विकास मन्त्रालयमा माथापच्ची चलिरहेको छ ।
भैँसेपाटीमा हेल्थ क्लबसहितको नयाँ मन्त्री क्वार्टर निर्माण थालिएसँगै पूर्ववर्ती सरकारले हालको मन्त्री क्वार्टरलाई राजकीय अतिथि गृह (स्टेट गेस्ट हाउस) बनाउने घोषणासहित २० लाख खर्चेर डिजाइन पनि तयार गराएको थियो । सरकार फेरिएसँगै योजना पनि फेरियो । गत आवको प्रतिस्थापन बजेटमा खुला क्षेत्र कायम गर्न उद्यान बनाउने निर्णय भयो । त्यसपछि तत्कालीन सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले ‘डिटेल इन्जिनियरिङ स्टडी’ पनि गराइन् । ‘त्यहाँको नौ रोपनी क्षेत्रमा अहिले नै पार्क बनाउन मिल्छ । त्यही भएर बजेटमा इभाकुएसन पार्कको अवधारणा राखिएको हो,’ झाँक्रीले भनिन्, ‘विपद् आउँदा एक–दुई हजार मान्छे एक ठाउँ खुला क्षेत्रमा अट्न सक्ने स्थिति छैन, त्यही भएर खुला क्षेत्र नै बन्नुपर्छ भन्नेमा लभभग निश्चित भइसकेको थियो ।’
तर, ०७९–८० को बजेट कार्यान्वयनमा गइसक्दा पनि ७१ रोपनी क्षेत्रमा के बन्छ अझै टुंगो लागिसकेको छैन । हालका सहरी विकासमन्त्री मेटमणि चौधरीले भने गेस्ट हाउसमा झुकाव देखाएका छन् । ‘निर्णय भइसकेको छैन, तर विदेशी पाहुना आउँदा गेस्ट हाउस चाहिन्छ भन्ने छ । यो ठीक हुन्छ कि जस्तो पनि छ,’ उनले नयाँ पत्रिकासँग भने । तर, खुला क्षेत्र नै बनाउनुपर्ने मत पनि रहेकाले यसबारे छलफल भइरहेको उनले बताए । भैँसेपाटीमा क्वार्टर निर्माणाधीन रहेको र पुल्चोकको क्वार्टर तत्काल खाली नहुने भएकाले निर्णयमा हतार नभएको उनले बताए ।
पोलिसी जम्प
पुल्चोकमा के बनाउने भनेर आवश्यकताभन्दा पनि सरकारपिच्छे लहडका आधारमा अगाडि बढ्न थालेपछि चालू आवमा दुवै योजना परेका छन् । गेस्ट हाउसका लागि २५ लाख रुपैयाँ विनियोजन गरिएको छ भने पुल्चोक (हाल मन्त्री क्र्वाटर), लैनचौरलगायत चार स्थानमा इभाकुएसन पार्क बनाउने योजना पनि बजेटमा परेको छ । ‘सरकार र मन्त्री फेरिँदा योजना फेरिरहन्छ । अहिले पनि गेस्ट हाउस र पार्क दुवैमा जोड देखिन्छ,’ सहरी विकास मन्त्रालयका एक सहसचिवले भने, ‘त्यही भएर दुवै योजनाका लागि बजेट छुट्याइएको छ ।’
पूर्ववर्ती सरकारले डेढ अर्ब लागतमा गेस्ट हाउस बनाउने योजना अघि सारेको थियो । सोहीअनुसार डिजाइनमा २० लाख खर्च भइसकेको छ । झाँक्री भन्छिन्, ‘हाम्रोमा पोलिसी जम्मा गर्ने प्रवृत्ति छ, यो दुर्भाग्य हो । एउटा नीति, कार्यक्रम आउँछ, कार्यान्वयनमा जान पाउँदैन । फेरि प्रतिस्थापन गरेर पूर्वतयारी विना नयाँ कार्यक्रम आउँछ । पुल्चोकको हकमा कसैले खुला क्षेत्र चाहिन्न भन्न सक्दैनन् ।’
भैँसेपाटी मन्त्री क्वार्टरको काम ८१ प्रतिशत सकियो
सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको विशेष भवन निर्माण आयोेजनाले भैंसेपाटीमा सुविधा सम्पन्न मन्त्री क्वार्टर बनाइरहेको छ । आयोजना निर्देशक दिलीपशेखर श्रेष्ठका अनुसार ८१ प्रतिशत निर्माणको काम सकिएको छ, आगामी असारभित्र क्वार्टर सर्छ । यहाँ दुई चरणमा काम भइरहेको छ । पहिलो चरणमा एक अर्ब तीन करोड रूपैयाँको लागतमा २७ वटा मन्त्री क्वार्टर निर्माण भइरहेका छन् । दोस्रो चरणमा सुरक्षा भवन, हेल्थ क्लब, स्विमिङ पुललगायत संरचना छन्, जसको लागत ४० करोड छ । मन्त्री क्वार्टर निर्माणका लागि ०७६ कात्तिकमा श्रीको हनुमान जेभीसँग सम्झौता भएको थियो ।
पुल्चोकको मन्त्री क्वार्टर सरेपछि के बनाउने भन्ने अझै टुंगो छैन : मेटमणि चौधरी, सहरी विकासमन्त्री
पुल्चोकको मन्त्री क्वार्टर सरेपछि त्यहाँ के बनाउने भन्ने अझै टुंगो लागेको छैन । विदेशी विशिष्ट पाहुना आउँदा वास बस्न चाहिन्छ भनेर गेस्ट हाउस बनाउने भन्ने हो । विदेशी पाहुना आउँदा सजिलो हुन्छ । फाइनल भएको छैन । तर, यो कुरा (गेस्ट हाउस बनाउँदा) राम्रो भन्ने छ । सँगै खुला क्षेत्रको विषय पनि उठेको छ ।
पुल्चोकमा कसैले खुला क्षेत्र चाहिन्न भन्न सक्दैनन् : रामकुमारी झाँक्री, निवर्तमान सहरी विकासमन्त्री
पुल्चोक प्राइम लोकसेनबाट मन्त्री क्वार्टर सार्न हुँदैनथ्यो । सार्ने निर्णय भइसकेपछि त्यहाँ संसद् बनाउँदा हुन्थ्यो । फेरि गेस्ट हाउसको कुरा आयो । राज्यले गेस्ट हाउस चलाएर बिजनेस पाउन सक्दैन । यो निजी क्षेत्रको काम हो । सरकारले गेस्ट हाउस बनाएर निजी क्षेत्रलाई दिनुपर्ने आवश्यकता पनि छैन । खुला क्षेत्र नै उत्तम हुन्छ । खुला क्षेत्र नै बनाउनुपर्छ, पार्क बनाउनुपर्छ भन्दा कसैले विरोध गर्छजस्तो लाग्दैन ।
म मन्त्री भएर आउनुअघि नै प्रतिस्थापन विधेयकबाट खुला क्षेत्रको अवधारणा अगाडि बढाइएको हो । आएपछि मैले थप काम गरेँ, डिटेल इन्जिनियरिङ डिजाइन गराएँ । त्यहाँ नौ रोपनी जग्गा अहिले पनि खाली छ, त्यहाँ तत्काल पार्क बनाउन सकिन्छ । क्वार्टर भैँसेपाटी सरिसकेपछि त्यहाँका सबै घर भत्काएर खुला पार्क बनाउन सकिन्छ ।
पार्कलाई भविष्यमा कृषि, पशु विभाग रहेको क्षेत्रसम्मै जोड्न सकिन्छ । त्यही भएर इभाकुएसन पार्कको अवधारणा अगाडि सारिएको हो । विपद्का वेला एक–दुई हजार मान्छे अड्न सकिने खुला ठाउँ नै बाँकी छैन । सहरभित्र भएका खुला क्षेत्र जोगाउनुपर्छ, नभएको क्षेत्रमा थप्नुपर्छ । जहाँ खाली ठाउँ देख्यो त्यहाँ घर बनाइहाल्ने होइन । खुला क्षेत्र बनाउनुपर्छ । पछिल्ला दशकमा हामीले कहाँ–कहाँ खुला क्षेत्र बनायौँ ?
काठमाडौंका नयाँ बस्तीमा खुला ठाउँ नै छैन । हाम्रोमा पोलिसी जम्मा गर्ने प्रवृत्ति छ । यो दुर्भाग्य हो । एउटा नीति, कार्यक्रम आउँछ, कार्यान्वयनमा जान पाउँदैन । फेरि प्रतिस्थापन गरेर पूर्वतयारीविना नयाँ कार्यक्रम आउँछ । पुल्चोकको हकमा कसैले खुला क्षेत्र चाहिन्न भन्न सक्दैनन् ।