Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
टेकराज थामी काठमाडाैं
२०७९ भदौ २३ बिहीबार ०७:२८:००
Read Time : > 5 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बलात्कार अभियोग प्रमाणित भए सन्दीपलाई १२ वर्ष जेल 

Read Time : > 5 मिनेट
२०७९ भदौ २३ बिहीबार ०७:२८:००

प्रहरीले होटेलबाट सिसिटिभी फुटेज नियन्त्रणमा लियो, ‘प्राविधिक पक्ष’ केन्द्रमा राखेर अनुसन्धान सुरु

नाबालिग बलात्कार आरोपमा किटानी जाहेरी परेपछि प्रहरीले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध ‘प्राविधिक पक्ष’लाई केन्द्रमा राखेर अनुसन्धान अघि बढाएको छ । विशेष गरी ‘हाई प्रोफाइल’ वा आरोपी फरार भएका घटनामा यस खालका अनुसन्धान प्रक्रिया प्रयोगमा आउने गर्छ । अन्तर्राष्ट्रिय क्रिकेट म्याचमा सहभागी सन्दीप ‘हाई प्रोफाइल’ व्यक्ति हुन् । उनलाई तत्काल पक्राउ गर्न सक्ने अवस्था नभएकाले प्रहरीले घटना स्थापित गराउन अनुसन्धानको प्राविधिक पक्षलाई केन्द्रमा राखेको हो । उनी अहिले क्यारेबिन प्रिमियर लिग खेल्न ट्रिनिडाड एन्ड टोबागोमा छन् ।

सन्दीपविरुद्ध प्रहरी वृत्त गौशालामा मंगलबार १७ वर्षीया बालिकाले बलात्कार भएको भन्दै किटानी जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो । प्रहरीले यसक्रममा घटनास्थलको सिसिटिभी फुटेज, बेडरुमका तन्ना, सिरक, घटना हुँदा बखत बेडरुममा प्रयोग भएको डस्बिन, घटना हुँदा पीडितले लगाएको कपडा, पीडितको भेजाइना परीक्षण, सिडिआर (कल डिटेल रिपोर्ट), सामाजिक सञ्जाललगायत सामग्री संकलन गरिसकेको छ । प्रहरीले ‘मेनुअल’भन्दा पनि ‘टेक्निकल’ विशेषज्ञ टोलीलाई घटनास्थलमा परिचालन गरेको छ । अनुसन्धानको नेतृत्व भने जिल्ला प्रहरी परिसर काठमाडौंले लिएको छ ।

एसपी दिनेश मैनाली, प्रवक्ता, काठमाडौं परिसर
जबर्जस्ती करणी भएको भन्दै किशोरीको उजुरी दर्ता भएको छ । अनुसन्धानमा हामीले ‘टेक्निकल’ पक्षलाई जोड दिएका छौँ । यसका विविध पाटो हुन्छन् । अनुसन्धानमा आवश्यक पर्ने सबै तौरतरिकालाई प्रहरीले प्रयोग गर्छ । त्यो हामीले अहिले गरिरहेका छौँ ।

काठमाडौं परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले घटनाको अनुसन्धानमा ‘टेक्निकल’ पक्षलाई केन्द्रमा राखिएको बताए । ‘जबर्जस्ती करणी भएको भन्दै किशोरीको उजुरी दर्ता भएको छ । अनुसन्धानमा हामीले ‘टेक्निकल’ पक्षलाई जोड दिएका छौँ । यसका विविध पाटो हुन्छन् । अनुसन्धानमा आवश्यक पर्ने सबै तौरतरिकालाई प्रहरीले प्रयोग गर्छ । त्यो हामीले अहिले गरिरहेका छौँ,’ उनले भने ।

घटना अनुसन्धानका लागि प्रहरीको प्राविधिक टोली गौशालास्थित काठमाडौं इन होटेलमा पुगेर सिसिटिभी फुटेज नियन्त्रणमा लिएको छ । सन्दीप र बालिका बसेको ३०५ नम्बरको कोठामा प्राप्त दशी–प्रमाण संकलनमा जुटेको छ । घटनाका दिन दुईबीच भएका टेलिफोन कुराकानी, होस्टेलआसपासका सिसिटिभी फुटेज, नगरकोटको होटेल र त्यहाँको सिसिटिभी फुटेज पनि प्रहरीले संकलन गरेको छ । दुईबीच सामाजिक सञ्जाल इन्स्टाग्राममा पनि कुराकानी हुने हुँदा त्यो पनि संकलन गर्न जुटेको छ । डिलिट भएका अन्य च्याट पनि रिकभर गर्ने प्रहरी तयारी छ । घटना भएको दिन पीडितले लगाएको अन्तवस्त्रसहितको कपडा पनि प्रहरीले नियन्त्रणमा लिएको छ । संकलित सोही दशी–प्रमाणका आधारमा प्रहरी आफ्नो अनुसन्धानप्रति ढुक्क छ ।

अभियोग पुष्टि भए १० देखि १२ वर्ष कैद 
नेपालको कानुनले १८ वर्षभन्दा कम उमेरकालाई बालबालिका मानेको छ । मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा २१९ को उपदफा २ अनुसार कसैले पनि मञ्जुरी लिएर वा नलिएर १८ वर्षभन्दा कम उमेरको कुनै पनि बालिकासँग यौन सम्बन्ध राखे त्यो जबर्जस्ती करणी गरेको ठहरिनेछ । ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिनेछ,’ दफामा भनिएको छ । उपदफा ३ को (घ)मा १६ वर्ष वा त्यसभन्दा माथि १८ वर्षभन्दा कम उमेरको महिलालाई करणी गरे १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने भनिएको छ । उजुरीमा उल्लेख भएअनुसार बलात्कृत पीडित १७ वर्षकी छिन् । 

त्यसपछि नजिकिए सन्दीप
प्रहरीमा दर्ता उजुरीमा उल्लेख भएअनुसार पीडित सन्दीपसँग ‘स्न्यापच्याट’मार्फत नजिकिएकी थिइन् । यसपछि उनीहरू ‘इन्स्टाग्राम’मा पनि जोडिए । विशेष गरी दुई पक्षबीच स्न्यापच्याटमा कुराकानी हुने गथ्र्यो । यही क्रममा दुईबीच भेट भयो । ६ भदौमा केन्यामा हुने एकदिवसीय र टी–२० सिरिजमा सहभागी हुनुपर्ने भएपछि त्यसअगावै बालिकासँग ‘डेट’मा जान सन्दीपले जोड गरे । यसका लागि धुलिखेल जाने र ‘वान नाइटे स्टे’ गर्ने सन्दीपको प्रस्ताव थियो । सन्दीपले ढिपी नछाडेपछि काठमाडौंकै कुनै रेस्टुरेन्टमा भेट्न बालिका राजी भएकी थिइन् । सोही कारण सन्दीप आफ्नो कार लिएर उनलाई लिन होस्टेलमै पुगेका थिए । 

घटना ५ भदौ साँझको थियो । बालिका कारमा बसेपछि उनी भक्तपुरतर्फ लागेका थिए । योजनाभन्दा अर्कैतर्फ घटना मोडिएपछि बालिकाले सन्दीपसँग ‘कहाँ जान लागेको’ भन्दै प्रश्न गरेकी थिइन् । ‘नगरकोट जाने केही बेर ह्याङ आउट’ हुने भनेपछि उनी डराएकी थिइन् । दुईबीच केहीबेर कारभित्रै गलफत्ती पनि भएको थियो । उनीहरू नगरकोट बेलुकाको १० बजे पुगेका थिए । होटेलको रेस्टुरेन्टमा बसेर सन्दीपले मदिरा पिउन सुरु गरेपछि बालिकाको मनमा शंका उत्पन्न भएको थियो । डराएकी उनले काठमाडौं फर्कन जोड गरेकी थिइन् 

बालिकाले धेरै जोड गरेपछि सन्दीप करिब ११ बजे नगरकोटबाट हिँडेका थिए । त्यसवेलासम्म बालिका बस्ने होस्टेल बन्द भइसकेको थियो । पीडितले सन्दीपसँग सहयोग मागेपछि गौशालास्थित होटेलको प्रसंग निस्कियो । बालिकाले दुईवटा कोठा लिन भने पनि सन्दीपले एउटा मात्र कोठा बुक गरे । आफूसँग कुनै विकल्प नभएपछि बालिकासँग विकल्प थिएन । त्यसो हुँदा दुवै एउटै कोठामा बसे । सन्दीपले कोठामै मदिरा मगाए । र, पुनः पिउन थाले । संयुक्त बसाइका यही क्रममा सन्दीपले पटक–पटक बलात्कार गरेको बालिकाले प्रहरीमा दर्ता गरेको उजुरीमा उल्लेख छ । सिसिटिभी फुटेजबाट पनि सन्दीप र बालिका होटेल पुगेको पुष्टि भएको छ । काठमाडौं परिसरका प्रवक्ता एसपी मैनालीले उनीहरू बेलुकाको २३:५५ बजे होटेलमा देखिएको बताए । 

स्न्यापच्याट ब्लकपछि प्रहरीमा उजुरी
६ भदौ बिहान ६ बजे दुवै होटेलबाट बाहिरिए । कारबाटै सन्दीपले बालिकालाई होस्टेलमा छाडे । उनी घर फर्के र केन्या उड्ने तयारीमा जुटे । बालिका सन्दीपसँग कुरा गर्न चाहन्थिन् । उनले फोन र सामाजिक सञ्जालमार्फत सन्दीपसँग सम्पर्क गर्न पनि खोजिन् । तर, सन्दीपले आफ्नो स्न्यापच्याट मात्र नभई इन्स्टाग्राममा समेत ब्लक गरिदिए । त्यसपछि मात्र उनले आफू सन्दीपबाट प्रयोग भएको महसुस गरिन् । तनावमा रहेकी बालिकाले ५ भदौको घटना साथीसंगीसँग सेयर गरिन् । सन्दीप सम्पर्कमा नआएपछि उनी प्रहरीमा उजुरी दिने पुगिन् । 

क्यानले सन्दीपलाई कप्तानबाट नहटाउने
नेपाल क्रिकेट संघ (क्यान)ले कप्तान सन्दीपलाई तत्काल कप्तानबाट नहटाउने भएको छ । बलात्कारको आरोप लागेपछि नैतिकताका आधारमा सन्दीपलाई कप्तानीबाट हटाउनुपर्ने दबाब छ । ‘हामीले केही छलफल गरेका छैनौँ, सन्दीपको सम्बन्धमा कानुनी कुरा हो, कानुनअनुसार सहयोग गर्न तयार छौँ,’ क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले भने, ‘सम्बन्धित निकायले कारबाही गर भन्यो भने मात्र गर्ने हो ।’ 

संकटमा सन्दीपको करिअर

सन्दीप लामिछाने छोटो समयमै अन्तर्राष्ट्रिय टी–२० फ्रेन्चाइजमा स्थापित नेपाली क्रिकेटरमा पर्छन् । विश्वभरि आयोजना हुने चर्चित टी–२० लिगमा सहभागी टोलीका नजरमा सन्दीप प्रिय स्पिनर हुन् । विश्वकै चर्चित लिग इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्ने उनी एक मात्र नेपाली खेलाडी हुन् । भारत, अस्ट्रेलिया, युएई र क्यारेबियन विश्वप्रसिद्ध लिगमा आबद्ध हुँदै उनी करोडौँ कमाउन सफल भएका छन् । पछिल्लो दुई महिनाभित्र उनी लगातार अन्तर्राष्ट्रिय टी–२० फ्रेन्चाइज लिगमा आबद्ध भए । खेलेरै करोडपति बन्ने नेपाली खेलाडीको सौभाग्य सन्दीपले मात्र पाएका छन् ।

नेपालदेखि विदेशी लिगमा समेत स्टार ट्याग कमाएका सन्दीपको  यो प्रकरणपछि करिअर संकटमा परेको छ । बलात्कार आरोप प्रमाणित भए नेपाली कानुनअनुसार सन्दीपले जेल सजाय भोग्नुपर्नेछ । उनले आफूमाथि लगाइएको आरोपबारे केही पनि प्रतिक्रिया दिएका छैनन् । 

पहिलो नजरमै मोहित दासानायके 
उमेर समूहमा सन्दीप आफ्नो गाउँबाट १८ किमि टाढा रहेको चितवन क्रिकेट एकेडेमीमा दिनहुँ प्रशिक्षणमा आउँथे । यो एकेडेमीमा नेपालका पूर्वकप्तान राजु खड्काले खेलाडीलाई प्रशिक्षण दिन्थे । एकेडेमीमा सन्दीपले पहिलो दिन बलिङ गर्दै प्रशिक्षक खड्कालाई प्रभावित पारेका थिए । सन्दीपले अरूभन्दा फरक किसिमले बल फ्याँक्थे । सन्दीप नेपाली राष्ट्रिय यू–१९ टोलीमा छनोट भएनन् । यही समयमा नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक पुबुदु दासानायके नयाँ युवा खेलाडीको खोजीमा थिए । संयोग नै मान्नुपर्छ, दासानायके ट्यालेन्ट हन्ट कार्यक्रमअन्तर्गत चितवन पुगेका थिए । सन्दीपको जादुमयी बलिङ देख्दा दासानायकेले अचम्म माने । तत्कालै उनले सन्दीपलाई काठमाडौं बोलाएर राष्ट्रिय टोलीको क्याम्पमा राखे । नेपाल सन् २०१९ को एकदिवसीय विश्वकप छनोटको तयारीमा थियो । दासानायकेले विश्वकप छनोटका लागि ‘जर्नी अफ विश्वकप’ नाम राखी प्रतियोगिता नै आयोजना गरे । सन्दीप एकैपटक टोलीमा परे । नेपाली राष्ट्रिय टोलीमा परेपछि सन्दीपले अहिलेसम्म पछाडि फर्केर हेर्नुपरेन । आफ्नै क्षमतामा उनी नेपाली राष्ट्रिय टोलीका कप्तान नै बने । 

अस्ट्रेलियन क्रिकेटर क्लार्कको नजरमा
सन्दीप अन्तर्राष्ट्रिय टी–२० फ्रेन्चाइजमा स्थापित हुनुअघि अस्ट्रेलियन पूर्वकप्तान माइकल क्लार्कको योगदान महत्वपूर्ण मान्नुपर्छ । क्लार्कले नै सन्दीपको क्षमता देखेर अस्ट्रेलियामा प्रशिक्षण गर्न बोलाएका थिए । क्लार्कले पहिलोपटक हङकङ ब्लिजमा सन्दीपको प्रदर्शन देखेका थिए । भर्खरको युवा खेलाडी र स्पिनर सन्दीपले विश्वस्तरीय बलिङ गरेको देख्दा क्लार्कलाई सुरुमा विश्वास नै लागेन । यसैबीचमा सन् २०१६ को आइसिसी यू–१९ विश्वकपमा नेपालले सहभागिता जनायो । जहाँ सन्दीपले आयरल्यान्डविरुद्ध ह्याट्रिक नै गरे । यू–१९ विश्वकपमा ह्याट्रिक गर्ने उनी पाँचौँ खेलाडी थिए । सन्दीपले आयरल्यान्डविरुद्ध २७/५ को उत्कृष्ट प्रदर्शन गरेका थिए । हङकङ ब्लिज र यू–१९ विश्वकपको प्रदर्शनपछि सन्दीपलाई क्लार्कले अस्ट्रेलियामा प्रशिक्षण गर्न निमन्त्रणा दिए । अस्ट्रेलियामा क्लार्कसँगको सहकार्यले सन्दीपको भाग्य नै खोल्यो । 

आइपिएलमा आबद्ध 
सन् २०१८ मा आइपिएलको अक्सन हुँदा सन्दीप एसोसिएट राष्ट्रबाट विदेशी कोटामा थिए । दिल्ली डेयरडेभिल्सका प्रशिक्षक तथा अस्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङले सन्दीपलाई २० लाख भारुमा अनुबन्ध गरे । आइपिएलमा सन्दीपको आबद्धता धेरैले अप्रत्याशित माने । सन्दीप आइपिएलमा आबद्ध भएसँगै क्रिकेटप्रेमीहरू निकै उत्साहित भए । सामाजिक सञ्जालहरूमा बधाईको ओइरो नै लाग्यो । नेपालका तत्कालीन प्रधानमन्त्री केपी ओलीले ट्विट गर्दै भनेका थिए, ‘बधाई सन्दीप ! म मात्र होइन, सारा नेपालीको तिमीमाथि गौरव छ । तिम्रो आगामी यात्रा अझ रोचक बनोस् ।’ पहिलो सिजनमै उत्कृष्ट बलिङ प्रदर्शन गरेका कारण सन्दीप थप दुई सिजन दिल्लीमै रहे । 

व्यस्त नेपाली क्रिकेटर 
आइपिएलको प्रदर्शनसँगै सन्दीपको अन्तर्राष्ट्रिय टी–२० फ्रेन्चाइजमा ढोका खुल्यो । सन् २०१८ देखि २०२२ सम्मको अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा सन्दीप टी–२० फ्रेन्चाइज लिगकै हटकेक खेलाडी बने । यो अवधिमा उनी सेन्ट किट्स, लियोपार्ड, बिग बासमा मेलबर्न स्टार्स, स्यलेट सिक्सेज, लाहोर, बाबाडोर्स, जमैका तथा होबर्ट हरिक्यान्सजस्ता प्रसिद्ध टोलीमा अनुबन्ध हुँदै करोडौँ रूपैयाँ कमाए । इंग्ल्यान्डमा आयोजना भएको द हन्ड्रेडबलमा उनी एक लाख पाउन्डमा आबद्ध भए । यद्यपि, उनले द हन्ड्रेडबलमा सहभागिता जनाउन पाएनन् । यो सिजनमा उनी पाँच फ्रेन्चाइज लिगमा आबद्ध भएका छन् । ‘द सिक्स्टी’मा सन्दीप जमैका तलावाजमा आबद्ध भएका थिए । क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न उनी वेस्ट इन्डिजमै छन् । सन्दीप श्रीलंकाको लंका प्रिमियर लिगमा पनि आबद्ध छन् । सन्दीप युएईको फ्रेन्चाइज लिग इन्टरनेसनल लिग टी–२० (आइएल टी–२०) को मार्की खेलाडीको रूपमा आबद्ध भएका छन् ।