१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
पाथिभरा याङ्वरक–१ नाङ्खोल्याङका सनम गुरुङ ।
२o८१ बैशाख २१ शुक्रबार १२:१३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गाउँ फर्किएर बाँझो जमिनमा तितेपाती खेती

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:१३:oo

ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङका सनम गुरुङको परिवार २०६८ सालमा झापा बसाई सरे। बसाई सर्नुको मुख्य कारण थियो–बाँदरले अचाक्ली दुःख दिनु। लगाएको बालीनाली सबै बाँदरले नष्ट गरिदिन थालेपछि उनीहरु बसाई सरे। गाउँमा भएको ७५ रोपनी जग्गा अर्कालाई दिएर झापा झरेका उनीहरु अहिले गाउँ फर्किएर व्यावसायिक तितेपाती खेतीतर्फ लागेका छन्। ‘बसाई सरेर मधेस गयौं, त्यहाँको उखरमाउलो गर्मी र धुवाँ धुलोमा बस्न सकिएन,’ सनमले भने, ‘पहाडमै सुन फल्दो रहेछ।’

अहिले उनले २४ रोपनीमा व्यावसायिक तितेपाती खेती सुरु गरेका छन्। सनमले नै ताप्लेजुङमा पहिलो पटक भुवादार जापानी तितेपातीको व्यावसायिक खेती सुरु गरेका हुन्। बाँझो जमिनको सदुपयोग हुने मात्र नभइ थोरै लगानीमा आम्दानी लिन सकिने भएकाले पनि तितेपाती खेती गरेको उनी बताउँछन्।

उनी मात्रै होइन, फुङ्लिङ नगरपालिका–८ का किरण तामाङले पनि १० रोपनी बाँझो जमिनमा तितेपातीको खेती थालेका छन्। धार्मिक कार्य र औषधीका रूपमा प्रयोग हुने तितेपाती राम्रो मूल्यमा विक्री हुने गरेको छ।

‘झापा झरेपछि बाँझो जमिनको माया लाग्यो। जंगली जनवारले पनि क्षति नगर्ने र आम्दानी पनि चाँडै लिन सकिने खेती के हुनसक्छ भनेर खोज्दै जाँदा युट्युबमा तितेपाती खेतीबारे जानकारी पाएँ,’ सनमले भने,  ‘त्यसपछि गाउँ फर्किएर तितेपाती खेती थालेको हुँ।’ उब्जनी नहुने खेतबारी र पाखा भित्ताबाट थोरै परिश्रम र लगानीमै राम्रो आम्दानी लिन सकिने भएपछि ताप्लेजुङका किसान तितेपाती खेतीमा लागेका छन्।

तितेपातीलाई प्रत्येक १५ देखि २० दिनमा संकलन गर्न सकिने गुरुङले बताए। उनका अनुसार सुकेको तितेपाती र यसको डाँठ प्रतिकेजी रु ५० मा विक्री हुन्छ। तितेपाती खरिदका लागि काठमाडौंबाट कम्पनीहरु आफैंले सम्पर्क गर्छन्। बिरुवा भने एक रुपैंयाँ प्रतिगोटामा गाउँबाटै बिक्री हुन्छ। यद्यपि, बजारको माग धान्न भने अझै नसकिएको किसानहरुको भनाइ छ।

किसानले उत्पादन गरेको तितेपाती कम्पनीले घरैमा आएर खरिद गर्ने भएपछि व्यक्तिगत जग्गामासमेत तितेपाती रोप्ने अभियान चलेको छ। जिल्लाको आठराई त्रिवेणी, मिक्वाखोलालगायतका स्थानका किसानले पनि विरुवा खरिद गरेर व्यावसायिक खेती सुरु गरिसकेका छन्। विरुवाको माग अहिले देशैभरबाट आएको सनमले बताए। तितेपातीबाट तयार हुने मोग्जा स्टिक जापान निर्यात हुने गरेको छ। मोग्जा स्टिक नसा र ढाड दुःखाइसँगै शरीरका विभिन्न रोगको उपचार अर्थात् मोग्जा थेरापीमा पनि प्रयोग हुने गरेको छ।

ad
ad