मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ २० सोमबार ११:५८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मल नल्याउने दुई कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ २० सोमबार ११:५८:००

समयमै रासायनिक मल नल्याउने चार ठेकेदार कम्पनीमध्ये दुईवटालाई कालोसूचीमा राख्न सिफारिस गरिएको छ । र, अरू दुई, देश ट्रेडर्स र जेनट्रेडस ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्ने पक्रिया अघि बढेको छ । कृषि सामग्री कम्पनीका निमित्त प्रबन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीका अनुसार सिल्क मार्केट र सिल्क जेभीलाई कालोसूचीमा राख्न सिफारिस गरिएको छ ।

सिल्क मार्केटले आर्थिक वर्ष ०७७/७८ मा पाँच हजार डिएपी मल ल्याउने सम्झौता भएको थियो भने सिल्क जेभी कम्पनीले २५ हजार युरिया मल ल्याउन आर्थिक वर्ष ०७७/७८ मा ठेक्का सम्झौता भएको थियो । तर, कम्पनीहरूले मल नल्याएपछि २१ दिने सूचना दिएर स्पष्टीकरण सोधिएको उनले जानकारी दिए । कार्कीले भने, ‘हामीले स्पष्टीकरण सोध्दा चित्तबुझ्दो उत्तर नपाएपछि कृषि तथा पशुपक्षी मन्त्रालयमा सिफारिस पठाएका हौँ ।’

त्यस्तै, देश ट्रेडर्स र जेनट्रेडर्स कम्पनीलाई पनि कालोसूचीमा राख्ने पक्रिया अघि बढेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिए । कृषि सामग्री कम्पनीकै सिफारिसमा यी कम्पनीलाई पनि कालोसूचीमा राख्ने प्रक्रिया अघि बढेको हो । आर्थिक वर्ष ०७८/७९ का लागि यी चार कम्पनीले एक लाख पाँच हजार टन मल ल्याउने ठेक्का पाएका थिए । तर, कम्पनीहरूले मल नल्याउँदा धान रोपाइँको समयमा किसानलाई मलको हाहाकार भएको थियो ।

अझै पनि युरिया मलको हाहाकार नै छ । कार्कीका अनुसार सिफारिस भएसँगै कम्पनीले राखेको १०–१० करोड रुपैयाँ धरौटी रकम जफत हुनेछ । कृषि सामग्री कम्पनीले १८ भदौमा गरेको निर्णयअनुसार कृषि तथा पशुपक्षी विकास मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा सिफारिस गरेको हो । प्रधानमन्त्री कार्यालयमातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले दुवै कम्पनीलाई कालोसूचीमा राख्नेछ ।