मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ भदौ २६ आइतबार
  • Sunday, 13 July, 2025
२o७९ भदौ २६ आइतबार o७:२२:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

राप्रपा केन्द्रीय प्रशिक्षण  विभाग सदस्य शाहले छाडे पार्टी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ २६ आइतबार o७:२२:oo

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा केन्द्रीय प्रशिक्षण विभाग सदस्य तेजविक्रम शाहले पदबाट राजीनामा दिएका छन् । उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमा राजीनामापत्र सार्वजनिक गर्दै राप्रपासँगको ३० वर्षे यात्रामा पूर्णविराम लगाएको जनाएका छन् ।

‘पार्टीको सैद्धान्तिक आदर्श, वैचारिक आधारस्तम्भसँग प्रतिकूल हुने गरी कार्यनीति अवलम्बन गरिएकाले अब यो पार्टीबाट राष्ट्रवादी आन्दोलन सफल हुने नदेखिएकाले प्रशिक्षण विभागको केन्द्रीय सदस्य पद तथा साधारण सदस्यसमेत नरहने गरी आजकै मितिदेखि पार्टी परित्याग गरेको जानकारी गराउँदछु,’ उनले पत्रमा उल्लेख गरेका छन् । 

शाहले राप्रपा आफ्नो नीति तथा सिद्धान्तबाट विचलित भएको आरोप लगाएका छन् । उनले पार्टीले वैचारिक आधारस्तम्भ राजासहितको प्रजातन्त्र, हिन्दूराष्ट्र, स्थानीय सुदृढ स्वायत्त शासन प्रणाली रहेको, तर एजेन्डा प्राप्तिका लागि राष्ट्रव्यापी आन्दोलनलाई उत्कर्षमा पुर्‍याउन नसकेको र पार्टीमा राजाका कट्टर विरोधीलाई पार्टीमा माथिल्लो ठाउँ दिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

‘राप्रपा अब पार्टीको आदर्श र वैचारिक दृष्टिकोणबाट पलायन भइसकेको र नेपाल आमाको रगत खाने पार्टीसँग सहकार्य गर्दै दुई–चार सिट बढाई संसद्मा बार्गेनिङ गर्ने नीति अवलम्बन गरेको प्रस्ट छ,’ उनले राप्रपा अध्यक्षलाई बुझाएको राजीनामापत्रमा उल्लेख छ । शाहले आफ्ना मुद्दालाई स्थापित गराउन आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा राप्रपा जनतामाझ एक्लै जानुपर्ने औँल्याएका छन् ।