मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
शिवहरि घिमिरे काठमाडौैं
२०७९ भदौ ५ आइतबार ०९:३९:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

उपत्यकाको फोहोर व्यवस्थापनको जिम्मेवारी  ककनी र धुनीबेँसीलाई दिने तयारी 

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडौैं
२०७९ भदौ ५ आइतबार ०९:३९:००

सम्बन्धित पालिकाका प्रमुख, उपप्रमुखसँग प्रस्ताव लैजाँदै काठमाडौं महानगर प्रमुख बालेन्द्र साह

आफूले फोहोर लैजाँदा बाधा र अवरोध भएको भन्दै काठमाडौं महानगरपालिकाले नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकालाई उपत्यकाको फोहोर व्यवस्थापनको जिम्मेवारी दिने नयाँ योजना अघि सारेको छ । अन्य जिल्लाका स्थानीय तहमा महानगरले फोेहोर लैजाँदा उनीहरूबाट पटक–पटक अवरोध उत्पन्न हुने गरेकाले त्यहीँका स्थानीय तहलाई जिम्मेवारी दिने प्रस्ताव अघि सारिएको हो । 

यद्यपि, यो प्रस्ताव महानगरले ‘ड्राफ्ट’ मात्रै गरेको छ । ककनी र धुनीबेँसी पालिकासँग यसबारेमा कुनै छलफल भने गरेको छैन । काठमाडौं महानगरका अनुसार दुई स्थानीय तहले आ–आफ्नो ‘साइट’ हेर्ने गरी फोहोर व्यवस्थापनको जिम्मा दिन लागिएको छ । बन्चरेडाँडास्थित नयाँ ल्यान्डफिल्ड साइट धुनीबेँेसी नगरपालिकालाई हस्तारन्तरण गर्ने योजना महानगरको छ । फोहोर ढुवानी, व्यवस्थापन, प्रभावितका समस्या समाधान, सडक–बिजुली तथा अन्य समस्याको हल पनि धुनीबेँसी र ककनीले गर्नेछन् । त्यस्तै, ककनी क्षेत्रमा पर्ने प्रभावितहरूलाई ककनी गाउँपालिकाले नै व्यवस्थापन गर्नेछ । 

नयाँ योजनाअनुसार महानगरले काठमाडौंको फोहोर उठाएर ककनीसम्म मात्रै पुर्‍याउनेछ । त्यहाँबाट उता फोहोर व्यवस्थापन गर्ने, स्थानीयका समस्या समाधान गर्ने, उनीहरूको चित्त बुझाउनेलगायत जिम्मेवारी दुई पालिकाकै हुनेछ । तर, यसबापत लाग्ने सबै खर्च महानगरले नै व्यहोर्नेछ । ‘काठमाडौंको फोहोर त्यहाँ लैजाँदा दुई स्थानीय तहले नै अवरोध गर्ने सम्भावना देखिन्छ र हामीले त्यहाँका स्थानीयको मन बुझ्न पनि गाह्रो छ,’ महानगरका प्रवक्ता नवीन मानन्धरले भने, ‘त्यसकारण उनीहरूलाई व्यवस्थापन गर्न चाहिने रकम र अन्य सहजीकरण गरिदिने गरी महानगरले फोहोर व्यवस्थापनको जिम्मा दिने योजना अघि सारेका हौँ ।’

फोहोर व्यवस्थापनबाट हुने आम्दानी पनि दुई स्थानीय तहले नै लिने उनको भनाइ छ । डम्पिङ क्षेत्रमा काम गर्ने कर्मचारी पनि उनीहरूले नै राख्न सक्नेछन् । काठमाडौं महानगरले उपत्यकाको फोहोर उठाउने र ककनीसम्म मात्रै पुर्‍याउनेछ । तर, त्यहाँबाट ककनी साइट ककनी गाउँपालिकाले नै हेर्नेछ । त्यस्तै, धुनीबेँसी क्षेत्र प्रवेश गरेपछि धुनीवेशीकै जिम्मा हुनेछ । तर, ढुवानीदेखि फोहोर व्यवस्थापनमा लगानी महानगरले गर्नेछ । यसबारे महानगरका मेयर बालेन्द्र शाहले सम्बन्धित पालिकाका प्रमुख उपप्रमुखसँग प्रस्ताव लैजाने तयारी गरेका छन् । मेयर र प्रवक्ताबीच यसबारेमा छलफल भने भइसकेको छ भने ड्राफ्ट पनि तयार पारिएको छ । ‘यदि सम्बन्धित गाउँपालिकाहरू सहमत भए भने यो तरिका उपयुक्त हुने मेयरज्यूले बताउनुभएको छ । यस विषयमा उहाँसँग मेरो छलफल पनि भएको छ । यो प्रभावकारी होलाझैँ लाग्छ,’ मानन्धरले भने ।

हाल स्थानीयले विभिन्न माग राख्दै फोहोरका गाडी अवरोध गर्दै आएका छन् । उनीहरूले गएको २६ जेठमा महानगरसँग १८ बुँदे सहमति पनि गरेका छन् । तर, महानगरले उनीहरूका माग पूरा गर्न भने समय लाग्ने जनाएको छ । स्थानीयले सडक व्यवस्थित पार्नुपर्ने, लिचेड सडकमा चुहिन दिन नहुने, सडकबत्ती जडान गर्नुपर्ने, फोहोर क्यापिङ गर्ने, सडक तथा फोहोर फालिने ठाउँमा कीटाणु मार्ने र दुर्गन्ध हटाउने औषधि छर्कनुपर्ने माग राख्दै आएका छन् । 

काठमाडौं महानगरको प्रस्तावमा सकारात्मक छन् ककनी र धुनीबेँसी
ककनी र धुनीबेँसी गाउँपालिका काठमाडौं महानगरको प्रस्तावप्रति सकारात्मक देखिएका छन् । ‘यो विषय राम्रो हो, यदि महानगरबाट यस्तो प्रस्ताव आउँछ भने हामी मान्न तयार छौँ,’ ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले भने, ‘तर स्थानीयलाई जसरी हामीसँग सम्झौता गरेर ढाँट्न पाइँदैन ।’ ककनी गाउँपालिकाका करिब १५ सय र धुनीबेँसी नगरपालिकाका करिब चार सय घरधुरी फोहोरबाट प्रभावित छन् । उनीहरूका माग महानगरले पूरा नगर्दा समस्या बल्झिरहेको छ । नजिकका स्थानीयलाई नै त्यस क्षेत्रको कामको जिम्मेवारी दिने हो भने समाधान हुने ककनी गाउँपालिकाका अध्यक्ष तामाङले बताए । 

शनिबार एक सय ५९ गाडी फोहोर उठ्यो 
शनिबार उपत्यकाबाट १५९ गाडी फोहोर उठेको छ । फोहोर काठमाडौं महानगर र निजी सवारीसाधनको सहायतामा बन्चरेडाँडा पुर्‍याइएको हो । महानगरका अनुसार शनिबार महानगरले १८ ट्रिप मात्रै फोहोर लगेको थियो भने अन्य निजी गाडीले ढुवानी गरेका थिए । महानगरका वातावरण विभागमा काम गर्ने अधिकांश कर्मचारी बिदामा बसेकाले कम फोहोर उठेको महानगरका प्रवक्ता मानन्धरले जानकारी दिए । 

केही दिनअघि फोहोरका गाडी तोडफोड गर्ने ११ जनाविरुद्ध काठमाडौं महानगरपालिका र गाडीधनीले नुवाकोट जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेका छन् । स्थानीयले उजुरी फिर्ता लिन माग राख्दै आएका छन् । तर, महानगरले मुद्दा फिर्ता लिने र तोडफोडमा संलग्नलाई कारबाही नगर्ने सहमति सिसडोल र बन्चरेडाँडाका स्थानीयसँग गरेको छ । फिर्ता भने लिइसकेको छैन ।