बेलायतमा सबैभन्दा लामो समय शासनमा रहेकी महारानी एलिजाबेथ द्वितीयको निधनपछि उनका जेठा छोरा चार्ल्स अब राजा चार्ल्स तृतीय बनेका छन् । यससँगै उनी १४ वटा राष्ट्रमण्डल देशका राष्ट्रप्रमुख पनि बनेका छन् ।
महारानी एलिजाबेथ द्वितीय र प्रिन्स फिलिपका जेठा छोराको रूपमा ७३ वर्षीय चार्ल्स ब्रिटिस सिंहासनका उत्तराधिकारी थिए । चार्ल्सले महारानी एलिजाबेथ द्वितीयको उत्तराधिकारी हुन लगभग आफ्नो सम्पूर्ण जीवन पर्खिनुपर्यो । बेलायतमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयको निधनपछि उनका जेठा छोरा चार्ल्स अब राजा चार्ल्स तृतीय बनेका छन् । यससँगै उनी १४ वटा राष्ट्रमण्डल देशका राष्ट्रप्रमुख पनि बनेका छन् ।
चार्ल्स फिलिप आर्थर जर्ज १४ नोभेम्बर १९४८ मा बकिंघम प्यालेसमा जन्मिएका थिए । जन्मेसँगै उनी सिंहासनको दोस्रो पंक्तिमा थिए । हजुरबुबा राजा जर्ज छैटौँको ६ फेब्रुअरी सन् १९५२ मा देहान्त भएपछि चार्ल्सकी आमा एलिजाबेथ द्वितीय बेलायतकी महारानी घोषित भइन् भने चार्ल्स राजसिंहासनको स्वाभाविक उत्तराधिकारी बने । चार्ल्सकी अध्यापिका क्याथरिन पिबल्सका अनुसार एक किशोरका रूपमा उनी अति संवेदनशील, एक्लै बस्न रुचाउने, अत्यन्त लजालु थिए ।
राष्ट्रप्रमुखको रूपमा आफ्ना आमाबाबु लामो समयसम्म विदेश भ्रमणमा रहँदा उनी आफ्नी हजुरआमा (राजा जर्जकी विधवा रानी एलिजाबेथ), उनका गुरु र उनका ठूलो बुबा लर्ड लुइस माउन्टव्याटनको साथमा हुर्किए । सन् १९५८ मा ९ वर्षको उमेरमा उनलाई प्रिन्स अफ वेल्सको उपाधि दिइयो, जुन उपाधि १४आँै शताब्दीको सुरुवातदेखि नै उत्तराधिकारीका लागि आरक्षित छ ।
डिग्री उपाधि प्राप्त गर्ने पहिलो शाही उत्तराधिकारी
१३ वर्षको उमेरबाट चार्ल्स गोर्डनस्टाउन स्कुल जान थाले, जहाँ उनका बुबाले पढेका थिए । तर, उक्त विद्यालयमा उनी सन्तुष्ट हुन सकेनन् । त्यहाँ उनले एक्लो महसुस गरे । उनलाई उक्त विद्यालयप्रति नै घृणा जागेको थियो । त्यहाँ व्यतित गरेका क्षणलाई चार्ल्स ‘नरक र जेलको सजाय’ भन्थे । त्यसपछि सन् १९६६ मा उनी एक अस्ट्रेलियाली व्याकरण स्कुल गए । जसले उनलाई केही परिपक्व बनायो । विद्यालय शिक्षा पूरा गरेपछि उनी क्याम्ब्रिज विश्वविद्यालयको ट्रिनिटी कलेजमा भर्ना भए । सन् १९७० मा निम्न ‘सेकेन्ड क्लास’ सम्मानसहित विश्वविद्यालयको डिग्री उपाधि प्राप्त गर्ने पहिलो शाही उत्तराधिकारी बने ।
चार्ल्सले सन् १९६९ मा केर्नारफोन क्यासलमा प्रिन्स अफ वेल्स उपाधि लिनुअघि वेल्स सिकेका थिए । सन् १९७१ देखि १९७६ सम्म नौसेनामा सेवा गरे । नौसैनिकका रूपमा क्यारेबियन सागरमा आठ महिनासम्म टाढा रहँदा उनकी प्रेमिका क्यामिला स्यान्डले आफ्नो पुरानो प्रेमी एन्ड्रयु पार्कर बाउल्ससँग विवाह गरिन् । यसले चार्ल्सलाई आघात भयो । एक दक्ष चालकको रूपमा चार्ल्सले आफ्नो छवी ‘एक्सन म्यान’को बनाए । उनी विमानबाट हाम फाल्नेदेखि हावामा तैरिनेसम्मका कला देखाउँथे । नौसेनाबाट अलग भएपछि उनले प्रिन्स ट्रस्ट स्थापना गरे । उनको ट्रस्टबाट धेरै मानिस लाभान्वित भएका छन् । त्यसले आठ लाख २५ हजारभन्दा बढी विपन्न युवालाई पेसा खोज्न मद्दत गरिसकेको छ । ‘म सधैँ सबैको ख्याल गर्दै हुर्किएको हुँ,’ चार्ल्स भन्छन् ।
चार्ल्सको डायनासँग विवाह र सम्बन्धविच्छेद
चार्ल्सको व्यक्तिगत जीवनमा सन् १९७० को दशकमा थुप्रै प्रेमिका आए र गए । उनले सन् १९७९ मा आफ्नै शिक्षककी नातिनी अमान्डा नाचबुललाई विवाहको प्रस्ताव राखे, तर उनले अस्वीकार गरिन् । विवाह गर्न बढ्दो दबाबबीच ३२ वर्षीय राजकुमारले छोटो प्रेम सम्बन्धपछि सन् १९८१ को फेब्रुअरीमा १९ वर्षीया लेडी डायना स्पेन्सरलाई विवाहको प्रस्ताव गरे । लन्डनको सेन्ट पलको क्याथेड्रलमा सोही वर्षको २९ जुलाईमा उनीहरूको ‘परीकथा’को शैलीमा विवाह भयोे । विश्वव्यापी रूपमा टेलिभिजनमा प्रसारण गरिएको उक्त विवाह शताब्दीकै उत्कृष्ट समारोहमध्ये एक थियो । डायना र चार्ल्सबाट सन् १९८२ मा प्रिन्स विलियम र १९८४ मा ह्यारीको जन्म भयो । डायनाले राजशाही सिक्ने प्रयत्न गर्दागर्दै उनीहरूको सम्बन्ध बिग्रिँदै गयो । उनीहरू वैवाहिक सम्बन्धबाट टाढा हुँदै गए ।
चार्ल्सले पुरानो प्रेमी क्यामिलासँगको सम्बन्धलाई पुनः जगाए । सन् १९९२ मा डायनाबारे एउटा पुस्तक प्रकाशित भयो, त्यसको ६ महिनापछि यी दम्पती अलग भए । सन् १९९५ को नाेभेम्बरमा डायनाको एक आक्रामक अन्तर्वार्तापछि उनकी आमाले उनीहरूलाई सम्बन्धविच्छेद गर्न आग्रह गरिन् । सन् १९९६ को अगस्टमा चार्ल्स र डायनाको सम्बन्धविच्छेद भयो । सन् १९९७ मा पेरिसमा भएको एउटा कार दुर्घटनामा डायनाको मृत्यु भएपछि चार्ल्सले उनको शव पेरिसबाट ल्याए र पूर्ण शाही सम्मान प्रदान गर्न आग्रह गरेका थिए ।
सन् २००५ मा चार्ल्सले आफ्नो पुरानो प्रेमिका क्यामिलासँग एक नागरिक समारोहमा विवाह गरे । क्यामिला डचेस अफ कर्नवाल भइन् । चार्ल्स राजा हुँदा क्यामिलाको भूमिका के हुने भन्ने अन्योल भएकाले सन् २०२२ को सुरुमै महारानी एलिजाबेथले उनलाई ‘रानी कन्सोर्ट’को उपाधि दिएकी थिइन् । अन्तर्मुखी चार्ल्स स्पष्ट वक्ता मानिन्छन् ।