मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ मङ्सिर २१ बुधबार
  • Wednesday, 07 December, 2022
पवन बराइली काठमाडौँ
२०७९ भदौ ८ बुधबार २०:०४:००
Read Time : > 3 मिनेट
सप्तरंग डिजिटल संस्करण

'मेरा भोगाइ र अनुभव नै सिनेमामा आउँछन्'

Read Time : > 3 मिनेट
पवन बराइली, काठमाडौँ
२०७९ भदौ ८ बुधबार २०:०४:००

नेपाली सिनेमा जगतमा रूचाइएका निर्देशक हुन्, सुवर्ण थापा। उनको पहिलो फिचर सिनेमा ‘सुनगाभा’ले नेपाली सचेत दर्शकमाझ निकै रुचाइयो। साथै, विदेशी बजारमा पनि सुनगाभाले प्रशंसा बटुलेको थियो। उनको लघु चलचित्र ‘मलामी’ र ‘छोरा’ ले स्वदेश तथा विदेशका फिल्म फेस्टिभलहरूमा प्रशंसा कमाएका थिए। अब १० भदौदेखि थापाको ‘द सेक्रेट अफ  राधा’ प्रदर्शनमा आउँदै छ। यस सिनेमाको ट्रेलर र शीर्ष गीतले यसअघि नै राम्रो प्रतिक्रिया पाइसकेको छ। सिनेमा कस्तो छ त ? साथै, उनको सिनेमा क्षेत्रको अनुभवमा आधारित रहेर निर्देशक थापासँग गरिएको कुराकानीको सम्पादित अंश : 

‘द सेक्रेट अफ  राधा’ कस्तो सिनेमा हो ? 

नेपाली महिलाको कथा हो, ‘राधा’। हाम्रा आमा, दिदी–बहिनीहरू जुन तरिकाले बाँचिरहेका छन्, त्यो अवस्थालाई सिनेमामार्फत देखाउने प्र्रयास गरेका छौँ। नेपाली समाजको परिवेशलाई राधा पात्रले प्रतिनिधित्व गरेकी छिन्। राधासँग  सम्बन्ध, विश्वास र भाग्य जोडिएको हुन्छ। जीवनमा झेल्नुपरेका समस्या, भोगाइ र परिबन्धहरू चित्रण गरिएको छ। राधामार्फत हाम्रो पितृसत्तामत्मक समाजले महिलालाई दिएको बोझ देखाउन खोजेका छौँ। 

सिनेमाको कन्सेप्ट कसरी जन्मियो ? 

मसँग एउटा कथा थियो। जुन मेरो बाल्यकालको भोगाइ थियो। त्यो कथाले २०१४ मा आएर पूर्ण रूप पायो। त्यसपछि २०१७ मा ‘बुसान इन्टरनेसनल फिल्म फेस्टिभल’को ‘स्क्रिप्ट डेभलभमेन्ट फन्डको लागि अप्लाई गरेको थिएँ। त्यसमा छनोट भएर दश लाख नेपाली ग्रान्ट पाएँ। त्यसपछि मलाई सिनेमा बनाउन आँट आयो। साथीभाइहरूसँग सल्लाह गरेँ। यस्तो राम्रो विषयवस्तुमा सिनेमा किन नबनाउने ? उहाँहरूको प्रतिप्रश्न थियो। सबैको सकरात्मक फिडब्याक आयो। वास्तवमा मैले मनदेखि नै बनाउन चाहेको सिनेमा हो, राधा। मैले अनुभव गरेको घटनालाई सिनेमाको कथामा बुनेको छु। 

‘राधा’लाई किन ब्ल्याक एन्ड ह्वाइटमा निर्माण गर्नुभएको ? 

अहिले विश्वमा ‘ब्ल्याक एनड ह्वाइट’ (श्यामश्वेत) सिनेमा दुर्लभ बनिसकेको छ। ‘ब्ल्याक एन्ड ह्वाइट’ मा सिनेमा निर्माण गर्नु चुनौतीपूर्ण भए पनि दर्शकलाई फरक स्वाद दिन मैले जोखिम मोलेको हो। सुरु–सुरुका नेपाली फिल्महरू ‘माइतीघर’, ‘आमा’ ‘परिवर्तन’, ‘हिजो आज भोलि’, ‘मनको बाँध’पछि यो प्रविधि ‘राधा’मा प्रयोग भएको छ। 

यसअघि मैले नै सर्ट फिल्म ‘मलामी’ पनि श्यामश्वेतमा बनाएको थिएँ। जुन फ्रान्स र नेपालको संयुक्त लगानीमा निर्माण भएको थियो। यो फिल्मले अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरुमा अवार्ड जितेको छ। विदेशतिर ब्ल्याक एन्ड ह्वाइट सिनेमाको महत्व बेग्लै छ। यही कारण नयाँ पुस्तालाई नयाँ अनुभव होस् भनेर हामीले ‘राधा’ ‘ब्ल्याक एन्ड ह्वाइट’मा देखाउने जमर्काे गरेका हौँ। 

तपाईंका सिनेमामा महिलाको कथा र चरित्र आउँछन् नि, किन ? 

म आमा–दिदीहरूसँग हुर्किएँ। उहाँहरूको भोगाइ नजिकबाट देखेको छु, बुझेको छु। सानैदेखि उहाँहरूसँगै हुर्किएपछि कथा–व्यथा थाहा हुने नै भयो। म मात्रै होइन, सबै पुरुषहरू सानैदेखि आमा–दिदीबहिनीसँग हुर्किएका हुन्छन्। सबैका आ–आफ्नै भोगाइ हुन्छन्। फिल्ममेकरले आफ्नो भोगाइ नै सिनेमामार्फत भन्ने हो। मैले भोगेको र अनुभव गरेको चरित्रलाई नै सिनेमामा देखाउन खोजेको हुँ। मैले कल्पना गरेर सिनेमा बनाउन सक्दिनँ। मैले अनुभव गरेको कथा हुनुपर्छ। त्यसैले मेरा सिनेमामा महिला चरित्र नै बढी आएको हो।  

यो प्रयोगलाई नेपाली दर्शकले कसरी ग्रहण गर्लान् ? 

सिनेमामा कलरभन्दा पनि ‘कन्टेन्ट’ महत्वपूर्ण हुन्छ। ब्ल्याक एन्ड ह्वाइटले कन्टेन्टलाई झन् प्रस्ट देखाउँछ। हुन त ब्ल्याक एन्ड ह्वाइट पनि एउटा कलर नै हो। ‘राधा’लाई रंगीन र ब्ल्याक एन्ड ह्वाइट दुवैमा रिलिज गर्दै छौँ। नेपाली दर्शकलाई  रंगीन र ब्ल्याक एन्ड ह्वाइट दुवैमा हेर्ने सुविधा छ। तर, अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा भने ‘राधा’लाई ब्ल्याक एन्ड ह्वाइटमै पठाउँछौँ। 

तपाईंले यो सिनेमा आत्मसन्तुष्टिका लागि बनाउनुभयो वा व्यावसायिक सोचले लागि ? 

सिनेमाको आयु व्यावसायिकतासँग जोडिएको हुन्छ। मेरा ‘सुनगाभा’ ‘फन्को’ र ‘बाटोमुनिको फूल–२’ व्यावसायिक रूपमा सफल हुन सकेनन्। तर, सिनेमाले उठाएका विषयवस्तु च्यालेन्जिङ थिए। ‘राधा’ मलाई मन लागेको कथा हो। मैले इमानदारपूर्वक कथालाई सिनेमामार्फत देखाउन खोजेको छु। मेरो अनुभव र विवेकलाई प्रयोग गरेर इमानदार भएर कथा बुनेको छु। मैले सिनेमाको पात्रलाई माटोसँग जोडेको छु। अहिले परिवेशअनुसार सिनेमा बनाएका छौँ। हुन त अहिले आ–आफ्नै रुचि हुन्छ। नेपाली सिनेमालाई हेर्ने दृष्टिकोणमा पनि यसले परिवर्तन ल्याउनेछ भन्ने हाम्रो विश्वास छ। 

अधिका‌ंश निर्देशकको वर्षमा एउटा दुईवटा सिनेमा प्रदर्शनमा आउँछ तर तपाईंको नयाँ सिनेमा आउन यति ढिलो किन ?

सन् २०११ मा ‘सुनगाभा’ बनाएँ। यो सिनेमा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा अवार्ड तथा प्रशंसा बटुल्यो। नेपालमा पनि चर्चा पायो तर व्यावसायिक रूपमा सफल भएन। यसअघि सर्ट फिल्म ‘मालामी’ बनाएको थिएँ। नवीन सुब्बा दाइको ‘गुडबाई काठमाडौं’ मा कलाकार रूपमा काम गरिसकेको थिएँ। त्यसपछि २०१४ मा फिचर फिल्म ‘फन्को’ बनाएँ र २०१५ ‘बाटोमुनिको फूल–२ निर्देशन गरेँ। यी दुईवटा फिल्म व्यावसायिक रूपमा सफल भएनन्। पहिलो सिनेमा निर्माण गर्न सजिलो हुँदो रहेछ, तर दोस्रो सिनेमा निर्माण गर्न निकै गाह्रो हुने रहेछ। तर, योबीच सिनेमा ‘स्क्रिप्ट’को काम गरिरहेकै थिएँ। बाहिर देखिने काम मात्रै नभएको हो। म १७ वर्ष फ्रान्समा बसेँ। त्यहाँ बसेर पनि नेपाली सिनेमा निर्माण निर्देशनको काम निरन्तर गर्दै आइरहेको छु। अहिले पूर्ण रूपमा नेपालमै काम गर्ने भनेर फर्किएको छु।  

नेपालमा भन्दा फ्रान्समा बसेर धेरै गर्न सकिन्थ्यो होला नि ?  

फ्रान्सको फन्ड पाएर लघु–चलचित्र मलामी बनाएको थिएँ। त्यसवेला प्राविधिक टिम उतैबाट ल्याएर काम गरेको हो। ‘सुनगाभा’ फ्रान्स र नेपालको सहकार्यमा बनेको हो। अर्काे लघु चलचित्र  ‘छोरा’ फ्रान्समै छायांकन गरेको हुँ। यसबीचमा नेपाल आउने–जाने गरिरहेकै थिएँ। मैले फ्रान्समा बसेर सिनेमा मेकिङको अनुभव बटुलिसकेको छु। अब त्यहाँ आर्जन गरेको सिप र ज्ञानलाई साथीहरूसँग मिलेर प्रयोग गर्छु भन्ने लाग्यो। ‘क्रियटिभ’ कामको लागि नेपाल सजिलो र खुला ‘प्लेटफर्म’ हो। मैले फ्रान्समा सिकेको ज्ञान र सिपलाई यहीँ बसेर प्रयोग गर्छु। विदेशी बजार सिनेमा लैजाने बाटो बनाएको छु। अब नेपाली सिनेमालाई अन्तर्राष्ट्रियकरण गर्नका लागि पनि मेरो भूमिका रहनेछ। 

अन्तर्राष्ट्रिय बजारमा पहिचान बनाएको निर्माता–निर्देशकलाई सिनेमाको लगानी जुटाउन गाह्रो किन हुन्छ ?

हाम्रोमा सिनेमालाई ‘आर्ट’ ठानेर लगानी गरिएको छैन। व्यापारिक हिसाबले सिनेमामा लगानी गरिन्छ। सिनेमाको ‘प्यासन’ भएका निर्माता एकदमै कम छन्। नेपालमा लगानीकर्ता नभएरै विदेशी ग्रान्ड खोज्नुपरेको हो। अलग धारका सिनेमाका लागि लगानी पाउन मुस्किल छ। हाम्रो लगानीकर्ताको विचारमा समस्या छ। सिनेमामा आफ्नो विचार लाद्न खोज्छन्, सिनेमामा आफ्नो विचार हस्तक्षेप गर्छन्, यही कारण समस्या हुन्छ जस्तो लाग्छ। 

मैले त्यो ‘च्यालेन्जिङ इस्यू’लाई उठाउने प्रयास ‘सुनगाभा’मार्फत गरेको थिएँ। आजभन्दा २० वर्षअघि त्यो विषयमा सिनेमा बन्नु आफैँमा चुनौती थियो। मैले विदेशी लगानी नपाएको भए ‘सुनगाभा’ बन्दैनथ्यो।’ अहिले ‘राधा’ निर्माण गरेको छु। केही कुरा सिकियो। मेरो गन्तव्य पनि थाहा थियो। त्योबीचमा सोच्ने मौका पनि पाएँ। त्यसको परिणामस्वरूप राधा लिएर आएको हुँ। 

विदेशी प्लेटफर्ममा प्रशंसा बटुलेको सिनेमाले घरेलु दर्शकको साथ नपाउनुको कारण के होला ?

‘सुनगाभा’ले विदेशमा निकै राम्रो चर्चा पायो। तर, नेपाली दर्शकको साथ पाएन। ‘नुमाफुङ’, ‘मुकुन्डो’, ‘सुनगाभा’जस्ता सिनेमाहरू बजारले खोजेका सिनेमा होइनन्। यी सिनेमाहरू दर्शकको ‘टेस्ट’भन्दा बाहिरका थिए। तर, यी कालान्तरसम्म हेरिने सिनेमा हुन्। भारतका सत्यजित रेको सिनेमा आज पनि हेरिन्छ। व्यापारिक सिनेमा आज हेरिन्छ भोलि बिर्सिन्छ। हाम्रो दर्शकमा सिनेमा हेर्ने ‘प्यासन’ पनि छैन।