१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १८ शनिबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ १८ शनिबार १९:५४:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

केन्यालाई हराउँदै नेपालले जित्यो एकदिवसीय श्रृंखला

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ १८ शनिबार १९:५४:oo

केन्यासँगको तीन एकदिवसीय क्रिकेट म्याचको श्रृंखला नेपालले जितेको छ। दोस्रो म्याचमा केन्यालाई १६ रनले हराउँदै नेपालले एक म्याचअघि नै श्रृंखला जितेको हो। 

केन्याको राजधानी नैरोबीमा आज भएको खेलमा नेपालले दिएको २ सय ३१ रनको लक्ष्य पछ्याएको केन्या २ सय १४ रनमै समेटियो। केन्या ४६ ओभर ३ बलमा अलआउट भयो। 

मध्यम लक्ष्य पछ्याएको केन्या एक समय खेलमाथि निकै हाबी देखिएको थियो । तर, दीपेन्द्रसिंह ऐरीले एकपछि अर्को गर्दै चार विकेट लिएपछि केन्या श्रृंखला गुमाउन बाध्य भयो। अन्तिम विकेट पनि दीपेन्द्रकै नाममा रह्यो। 

नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए। उनले पहिलो ओभरको पहिलो बलमै विकेट लिएर उत्कृष्ट सुरुवात दिलाएका थिए। तर, रकेप पटेलले केन्याको इनिङ सम्हाले। एक छक्का र सात चौकाको मद्दतले ८२ रन बनाइसकेको अवस्थामा रकेप दीपेन्द्रको बलमा आउट भए। 

रकेप आउट भएपछि खेलमा नेपाल फर्कियो। यो श्रृंखलामा ब्याटिङमा खासै योगदान गर्न नसकेका दीपेन्द्रले आज ५ ओभर ३ बलमा जम्मा १२ रन दिएर निकै किफायती बलिङसहित चार विकेट लिए।
केन्याको तर्फबाट कोलिनले ३७ रन बनाए। अन्य खेलाडीको संघर्ष फलदायी बन्न सकेन। रकेपले नेहेमिया अधिअम्बोसँग पनि ५० रनको साझेदारी गरेका थिए। तर, यो साझेदारी पवन सर्राफले तोडे। 

केन्याका लागि नेलसन अधिअम्बोले २८, इरफान करिमले ८ रन बनाएका थिए। २ सय ३१ रनको मध्यम लक्ष्य पछ्याएको केन्याको सुरुवात राम्रो हुन सकेन। दोस्रो इनिङको पहिलो बलमा ओपनर सुखदीप सिंहलाई सोमपाल कामीले बोल्ड गरेका थिए।

त्यसअघि नेपालले कप्तान रोहित पौडेलको ७८ रनको मद्दतले केन्यालाई २३१ रनको विजयी लक्ष्य दिएको थियो। टस जितेर बहिले ब्याटिङ गरेको नेपालले ४९.३ बलमा अलआउट हुँदै २३० रन बनाएको थियो।

नेपालको लागि देव खनालले ३७, सोमपाल कामीले २६ र ज्ञानेन्द्र मल्लले २५ रन बनाए। अन्य खेलाडीले प्रभावशाली रन बनाउन सकेनन् । 

पहिलो म्याचमा सतक बनाएका मोहम्मद आसिफ सेख घुँडामा लागेको चोटका कारण आजको खेलमा सहभागी थिएनन्। उनको स्थानमा देव खनालले मौका पाएका थिए। राम्रो सुरुवात गरे पनि खनालले इनिङलाई धेरैमाथिसम्म लैजान सकेनन्।