शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शैक्षिक क्षेत्रको विकासका लागि विश्वविद्यालय तालामुक्त बनाउने अभियानमा लाग्नुपर्ने बताएका छन्। शुक्रबार ६९औँ वाणिज्य दिवस र नवनिर्मित शैक्षिक भवन उद्घाटनको अवसरमा शंकरदेव क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
मन्त्री पौडेलले विश्वविद्यालयका समस्या समाधान गरेर तालामुक्त बनाई शैक्षिक पठनपाठनको व्यवस्था गर्नुपर्ने बताए। ‘शिक्षाविना केही राम्रो हुँदैन। शिक्षा सुधारका लागि विश्वविद्यालय राम्रो हुन आवश्यक छ,’ उनले भने, ‘विश्वविद्यालयमा ताला नलगाऔँ, मुक्त बनाऔँ र पठनपाठनको व्यवस्था सिर्जना गरौँ।’
शिक्षा सुधारका लागि विश्वविद्यालय र शैक्षिक संस्थाहरू राम्रो हुनुपर्नेमा मन्त्री पाैडेलकाे जोड छ। नेपालमा उच्च शिक्षा लिन नचाहेर विदेश जाने विद्यार्थीको लहर चलेको भन्दै मन्त्री पौडेलले नेपालमै उच्च शिक्षा अध्ययनको वातावरण बनाउन विज्ञहरूसँग छलफल भइरहेको जानकारी दिए।
‘हामीले नेपालमा उच्च शिक्षालाई योभन्दा माथि पुर्याउन के गर्नुपर्छ भन्ने विषयमा केन्द्रित रहेर छलफल गरेका छौँ। विदेशमा विद्यार्थी जाने लहर चलेको छ। सरकार, शिक्षा मन्त्रालय गम्भीर छ,’ उनले भने।