भिसा लाग्न ढिला भएका कारण केन्याविरुद्ध आजदेखि हुने टी–२० खेलमा मुख्य नेपाली खेलाडी सहभागी हुन नसक्ने भएका छन् । भिसामा ढिलाइका कारण केही नेपाली खेलाडी खेल सुरु हुने दिन बिहीबार मात्रै केन्या पुग्ने भएका छन् । नेपाल र केन्याबीचको पाँच टी–२० शृंखला आजबाट नैरोबीको जिमखानामा हुँदै छ । नेपाल क्रिकेट संघ (क्यान)ले १६ खेलाडीसहित पाँच अफिसियललाई केन्याका लागि सोमबार बिदाइ गरे पनि केही खेलाडी र अफिसियलको भिसा आएको थिएन । भिसा लागेका ११ खेलाडीसहित तीन अफिसियल केन्या पुगिसकेका छन् । बाँकी खेलाडीको मंगलबारसमेत भिसा आएको थिएन ।
तीव्र गतिका बलर सोमपाल कामी र विवेक यादवको बुधबार बिहान भिसा आएसँगै केन्या प्रस्थान गरेका छन् । दुवै खेलाडीले सम्भवतः पहिलो खेल गुमाउनेछन् । क्यानका म्यानेजर विनोद दासले बुधबार गएका दुई खेलाडीले सम्भवतः पहिलो खेल खेल्ने बताए । ‘हामीले उहाँहरूलाई भिसा आएलगत्तै पठाएका छौँ । उहाँहरू आज राति नै केन्या पुग्नुहुन्छ । सम्भवतः पहिलो खेलमा उपलब्ध हुनुहुनेछ । खेल पूर्वनिर्धारित समयमै (बिहीबार दिउँसो ३ः४५ ) हुन्छ,’ दासले भने ।
नेपालले केन्यासँग सुरुमा पाँच टी–२० र त्यसपछि तीन एकदिवसीय खेल खेल्नेछ । पहिलो खेल ९ भदौमा, दोस्रो १० भदौमा, तेस्रो १२ भदौमा, चौथो १३ भदौ र पाँचौँ १४ भदौमा हुनेछ । यस्तै, दुई दिनको विश्रामपछि एकदिवसीय खेल हुनेछ । पहिलो एकदिवसीय खेल १७ भदौमा हुनेछ भने दोस्रो १८ भदौमा र अन्तिम खेल २० भदौमा हुने तालिका रहेको छ ।
आदिल, साहब र बसिर समयमै नपुग्ने
क्यानका म्यानेजर दासका अनुसार सोमपाल र विवेक सम्भवतः समयमै पुग्ने र खेलमा समेत उपलब्ध हुने सम्भावना छ । तर, अलराउन्डर आदिल अन्सारी र म्यानेजर सुनील महासेठ भने बुधबार राति मात्रै त्यसतर्फ प्रस्थान गरेका छन् । फिटनेस ट्रेनर अब्दुल सतारसहित खेलाडी साहब आलम र बसिर अहमद बिहीबार बिहान केन्या प्रस्थान गर्नेछन् । ‘भिसा आएपछि हामीले खेलाडीलाई रोकेको छैन । बुधबार बिहान सोमपाल र विवेक गए । आदिल र टिम म्यानेजर राति गए । साहब र बसिर अहमदसहित फिटनेस ट्रेनर भने बिहीबार बिहान प्रस्थान गर्नेछन् ।’
नेपाल र केन्या पहिलोपटक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेल्दै छन् । यसअघि टी–२० खेलमा भने दुईपटक भेट भएको छ । दुवै खेलमा नेपाल विजयी भएको छ ।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले शृंखला जित्ने विश्वास व्यक्त गरेका छन् । यस्तै, कप्तान सन्दीप लामिछानेले युवा खेलाडी र पुनरागमन गरेका खेलाडी एकसाथ खेल्न उत्सुक रहेको र शृंखला आफ्नो पक्षमा हुने बताए ।
नेपाल र केन्याबीच पहिलो अन्तर्राष्ट्रिय खेल
नेपाल र केन्या पहिलोपटक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेल्दै छन् । यसअघि टी–२० खेलमा भने दुईपटक भेट भएको छ । दुवै खेलमा नेपाल विजयी भएको छ । सन् २०१२ मार्चमा भएको आइसिसी टी–२० विश्वकप छनोटमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । यस्तै, नोभेम्बर २०१३ मा भएको आइसिसी टी–२० विश्वकप छनोटमा नेपालले केन्यालाई ६ विकेटले हराएको थियो । दुवै खेल दुबईमा भएको थियो ।
प्रशिक्षक प्रभाकरका लागि पहिलो खेल
नेपाल क्रिकेट संघ (क्यान)ले पुवुदु दासानायेकेको राजिनामासँगै मुख्य प्रशिक्षकमा मनोज प्रभाकरलाई नियुक्त गरेको थियो । ५९ वर्षीय प्रशिक्षक प्रभाकरले भारतका लागि टेष्ट क्रिकेटमा ३९ खेल खेलेका छन् । यस्तै, १३० एकदिवसीय खेल खेलेका छन् । रणजी ट्रफी विजेता प्रभाकरसँग दिल्ली, राजस्थान र युपि क्रिकेट एसोसियसनसँग काम गरेको अनुभव छ । नेपाल आएयता केन्या भ्रमण प्रभाकरको लागि पहिलो प्रतियोगिता हो । प्रभाकरले युवा ब्याटर तथा विकेट किपर अर्जुन साउदलाई पहिलो पटक राष्ट्रिय टोलीमा मौका दिएका छन् ।
नेपाली टिमका सदस्य
नेपाली टिमको नेतृत्व सन्दीप लामिछानेले गरेका छन् भने उपकप्तान रोहित पौडेल छन् । यस्तै, सदस्यहरूमा आरिफ शेख, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदिल आलम, करण केसी, सोमपाल कामी, बसिर अहमद, अर्जुन साउद, पवन सर्राफ, शाहब आलम, किशोर महतो, विवेक यादव ।