१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १o:३o:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पोखरा विश्वविद्यालयद्वारा आफ्नै शिक्षण अस्पताल सञ्चालन 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १o:३o:oo

- बहिरंग सेवा सुरु, तीन महिनाभित्र आकस्मिक सेवा सुरु हुने

- दुई वर्षभित्र मेडिकल कलेजसँगै एमबिबिएस पढाइ सुरु गर्ने तयारी 

पोखरा विश्वविद्यालयले आफ्नै शिक्षण अस्पताल सञ्चालनमा ल्याएको छ । पोखरा महानगरपालिका– ३० स्थित खुदी, ढुंगेपाटनमा रहेको विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरमा अस्पताल सञ्चालनमा आएको हो ।

सञ्चालनमा आएको अस्पतालमा हाल पहिलो चरणमा बिहीबारदेखि बहिरंग सेवा सुरु भएको छ भने अबको तीन महिनाभित्र आकस्मिक सेवा सुरु हुनेछ । विश्वविद्यालय स्थापना भएको १० वर्षदेखि शिक्षण अस्पताल स्थापनाको कुरा सुरु भए पनि त्यसको १५ वर्षपछि मात्र अस्पताल सञ्चालन गर्न विश्वविद्यालय सफल भएको हो ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले अस्पतालको उद्घाटन गरेका थिए । लगत्तै उपकुलपति अर्यालले अर्थोपेडिक ओपिडी र रजिस्ट्रार प्रा.डा. दीपकबहादुर भण्डारी स्त्री तथा प्रसूति सेवा सञ्चालनका लागि बहिरंग सेवा शुभारम्भ गरेका थिए । सेवा सुरु भएसँगै स्त्रीरोग विशेषज्ञ डा. मदन खड्काले पहिलो बिरामी स्थानीय सुशीला रेग्मीको स्वास्थ्य परीक्षण गरी उपचार कार्यको थालनी गरेका थिए ।

अस्पतालका कार्यकारी निर्देशक सहप्राध्यापक  दीपेन्द्रकुमार यादवले अस्पतालमा हाल एकजना प्रसूति तथा स्त्रीरोग विशेषज्ञ एवं एकजना अर्थोपेडिक सर्जनसँगै अन्य दुईजना मेडिकल अफिसरले बिरामीको जाँच गर्नेछन् । दैनिक दुई सयजनासम्मलाई ओपिडीमा सेवा दिने जनशक्ति रहेको बताए । अबको तीन महिनामा आकस्मिक सेवा सञ्चालन गर्ने जानकारी दिँदै आकस्मिकका लागि १० र जनरलका लागि ९० शय्या रहने उनले जानकारी दिए । 

विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालका अनुसार अस्पताल निर्माण एउटा बृहत् योजना भएको र यसका आवश्यक पूर्वाधार निर्माण गर्न अझै केही वर्ष लाग्ने भएकाले छात्राहरूले प्रयोग गर्दै आएको छात्रावासलाई स्वास्थ्य संस्थाको भवन तथा पूर्वाधारसम्बन्धी मापदण्डअनुरूप परिमार्जन गरी अस्पताल सञ्चालन गरिएको हो । यसका  लागि करिब आठ करोड खर्च भएको ढकालको भनाइ छ ।

अस्पताल भवनमा प्रशासनिक कार्यालय, बहिरंग विभाग (ओपिडी), अन्तरंग विभाग, आकस्मिक तथा शल्यचिकित्सा विभाग, सघन उपचार कक्ष, प्रयोगशाला, फार्मेसी, रेडियोलोजी विभागलगायत आवश्यक प्रतीक्षा कक्ष, सवारीसाधन पार्किङ, पानी विद्युत्, इन्टरनेटको व्यवस्थापन, फोहोर व्यवस्थापन आदिको व्यवस्था गरिएको छ । 

आफ्नै अस्पताल नहुँदा विश्वविद्यालयका प्यारामेडिकल विषयको प्रयोगात्मक अभ्यासका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा रामघाट, मनिपाल शिक्षण अस्पताल पोखरा फूलबारी, हिमालय आँखा अस्पताल पोखरा घारीपाटन, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर चितवनमार्फत सञ्चालन गर्दै आएको थियो ।

दुई वर्षभित्र मेडिकल कलेजसँगै एमबिबिएस पढाइ सुरु गर्ने तयारी 

विश्वविद्यालयका उपकुलपति अर्यालले दुई वर्षभित्र एमबिबिएसको पठनपाठन सुरु गर्ने गरी तयार गरेको जानकारी दिए । शिक्षण अस्पताल विश्वविद्यालयका लागि अपरिहार्य रहेकाले हाल पहिलो चरणमा बहिरंग सेवाको सुरुवात गर्न सकिएकोमा यसलाई विस्तार गरी दुई वर्षभित्रमा मेडिकल कलेजको रूपमा सञ्चालन  गरी एमबिबिएसको पढाइ सुरु गर्ने बताए ।

अस्पताल सञ्चालनले विश्वविद्यालयको उचाइ बढ्ने उल्लेख गर्दै अग्रगामी सोचका साथ समाज र देशलाई योगदान गर्नुपर्नेमा उनको जोड थियो । विश्वविद्यालयले हालै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्सँग स्वास्थ्यका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको जानकारी दिँदै विश्वविद्यालयको स्तरोन्नतिका लागि विद्यार्थी संख्या बढाउनुपर्ने र  यसका  लागि देशका विभिन्न भागमा आंगिक क्याम्पस खोल्ने योजना रहेको उनले बताए ।

पोखरा– ३० मा अवस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालय र प्राज्ञिक भवन कम्प्लेक्सको बीचमा रहेको ३५ रोपनी क्षेत्रफलको जग्गामा सुविधासम्पन्न र उच्चकोटिको अस्पतालसँगै मेडिकल कलेज निर्माण गर्ने योजना विश्वविद्यालयको छ । अस्पतालसँगै मेडिकल कलेजको स्थापनापछि एमबिबिएसलगायतका पढाइ सुरु गर्ने तयारी विश्वविद्यालयको छ । 

रजिस्ट्रार एवं अस्पताल सञ्चालक समितिका अध्यक्ष भण्डारीले विश्वविद्यालयहरूले सञ्चालन गर्ने यो देशकै, क्षेत्रकै एक उत्कृष्ट र स्मार्ट अस्पताल बनाउने सपना आफूहरूको रहेको बताए ।  

ad
ad