१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार ११:४९:oo
Read Time : > 2 मिनेट
ad
ad
साहित्य डिजिटल संस्करण

कुलचन्द्र गौतमको आत्मकथा सार्वजनिक

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:४९:oo

राणाकालतिरै गुल्मीको दुर्गम भेगमा जन्मिएका एक सामान्य नेपालीले आफ्नै बलबुताबाट राष्ट्रसंघीय मुख्यालयमा उपल्लो ओहाेदासम्मको यात्रा तय गरे । त्यसअघि सत्तरीको दशकदेखि २१औँ शताब्दीको प्रारम्भसम्मै विश्वइतिहासलाई प्रभावित पारेका थुप्रै मुलुकमा राष्ट्रसंघीय निकायका प्रतिनिधि बनेर उनले त्यहाँका महिला तथा बालअधिकारसम्बन्धी समस्याको समाधानमा जुट्ने अवसर पाए । विश्वले चिनेका ठूला नेतादेखि लिएर राष्ट्र एवं सरकार प्रमुखहरूसँग टेबलमा बसेर वार्ता गरे । कतिपयसँग त तिनका घरमै पुगेर ‘चियर्स’ गरे ।

उनी हुन्, कुलचन्द्र गौतम । नेपाली पात्रको निजी अनुभवलाई पछ्याएका पुस्तकहरू विरलै योस्तरका वैश्विक घटनाहरूमा प्रवेश गर्छन् । त्यस्ता दुर्लभ अनुभवहरू समेटिएको ‘कुलचन्द्र गौतम : आत्मकथा’ अब पाठकहरूसामु प्रस्तुत भएको छ । यो पुस्तकलाई पब्लिकेसन नेपालयले तयार पारेको हो । गौतमका भोगाइ र संघर्ष अहिलेको पुस्ताका निम्ति रोचक कथा प्रतीत हुन्छ ।

एसएलसीलगत्तै अमेरिकी विश्वविद्यालयको छात्रवृत्ति पाएका गौतमलाई पढ्न जानका निम्ति तत्कालीन सरकारले पासपोर्ट दिन मानेन । यो मामला उतिवेला शिक्षा मन्त्रालयको एउटा टेबलबाट माथि उठेर मन्त्रिपरिषद् हुँदै स्वयं तत्कालीन राजा महेन्द्रसम्म पुगेको रोचक जानकारी पुस्तकमा समेटिएको छ ।

यसरी गौतमले मुलुकभित्रैबाट थालेको संघर्षबाट सुरु भएको यात्रा कालान्तरमा अमेरिकी विश्वविद्यालयहरू हुँदै संयुक्त राष्ट्रसंघको सहायक महासचिव एवं युनिसेफका उपकार्यकारी निर्देशकसम्म पुगेको छ ।

यसअघि पनि पब्लिकेसन नेपालयबाटै अंग्रेजीमा गौतमको जीवनी प्रकाशन भइसकेको छ । प्रस्तुत पुस्तक ‘कुलचन्द्र गौतम : आत्मकथा’ भने लेखक गिरीश गिरीसँगको सहकार्यमा तयार पारिएको हो ।

यो पुस्तक विश्व इतिहासलाई प्रभावित पारेका महत्वपूर्ण घटनामा पनि प्रवेश गरेको छ । गौतमले युनिसेफको जागिर सुरु गर्दा पहिलो जिम्मेवारी नै कम्बोडियाको राजधानी नोम्पेन्हबाट थालेका थिए । त्यतिवेला ‘पूर्वको प्यारिस’ भनिने नोम्पेन्हमा एकातिर भर्खर बिहे गरेर श्रीमतीसहित पुगेका तन्नेरी गौतमको रोमान्स चलिरहेको हुन्छ भने अर्कोतिर मेकोङ नदीको पारिबाट लगातार विद्रोही खमेररुजले गरिरहेका बम प्रहार । यस्तै अवस्थाबीच गौतमले काम गर्दागर्दै एक दिन नोमपेन्हको पतन हुन्छ । राजधानी विद्रोहीको कब्जामा परेपछि भएभरका विदेशीको भागाभाग चल्छ । गौतम पनि ज्यान जोगाएर भाग्छन् ।

त्यसपछि पनि लगातार गौतमले एकपछि अर्को संकटग्रस्त मुलुकमा जिम्मेवारी सम्हाल्दै जान्छन् ।

लामो कालखण्डसम्म हामीले सुन्दै आएको संसारकै महत्वपूर्ण घटना र तिनका पात्रबारे हाम्रै नेपालीले गरेको प्रत्यक्षदर्शी वर्णनको रूपमा पनि यो पुस्तक अघि बढेको छ । नेल्सन मण्डेलाजस्ता बितेको शताब्दीकै गिनेचुनेका नायकहरूसँगको व्यक्तिगत अनुभवहरू पुस्तकमा समेटिएका छन् ।

गौतमलाई उनी अध्ययनरत अमेरिकी संस्था ‘डार्टमथ’ले हालै मानार्थ विद्यावारिधिसमेत प्रदान गरेको छ । सन् १७६९ मा स्थापित डार्टमथ उत्कृष्ट अमेरिकी शिक्षण संस्थाहरूको समूह ‘आइभी लिग’अन्तर्गत पर्छ । गौतमले सन् १९६८ को सेप्टेम्बरबाट त्यहाँ पढाइ सुरु गरेका थिए । त्यो शिक्षण संस्था स्थापना भएको दुई सय वर्षपछि पहिलोपटक गौतमकै पहलमा सन् १९७० मा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको एसाेसिएसन खोलिएको थियो र त्यसको पहिलो अध्यक्ष पनि गौतम नै निर्वाचित भएका थिए । डार्टमथबाट ‘अन्तर्राष्ट्रिय सम्बन्ध’मा स्नातक गरेका गौतमले लगत्तै अमेरिकाकै प्रिन्सटन विश्वविद्यालयबाट ‘आर्थिक विकास र आधुनिकीकरण’मा स्नातकोत्तर गरे ।

त्यसलगत्तै उनले युनिसेफको जागिरबाट व्यावसायिक जीवन सुरु गरेका थिए ।

सन् २००८ मा राष्ट्रसंघको सेवाबाट अवकाश लिएका गौतमले त्यसपछि पनि थुप्रै अन्तर्राष्ट्रिय संघसंस्थामा आबद्धता जनाउनुका साथै नेपालको शान्ति प्रक्रियामा पनि नागरिक अगुवाका रूपमा सघाउ पुर्‍याउने काम गर्दै आएका छन् । ०६६-०६८ मा उनी नेपालको शान्तिप्रक्रिया र अन्तर्राष्ट्रिय मामिला सम्बन्धमा प्रधानमन्त्रीको अवैतनिक विशेष सल्लाहकारसमेत थिए ।

गौतमलाई मानार्थ विद्यावारिधि प्रदान गर्नुअघि पनि डार्टमथ कलेजले उसका सबैभन्दा प्रतिष्ठित पूर्वविद्यार्थीहरूलाई प्रदान गर्दैआएको ‘मार्टिन लुथर किंग जुनियर सोसल जष्टिस अवार्ड’ तथा ‘लेस्टर बी ग्रेन्जर अवार्ड फर लाइफटाइम अचिभमेन्ट’जस्ता सम्मान सन् २००९ मा प्रदान गरेको थियो । त्यसको ६ वर्षपछि सन् २०१५ मा पनि दिक्षान्त समारोहमा विद्यार्थीलाई सम्बाेधनका निम्ति विशेष वक्ताका रूपमा गौतमलाई डार्टमथले निम्त्याएको थियो । उनलाई यसरी सम्बाेधन गर्ने निम्तो डार्टमथका अध्यक्ष जिम योङ किमले दिएका थिए जो पछि विश्व बैंकका अध्यक्षसमेत बन्न पुगे ।

‘मेरो जीवनकथा अब नेपाली पाठकमाझ पनि आउँदै गर्दा असाध्यै खुसी छु,’ गौतम भन्छन्, ‘मैले पाएका अवसरहरू, सामना गरेका चुनौती र चालेका पाइलाहरू भावी पुस्ताका नेपालीको निम्ति उपयोगी हुने विश्वास छ ।’

‘हामीले विगतमा प्रकाशन गर्दै आएको जीवनी पुस्तकका सिलसिलालाई नै निरन्तरता दिएर यो कृति पनि तयार पारेका हौं,’ पब्लिकेसन नेपालयकी प्रमुख कार्यकारी सैजन मास्के भन्छिन्, ‘नेपालको अत्यन्त पिछडिएको ग्रामीण परिवेशबाट आफ्नै बलबुताले उभिएर संयुक्त राष्ट्र संघको मुख्यालयसम्म पुगेका गौतमको यो रोमाञ्चक जीवनी आफैँमा अनुकरणीय दस्ताबेज पनि बन्न पुगेको छ ।’

चार सय ७२ पृष्ठ लामो ‘कुलचन्द्र गौतम : आत्मकथा’ पुस्तकको मूल्य नेपाली बजारका लागि ७५० रुपैयाँ राखिएको छ । साथै पुस्तक देशका सबै प्रमुख पुस्तक पसलमा उपलब्ध रहनेछ ।

ad
ad